शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नेतृत्वमा लिङदेन र निधिको दाबी, यादवलाई कारबाही

बिहीबार, ०९ मङ्सिर २०७८, २१ : ४४
बिहीबार, ०९ मङ्सिर २०७८

आज २०७८ मंसिर ९ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

राप्रपाका नेता राजेन्द्र लिङदेनले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । अब पनि नेतृत्व परिवर्तन भएन भने हामी प्रजा परिषद्को बाटोमा जाने उनले जिकिर गरेका छन् । पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै लिङदेनले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको पनि स्पष्ट परे । कार्यक्रममा उनले राखेको धारणा जस्ताको त्यस्तै :

२. यादवलाई कारवाही

जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ । बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय भएको जसपाका प्रचार विभाग प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले बताए । अर्को निर्णय नआउन्जेलसम्मका लागि सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको उनले बताए ।

 

३. उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृङ्खला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ निधिले भने ।

४. राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३० जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जसमा सभापति शेरबहादुर देउवा पक्षीय १७ र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट १३ जिल्ला सभापति निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा पौडेल समूहले जितेका ८ जिल्लामा देउवा पक्षीय नेता सभापतिमा निर्वाचित भएका छन् । यस्तै १३ औं महाधिवेशनमा पौडेल समूहले १७ वटा जिल्ला सभापति जितेको थियो ।

५. नेप्सेमा गिरावट

बिहीबार सेयर बजारमा परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । गत मंगलबार १.८९ अंकले बृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक बिहीबार पुनः ३.२२ अंकले घट्दै २७ सय ३१.७८ बिन्दुमा झरेको हो ।  तीन अंकले घटेको बजारमा तीन अर्ब ७८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

६. 'न्याय मार्च'

न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।

७. प्रधानमन्त्री देउवा सशस्त्र प्रहरीको दीक्षान्त समारोहमा

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भएको छ । सो समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरूद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष इज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो ।

८. नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन

नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले दिएको जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले बुधवार अनुमोदन गरेको हो । 

९. १५ मंसिरबाट गोलाप्रथाबाट पेसी​

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो ।

१०. १ लाख ७७ हजार ८८४ जनाले लगाए खोप

देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप