बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कञ्चनपुर सभापतिमा थापाद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

बिहीबार, ०९ मङ्सिर २०७८, १८ : २७
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाली काँग्रेस कञ्चनपुरको  जिल्ला सभापतिमा बहादुरसिंह थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर थापाले पदाधिकारीको प्यानल घोषणा गरेका हुन्। थापाको प्यानलमा  हरिशचन्द्र राना र मीनबहादुर सिंह उपसभापतिको उम्मेदवार भएको छ ।

सचिवमा भीमराज भट्ट र हेमराज ओझा उम्मेदवार बनेका छन् भने सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ।  संविधानसभा सदस्यसमेत रहेका थापाको प्यानललाई काँग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवानसिंह बिष्टको समर्थन छ। साउद र बिष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन्। 

संविधानसभा सदस्य थापा काँग्रेस कञ्चनपुरका पूर्वसभापति पनि हुन्। कञ्चनपुरमा अर्का केन्द्रीय सदस्य रमेश लेखकको समर्थनमा पूर्वजिल्ला सचिव पदम बोगटी सभापतिका उम्मेदवार छन्। उनी १३ औँ महाधिवेशनमा लेखक समूहबाट प्रतिष्पर्धामा उत्रिएका हरिप्रसाद बोहोरासँग सभापतिमा पराजित भएका थिए। 

वर्तमामन जिल्ला सभापति बोहरा कञ्चनपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि लेखकले साउदनिकट बोगटीलाई आफ्नो समूहमा भित्र्याएका हुन्। लेखकले सुरुमा जिल्ला सचिव दिवाकर पाण्डेय र महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एकजनालाई उम्मेदवार बनाउन चाहेका थिए ।

साउद निकट नेतालाई आफ्नो पक्षमा ल्याएर उम्मेदवार नबनाए सभापति जित्न नसकिने विश्लेषणपछि नेता लेखकले  बोगटीलाई अगाडि सारेको बुझिएको छ  । बोगटी नेता लेखक पक्षको सभापतिको उम्मेदवार बन्न गएपछि नेता साउदसँगको चार दशक लामो सम्बन्ध चिसिएको छ। 

साउद नेविसंघ केन्द्रीय अध्यक्ष हुँदा बोगटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा साउदले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए। उम्मेदवारी घोषणा सभामा केन्द्रीय सदस्य साउदले पछिल्लो समय  कञ्चनपुरमा  काँग्रेस कमजोर बन्दै गएपछि थापालाई अघि सारेको बताए। 

‘गुटका आधारमा नभइ वार्ता, संवाद र छलफलबाट पार्टीलाई एकतावद्ध पार्न बहादुरसिंह थापाको खोजी भएको हो,’ उनले भने, ‘कञ्चनपुरमा काँग्रेसको झण्डा फहराउन बहादुर थापाको आवश्यकता देखियो।’

संविधानसभा सदस्य बिष्टले पार्टीलाई सशक्त र सुदृढ बनाउन थापालाई सभापतिमा ‘कम ब्याक’ गराउनु परेको बताए। यस्तै कञ्चनपुरमा काँग्रेसलाई एकतावद्ध र सुदृढ पार्न आफ्नो ‘कम ब्याक’ भएको सभापतिको उम्मेदवार थापाको भनाइ छ। काँग्रेसले शुक्रबार दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन गर्दै छ । कञ्चनपुरमा पनि भोलि नै जिल्ला अधिवेशन हुनेछ ।

केन्द्रमा संस्थापन पक्षका रहेका नेता एनपी साउद र रमेश लेखकबीच गृहजिल्ला कञ्चनपुरमा भने प्रतिस्पर्धा छ । पालिकादेखि जिल्ला अधिवेशनसम्म साउद र लेखक निकट नेताहरु प्यानलै बनाएर एकअर्काविरुद्ध भिडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप