शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्यानलसहित २१ गते उम्मेदवारी दर्ता गराउँछु : विमलेन्द्र निधि

‘शेरबहादुर र रामचन्द्रलाई सर्वोच्च नेता बनाउँछु, सेटल गर्न समस्या छैन’
बिहीबार, ०९ मङ्सिर २०७८, १८ : ३०
बिहीबार, ०९ मङ्सिर २०७८

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औपचारिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । साथै उनले आफ्नो पक्षको प्यानलै बनाएर उम्मदेवारी दर्ता गर्नेसमेत घोषणा गरेका छन् । निधिले आफ्नो प्यानलमा रहने नेताहरूको नाम भने सार्वजनिक गरेका छैनन् ।

विहीबार नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयमा घोषणापत्रसहित सञ्चारकर्मीसँग प्रस्तुत भएका निधिले मंसिर २१ गते सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए । उनले भने, ‘म सभापतिको उम्मेदवार छु, रहन्छु । आज चुनावी घोषणापत्र पनि जारी गरेको छु । मंसिर २१ गते केन्द्रीय सभापतिमा मैले उम्मेदवारी दर्ता गराउँछु ।’

निधिले आफू प्यानलसहित सभापतिको मैदानमा उत्रिने पनि बताए । तर, उनले वर्तमान सभापति शेरबहादुर देउवाको समर्थन चाहेको बताउन भने छोडेनन् । ‘सबैभन्दा पहिलो त शेरबहादुरजीकै चाहन्छु । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमानजी, शशांकजी, शेखरजी सबैको समर्थन चाहन्छु,’ उनले भने ।

देउवाको समर्थन चाहेका निधिले देउवालाई समर्थन गर्नेबारे भने छलफलपछि मात्र जानकारी दिने बताए । आफूले सभापतिमा उम्मेदवारी दिएपछि पार्टीभित्रबाट प्रदेश २ माथि सबैभन्दा बढी आक्रमण भएको बताए । ‘जुनबेलादेखि म सभापति लड्छु भनेर भनेँ,’ निधि भन्छन्, ‘त्यो बेलादेखि नेपाली काँग्रेसभित्र सबैभन्दा बढी आक्रमण प्रदेश २ माथि भएको छ । मलाई नै कमजोर पार्नका लागि भएको हो ।’

काँग्रेस नेता निधिसँग पत्रकारको प्रश्नोत्तर–

पूर्वउपसभापति एवं महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग समीकरणको प्रयासमा हुनुहुन्थ्यो । त्यो कहाँ पुग्यो ?

समीकरणबारे दुई–तीनवटा कुरा भन्न चाहन्छु । प्रकाशमानजी, शशांकजी शेखरजीसँग निरन्तर संवादमा छु । विस्तृत र गम्भीर संवादमा छु । हाम्रो संवाद अत्यन्त सकारात्मक रहेको छ । १३ औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गर्नुभएका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा चुनावै नलडी दिए हुने थियो भन्ने हामीहरू साझा धारणा छ । त्यसमा हामी चारैजना सहमत छौं । त्यसमा धेरै कुरा अन्तरनिहीत छ । जो भावी दिनहरूको खुल्दै जानेछ । अहिले भनिरहनु परेन ।

दोस्रो कुरा, हामी छलफल गर्दैछौं । त्यसमा पनि तीनजना शशांक, प्रकाशमान र मबीच ६/ ७ पटक छलफल भएको छ । शेखरजीसँग २ पटक छलफल भएको छ । त्यसपछि फोनमा छलफल भइरहेको छ । तपाईंहरूले तीनजना बीच पदमा सहमति भयो भने समीकरण मिल्यो, पदमा समझदारी भएन भने समीकरण मिलेन भन्ने अर्थमा नलिदिनुहोला ।

शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजीबीच त पदको समझदारी कहिल्यै भएको छैन । उहाँहरू त एक–अर्कालाई हराउन लड्नु भएकै हो नि । तर, नेपाली काँग्रेसको नीति, कार्यदिशाबारे आइपरिहाल्यो भने उहाँहरू छलफल गरेर केन्द्रीय समितिमा राख्नुहुन्छ । त्यो केन्द्रीय समितिबाट पारित हुन्छ । उहाँहरूबीच पदमा त समझदारी भएको छैन ।

पदमा समझदारी नहुँदा पनि पार्टी र देशको नीति र कार्यक्रमको एजेण्डामा सहकार्य हुन सक्छ । राजनीतिमा त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । हाम्रोबीचमा त्यस्तै एउटा समझदारी भएको छ । भविश्यमा पदीय समझदारीका लागि पनि हामी छलफल गरिरहेका छौं ।

यदि उहाँहरूसँग तपाईंको समीकरण भएन भने तपाईंको उम्मेवारी  के हुन्छ ? तपाईं एकलै जानुहुन्छ वा सभापतिको उम्मेदवारीबाट ब्याक हुने अवस्था आउँछ ?

यसमा म धेरै लामो भन्न चाहन्नँ । म सभापतिको उम्मेदवार छु । आज चुनावी घोषणापत्र पनि जारी गरेको छु । अब आउने २१ गते केन्द्रीय सभापतिका लागि मनोनयन दर्ता हुन्छ । त्यो मनोनयनको दिन मलाई सभापतिको पदमा उम्मेदवार देख्नुहुन्छ । मैले सभापतिमा उम्मेदवारी दर्ता गराउँछु ।

वर्तमान सभापति शेरबहादुर देउवासँग तपाईंको राजनीतिक जीवनको लामो सहकार्य भयो । तपाईं सभापति बन्दै गर्दा देउवालाई कहाँ सेटल गर्नुहुन्छ ?

म सभापति हुँदा शेरबहादुर देउवा सर्वोच्च नेता भइहाल्नुभयो नि । शेरबहादुरजी र रामचन्द्रजीलाई नेपाली काँग्रेसको सबैभन्दा सर्वोच्च पदमा सर्वोच्च नेताका रुपमा गणेशमानजी, किसुनजीलाई जस्तै राख्छौँ । हामी तीनजना (शशांक, प्रकाशमान र विमलेन्द्र) बीच उहाँहरूलाई राज्यको फरक भूमिका हुन सक्छ । त्यो अहिले नै भनिरहनुपरेन ।

पार्टी र राज्यको भूमिका छ । पार्टीमा उहाँले हामीलाई मार्गनिर्देश गर्नुहोला । उहाँहरूले भनेअनुसार नै पार्टी सञ्चालन गर्छौं । उहाँहरूको मार्गदर्शन अनुसार सञ्चालन गर्छौं । उहाँहरूको उचित सम्मान र भूमिका हामीले तय गर्छौं । राज्यको भूमिका पनि उहाँहरूका लागि तय गर्छौं । उहाँहरूलाई सेटल गर्ने कुरामा समस्या हुँदैन ।

यस विषयमा सभापति शेरबहादुर देउवासँग तपाईंको कुराकानी भएको छ कि छैन ?

 योबीचमा उहाँसँग खासै छलफल भएको छैन । १४ औं महाधिवेशनमा सभापति उठ्छु भनेर मैले उहाँलाई धेरैपटक भनिसकेँ । केही दिन अगाडि मात्र उहाँलाई ७ पटक प्रधानमन्त्री भन्न ज्योतिषीले भने पनि सभापति हुन भनेको छैन भनेको थिएँ । त्यसपछि कुराकानी भएको छैन ।

शेरबहादुर देउवा र तपाईंबीच एकखालको राजनीतिक सहकार्य थियो, अब यो उम्मेदवारीसँगै त्यो सहकार्य सकिएको हो ?

मेरो उम्मेदवारी कायम रहन्छ । सहकार्य जारी रहन्छ । राजनीतिक सहकार्य सबैसँग हुन्छ । प्रचण्ड र माधव नेपालसँग, केपी ओलीसँग सहकार्य हुन्छ भने आफ्नै पार्टीको नेतासँग किन सहकार्य नहुनु ? सँगै जेल गएको, सँगै जेल बसेको नेतासँग सहकार्य त हुन्छ नै । तपाईंले सहकार्यको परिभाषालाई न्यूनीकरण नगरिदिनुहोला ।

१४ औं महाधिवेशनमा तपाईंलाई शेरबहादुर देउवाले  समर्थन गर्ने वा तपाईंले शेरबहादुर देउवालाई सहयोग गर्ने सम्भावना छ कि छैन ? एउटै मञ्चबाट उभिएर एक–अर्काका लागि मत माग्ने परिस्थिति बन्छ कि बन्दैन ?

मैले भनिहालेँ । म सभापतिको उम्मेदवार छु, रहन्छु । म शेरबहादुरजीको समर्थन चाहन्छु । रामचन्द्रजीको पनि समर्थन चाहन्छु । सबैभन्दा पहिलो त शेरबहादुरजीकै चाहन्छु । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमानजी, शशांकजी, शेखरजी सबैको समर्थन चाहन्छु ।

शेरबहादुर देउवाबाट समर्थन मात्र चाहनुहुन्छ कि उहाँलाई समर्थन दिन पनि तयार हुनुहुन्छ ?

त्यो विषयमा उहाँसँगै छलफल गरेपछि जानकारी गरौंला । उहाँसँग छलफल गरौं, अनि मात्र जानकारी गराउँछु है त ।

तपाईंले सभापतिको उम्मेदवारी घोषणा गर्नुभयो । तपाईंको प्यानल हुन्छ कि हुँदैन ? प्रदेशमा पनि तपाईंको प्यानल हुन्छ कि हुँदैन ?

कुनै प्रदेशमा प्यानल हुन्छ, कुनै ठाउँमा एक्लै–एक्लै पनि लड्न सकिन्छ । यो हामी सबै सभापतिका उम्मेदवारको कठिनाइ हो । यो मेरोमात्र कठिनाइ होइन । हाम्रो अधिवेशन यति ढिलो भयो, किन अहिले आएर समयको अभाव भयो । कतिपय जिल्लामा मंसिर १२/१३ गते क्षेत्रीय अधिवेशन हुने अवस्था छ । अब तिथि–मिति परिवर्तन हुँदै गएको छ । परिवर्तन गर्ने अधिकार निर्वाचन समितिलाई दिइएको छ । तर, ७ वटा प्रदेशका लागि मंसिर १६ र १७ गते हुने भनिएको छ । त्यो परिवर्तन हुँदै हुँदैन । किनभने २१ गते महाधिवेशनका लागि नोमिनेसन छ । मंसिर १६ र १७ गते भाग लिने मतदातको टुंगो १२/१३ गते मात्र लाग्नेछ । त्यसपछि मंसिर १६ र १७ गते अधिवेशन छ ।

योबीचमा प्रदेशमा एउटै प्यानल बनाउने वा अलग–अलग बनाउने कुरा त्यति सम्भव पनि छैन । त्यसले त्यति महत्व पनि राख्दैन । त्यसकारण कहीँ प्यानल पनि हुन सक्छ, कतै हुन्छ पनि होला ।

महाधिवेशनमा सभापतिमा पराजित हुने नेताले गुट चलाउने काँग्रेसमा प्रचलन छ । केही गरी तपाईं सभापतिमा पराजित हुनुभयो भने गुट चलाउनुहुन्छ कि चलाउनुहुँदैन ?

मलाई गुटमा धेरै रहर छैन ।

तपाईंले २१ वर्ष केन्द्रीय नेतृत्वमा र ३२ वर्ष विभिन्न पदमा रहेर पार्टीमा काम गरिसक्नुभएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरण र भ्रातृ तथा नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित गर्ने एजेण्डा ल्याउनुभएको छ । तपाई त पार्टीको उपसभापतिसमेत हुनुहुन्छ  । यी कुरामा तपाईंलाई यसअघि कसले रोकेको थियो ?

केन्द्रीय समितिले निर्णय गरेको हो । केन्द्रीय समितिमा सबै कुरा सहमति गर्ने भएकाले काम हुन सकेन । म त छिटो अधिवेशन गराएर जानुपर्छ, नेविसंघ र तरुण दलको अधिवेशन गर्नुपर्छ, नेविसंघलाई विद्यार्थीको उमेरमा राख्नुपर्छ भनेर सधैं लडेको हुँ । म सभापति नभएका कारणले मैले काम गर्न सकिनँ । सभापति भएपछि सबै काम गर्छु ।

भ्रातृ संस्थाको १६ वर्षसम्म अधिवेशन नहुँदा पनि विधान विपरीत म्याद थप्ने काम हुँदा किन रोक्न सक्नुभएन ? किन बोल्नुभएन ?

समयमा महाधिवेशन नहुनु विधानसम्मत भएन भन्ने कुरा मैले बोलेको छ । तर, म सभापति नभएकाले मैले बोलेको कुरा तपाईहरूले छापिदिनुभएन । सभापतिले जे बोल्यो, त्यो छापिदिनुहुन्छ । उपसभापतिको हैसियतले बोल्दा तपाईहरू छापिदिनुहुन्न । हरेक केन्द्रीय समिति र पदाधिकारी बैठकमा यो विधानसम्मत भएन भनेर भन्ने गरेको छु ।

नेविसंघमा ३२ वर्षे उमेर हद लगाएपछि ३२ वर्षमाथिको मान्छेलाई नेतृत्वमा ल्याउनुहुँदैन भनेर शेरबहादुरजीलाई भनेँ । रामचन्द्रजीलाई भनेँ । उहाँहरूले मान्नुभएन । अरुले पनि मेरो कुरा सुन्नुभएन । जबसम्म पार्टीको फस्ट पर्सन हुँदैन, तबसम्म बोलेको र गरेको कुरा कार्यान्वयन हुँदैन । त्यसकारणले पनि म सभापति हुन चाहन्छु ।

सभापतिसँगै आफ्नो प्यानल बनाउने विषयमा को–को नेताहरूसँग संवाद गर्नुभएको छ ? तपाईंसँग को–को नेतासँग जोडिन चाहनु भएको छ ?

टीम बनाउने कुरामा धेरै राम्रो कुराकानी भएको छ । तर अहिलेसम्म कुनै पनि सभापतिको उम्मेदवारले टीम बनाउन सकेको छैन । सबै महाधिवेशन प्रतिनिधिको चयनपछि मात्र टीम बनाउने कुरा आउँछ ।

मेरो टीममा युवा पुस्ता हुनेछन् । जनजाति, दलित सबै समुदायका नेताहरू मेरो टीममा हुनुहुनेछ । आज मात्र काँग्रेसको एकजना नेताले एमालेमा चुनाव गर्ने तर प्यानल बनाउन नपाउने कुरा सुनाउनुभयो ।

नेपाली काँग्रेसमा पनि प्यानल नबनाइकन चुनाव लड्दा राम्रो हुँदैन र ? भन्नुभयो । एमालेको अहिले निर्वाचन महाधिवेशन मात्र भएको छ, नीति महाधिवेशन छैन । तर, काँग्रेसमा प्यानल नबनाई नहुने अवस्था छ । प्यानल बन्छ । तर, प्यानल बनाउन नपाउने आचार संहिता बने प्यानल नबनाउँला ।

तपाईंको आधार क्षेत्र भनिने प्रदेश २ मा क्रियाशील सदस्यताको जे–जस्तो विवाद देखियो, अधिवेशनमा पनि ढिलाइ भयो । आज पनि केही जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । आफ्नो आधार क्षेत्र भनिएको प्रदेश २ को यो हालत हुँदै गर्दा सभापतिको उम्मेदवारीसँग कसरी जोड्नुहुन्छ ?

जुनबेलादेखि म सभापति लड्छु भनेँ । त्योबेलादेखि नेपाली काँग्रेसभित्र सबैभन्दा बढी आक्रमण प्रदेश २ माथि भएको छ । मलाई नै कमजोर पार्नका लागि भएको हो । ढिलो गर्ने कुरा उपयुक्त होइन ।  निर्वाचन समिति, पार्टी केन्द्रीय समिति र क्रियाशील छानविन समितिबाट ढिलो भएको छ । त्यो राम्रो कुरा होइन । तर, त्यसका बाबजुद पनि अधिवेशन भइरहेको छ । अब महाधिवेशन प्रतिनिधि छानिएर आउनुपर्छ भन्ने मेरो धारणा हो ।

प्रदेश २ मेरो आधार भूमि त छँदैछ, झापादेखि कञ्चनपुरसम्म मेरो प्रभाव छ । सातवटै प्रदेशमा पनि प्रभाव छ । १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । कुनै पनि क्षेत्र यस्तो छैन, जहाँ मलाई मत दिने साथी निर्वाचित हुनुभएको छैन । सबै ठाउँमा जित्नुभएको छ । सभापतिमा लड्ने मेरो आधार त्यही हो ।

डडेल्धुराका विषयमा यहाँले पहिले एकपटक बोल्नुभयो । तर त्यहाँ अहिले जिल्ला अधिवेशनसमेत भइसकेको छ । देउवाको गृहजिल्लामा पुनः अधिवेशन गराउन योबीचमा तपाईंको पहल के भयो ? त्यहाँ फेरि अधिवेशन हुन्छ कि हुँदैन ?

अस्ति मैले शेरबहादुरजीसँग भेट्दा डडेल्धुरामा पुनः निर्वाचन गराइदिनुस् भनेर बोलेको हो । म उपसभापति भएपछि पार्टी सभापतिसँग बोल्नुपर्छ । सडकमा गएर बोल्न भएन । मेरो पदीय जिम्मेवारी पनि छ । मैले बोलेको पनि हो । कर्ण मल्ल ( डडेल्धुराका निवर्तमान जिल्ला सभापति)जीसँग मेरो भेट पनि भएको हो । कर्ण मल्लजीहरू अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन गरिरहनु भएको छ रे ।

डडेल्धुरामा जुन ढंगले अधिवेशन भएको छ । त्यसले पार्टी सभापति र नेपाली काँग्रेसका लागि राम्रो सन्देश दिएको छैन । डडेल्धुरामा पुनः निर्वाचन गराइदिनुपर्थ्यो । त्यसका लागि मैले अनुरोध गरेँ । अहिले पनि डडेल्धुराका बारेमा मेरो धारणा कायमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप