शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा सशस्त्र प्रहरीको दीक्षान्त समारोहमा, तस्बिरहरू हेर्नुहोस्

बिहीबार, ०९ मङ्सिर २०७८, १८ : १७
बिहीबार, ०९ मङ्सिर २०७८

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भएको छ । सो समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरूद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष इज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए । 

दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको वीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनको सिलसिलामा आफ्नो प्राणको आहुति दिएका सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुकासाथै घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । 

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुस्त, दुरुस्त तथा थप प्रभावकारी ढङ्गले परिचालित हुन समयानुकूल आवश्यक ऐन तथा नियम तर्जुमाका साथै आवश्यक साधन श्रोतहरूको व्यवस्थापनमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्व तथा पहलकदमी प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । 

सो समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले तालिम समापन पश्चात् कार्यक्षेत्र प्रवेश गर्न लागेका दीक्षित अधिकृतहरूलाई शब्दोच्चारण मार्फत सपथ ग्रहण गराएका थिए । करिब १५ महिना अवधिको उक्त आधारभूत तालिम ४ जना महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाही र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक सन्दीप भट्ट उत्कृष्ट भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप