शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

शुक्रबार, १० मङ्सिर २०७८, ०७ : १९
शुक्रबार, १० मङ्सिर २०७८

चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । 

एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् । 

एन्फा टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) समेत रहेका अस्ट्रेलियन नागरिक ग्यारी हाल एन्फाको प्राविधिक क्षेत्रको कार्यमा व्यस्त छन् । मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि एन्फाले ग्यारीलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो । ग्यारीले साउनमा दशरथ रंगशालामा बंगलोदशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा नेपाली टोली हेरेका थिए । 

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त रहेका कारण चेतनलाई महिला टोली हेर्न दिने सम्भावना रहेको बताए । ‘डिसेम्बरसम्म मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त छन् । यस अघि टोली हेरेका चेतनलाई जिम्मेवारी दिने सम्भावना छ,’ तुलाधर भन्छन् । 

एन्फा स्रोतका अनुसार चेतनले विगत तीन दिनदेखि टोलीको नियमित प्रशिक्षण हेरिरहेका छन् । २६ खेलाडी समेटेर चेतनले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिकी प्रशिक्षण गराइरहेको छन् । 

४ देशको सहभागिता रहने प्रतियोगिता २३ मंसिरबाट पुस ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल सहित आयोजक भारत र थाइल्याण्डको टुंगो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप