मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

‘ओलीसँगै प्रचण्ड र माधव पनि असफल हुनुभयो’

एकचोटि महामन्त्री बन्छु अनि विश्राम लिन्छु : डा. मिनेन्द्र रिजाल
बिहीबार, ०९ मङ्सिर २०७८, १७ : १९
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाली काँग्रेसका चर्चित नेता एवं वर्तमान सरकारका रक्षामन्त्री डा. मिनेन्द्र रिजाल कम्युनिस्टहरुले नेपालको संविधानको रक्षा गर्न नसक्ने बताउँछन् । संविधानको रक्षा र विकासको सन्दर्भमा केपी शर्मा ओली मात्रै नभएर प्रचण्ड र माधवकुमार नेपालसमेत एकसाथ असफल सावित भएको हुनाले अब नेपाली काँग्रेसले मात्रै देशको रक्षा गर्न सक्ने डा. रिजालको विश्लेषण छ ।

‘थरिथरिका कम्युनिस्टले हार्मोनियम, तबला, गितार बजाए पनि उहाँहरुलाई संसद र जनताप्रति उत्तरदायित्वको भाव भारी भएको छ । उहाँहरुले यो संविधानको मर्म र भाव बोकेर जान सक्नुहुन्न । उहाँहरु तीनवटै कम्युनिस्ट मिलेर पनि यो संविधानलाई अगाडि लिएर जान सक्नुहुन्न,’ काँग्रेस नेता रिजालले रातोपाटीसँगको अन्तरवार्तामा भने, ‘यो ओलीको असफलता मात्र होइन । ओली, प्रचण्ड र माधव नेपालको साझेदारीमा उहाँहरु असफल हुनुभएको छ ।’

डा. रिजाल अगाडि थप्छन्, ‘७५ वर्षभन्दा लामो संघर्षबाट बनेको नेपालको संविधान उहाँहरुले बोकेर हिँड्ने दस्तावेज होइन । यसको विरासतको उहाँहरुले संरक्षण र पालनपोषण गर्न सक्नुहुन्न भन्ने कुरा प्रमाणित भएको छ । त्यसैले, यो काम गर्नका लागि काँग्रेस पार्टीमा पुनर्निर्माण हुनुपर्छ ।’

काँग्रेसको पुनर्निर्माणका लागि डा. रिजालले आगामी चौधौं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । एकचोटि महामन्त्री बन्ने र त्यसपछि सक्रिय राजनीतिबाटै विदा लिने घोषणा गरेका डा. रिजालले संसदीय चुनाव पनि एकचोटि मात्रै लडेर विश्राम लिने रातोपाटीलाई बताए ।

कम्युनिस्ष्ट सिद्धान्तका खरो आलोचकसमेत रहेका बौद्धिक नेता डा. रिजालले महामन्त्रीको कुर्सीमा बसेर नेपाली काँग्रेसलाई कतातिर लैजान चाहेका छन् त ? नेपाली काँग्रेसको अहिलेको अवस्था र मुलुकको राजनीतिक स्थितिबारे उनको विश्लेषण के छ ? यसबारे हामीले मन्त्री रिजालसँग जिज्ञासा राखेका छौं । साथै, उनले राजनीतिबाट किन यति छिट्टै अवकाश लिन चाहेका होलान् ? रातोपाटीले डा. रिजालसँग यो पनि चासो राखेको छ ।

तर, डा. रिजालसँग प्रश्नोत्तर सुरु गर्नुअघि उनको व्यक्तिगत चर्चा गरौँ–

नेपाली काँग्रेसका केन्द्रीय नेता डा. रिजालले नेपाली राजनीतिमा वौद्धिक नेताको छवि बनाएका छन् । ओली सरकारका पालामा संसदमा पनि उनको बलियो उपस्थिति र पहिचान बनेको थियो । अर्थशास्त्र र राजनीतिमा गहिरो अध्ययन गरेका नेता रिजालले अमेरिकाबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

न्यूयोर्क युनिभर्सिटीबाट स्टाटिस्टिक एण्ड अपरेसन्स रिसर्चमा मास्टर्स अफ फिलोसोफी गरेका डा. रिजालले न्यूयोर्क युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट मास्टर्स अफ बिजिनेस एड्मिन्स्ट्रेसनमा युनिभर्सिटी टपेका थिए । नेपालको त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्तम अङ्कसहित एमबीए, कानुनमा स्नातक र विज्ञानमा स्नातक गरेका उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका पनि थिए ।

विसं. २०२६ सालमा धरानको जनता हाइस्कुलको विद्यार्थी युनियनको निर्वाचनबाट विद्यार्थी राजनीतिमा सहभागी भएका मोरङका रिजाल २०६६ सालमा माधवकुमार नेपालको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । उनले संघीय एवं संसदीय मामिला मन्त्रालयको समेत अनुभव सँगालेका छन् ।  २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भएका उनी अहिले रक्षामन्त्रीका रुपमा तेस्रो पटक सरकारमा सहभागी छन् ।

डा. रिजाल विमलेन्द्र निधि नेविसंघको सभापति हुँदा केन्द्रीय उपाध्यक्ष थिए । उनी अन्तरिम व्यवस्थापिको सांसद हुँदै पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद थिए । डा. रिजालले संविधानसभा २०७० मा संविधान मस्यौदा समितिको सदस्य भएर काम गरे । गत आम चुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ओली सरकारको निगरानी गर्न काँग्रेसद्वारा गठित छायाँ सरकारमा अर्थमन्त्रीको भूमिकामा रहेका उनी अहिले रक्षा मन्त्रालयको जिम्मेवारीमा छन् ।

देउवा २०५३ मा प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बनेका रिजाल काँग्रेस विभाजित हुँदा देउवाकै साथमा थिए । हाल काँग्रेस केन्द्रीय सदस्य रहेका उनी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् ।

नेपाली काँग्रेसलाई उदारवादी अर्थतन्त्रको भासबाट निकालेर सामाजिक न्यायसहितको लोककल्याणकारी बाटोमा ल्याउने डा. रिजालको लाइन रहेको अन्तरवार्ताका क्रममा संकेत पाइयो । तर, उनले कम्युनिस्टसँगको गठबन्धन र सहकार्यलाई भन्दा पनि काँग्रेस एक्लै हिँड्नुपर्ने संकेत गरे । 

प्रस्तुत छ, रक्षामन्त्री एवं काँग्रेस नेता डा. रिजालसँग रातोपाटीका लागि अरुण बराल र लोकेन्द्र भट्टले गरेको अन्तरंग कुराकानी–

पार्टीको यो निर्वाचन मेरा लागि अन्तिम हो । लडेर जितौंला, नजितौंला । तर, पार्टीमा कुनै अर्को पदका लागि आकांक्षी रहन्नँ । त्यस्तै, संसदको पनि आगामी निर्वाचन मात्र लड्छु । मैले अहिले देशका लागि जे गरेको छु, मलाई के लागेको छ भने राजनीतिबाट बाहिर गए पनि ५/६ वर्ष पछाडि क्रियाशील राजनीतिमा भइनँ भने पनि देशका लागि त्योभन्दा गम्भीर योगदान गर्न सक्ने ठाउँ रहन्छ भन्ने मलाई आत्मविश्वास छ ।​

तपाईं नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने चर्चा सुनिएको छ । अहिलेसम्म कुनै औपचारिक घोषणा गर्नुभएको छैन । महामन्त्रीमा प्रतिस्पर्धा गर्ने पक्कापक्की नै हो कि अझै केही अलमल छ ?

उम्मेदवारी किन घोषणा गर्नुभएन भनेर साथीहरु भन्नुहुन्छ । उम्मेदवारी घोषणाको प्रश्न होइन । म आवद्ध भएर काम गरेको समूहबाट सभापतिको उम्मेदवारको टुंगो लागेको छैन । टुंगो लगाउने काममा पनि मेरो भूमिका हुन्छ । जुन दिन सभापतिको टुंगो लगाउँछौं, त्यो दिन मेरो उम्मेदवारीले औपचारिकता पाउँछ । सभापतिको टुंगो नलाग्दासम्म घोषणा गर्दै जाने ठाउँमा म छु जस्तो लाग्दैन । महामन्त्री पदबाहेक अरु पदका लागि मेरो उम्मेदवारी हुँदैन । न माथि हुन्छ, न त्योभन्दा तल हुन्छ । म जीवनको जुन वयमा छु, अब मेरा लागि पार्टी र संसदीय निर्वाचनमा एउटा प्रतिस्पर्धा बाहेकमा रहने छैन ।

महामन्त्रीबाहेक उपसभापतिसम्म पनि प्रतिस्पर्धा गर्ने तपाईंको चाहना छैन ?

पार्टीको यो निर्वाचन मेरा लागि अन्तिम हो । लडेर जितौंला, नजितौंला । तर, पार्टीमा कुनै अर्को पदका लागि आकांक्षी रहन्नँ । त्यस्तै, संसदको पनि आगामी निर्वाचन मात्र लड्छु । मैले अहिले देशका लागि जे गरेको छु, मलाई के लागेको छ भने राजनीतिबाट बाहिर गए पनि ५/६ वर्ष पछाडि क्रियाशील राजनीतिमा भइनँ भने पनि देशका लागि त्योभन्दा गम्भीर योगदान गर्न सक्ने ठाउँ रहन्छ भन्ने मलाई आत्मविश्वास छ । त्यसैले, पार्टी र संसद दुबैतर्फको एक–एक वटा निर्वाचन मात्र मेरा लागि हो भन्ने लाग्छ मलाई ।

पार्टी नेतृत्वमा रहन उमेर हदको पनि फरक ब्याख्या गरिन थालेको छ । तपाईं भने पार्टी र संसदको एउटा मात्रै चुनाव लड्ने निर्णयमा कसरी पुग्नुभयो ? उमेरले पुग्नुभयो वा अरु कुनै कारण छन् ?

हो, केही कारण छन् । एउटा कुरा, मैले राजनीतिक जीवन छाडेर जाँदा काँग्रेसमा खडेरी पर्ने अवस्था छैन । हामीभन्दा झण्डै २० वर्ष कान्छो जमात ४० वर्षभन्दा केहीमाथि अथवा पुग्दै गरेका साथी थुप्रैले राष्ट्रिय पहिचान बनाइसक्नुभएको छ । क्षमता पनि प्रदर्शन गरिसक्नुभएको छ । केही साथीहरुको त अन्तर्राष्ट्रिय पहिचान पनि बनिसकेको छ । त्यसैले, एकछिन सोचौं, मिनेन्द्र रिजाल हरायो रे, वा छैन रे भन्ने भयो भने मिनेन्द्र रिजाल नहुँदा काँग्रेसमा एउटा खाल्डो नै पर्ला कुनै ठाउँमा भन्ने छैन नि त । त्यो ‘ग्याप’ भर्ने क्षमता काँग्रेसमा विकसित भइसकेको छ ।

त्यसकारण, मैले ढुक्कका साथ अब म राजनीतिमा छैन भन्दाखेरि पार्टी र देशका बारेमा चिन्ता गर्नुपर्ने खण्ड देख्दिनँ । यो सुविधा पाएनौं भन्ने हाम्रा नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई लागेको छ । पहिला गिरिजाबाबु, किसुनजीहरुलाई पनि यस्तो सुविधा छैन भन्ने लाग्थ्यो । गिरिजाबाबुको जीवनको पछिलो समयसम्म म नभए कसरी गर्लान् भन्ने उहाँको मनमा थियो । उहाँको मात्र होइन, सुशील कोइरालालाई पनि म भएन भने अरुको नेतृत्वले काँग्रेस मेरो जसरी चलाउन सक्दैन कि भन्ने चिन्ता थियो ।

म पूर्वको असाध्यै सम्पन्न, अझै भन्नुपर्दा वैभवशाली परिवारमा जन्मेको मान्छे हुँ । मेरा बुबाले कमाएर छोडिदिएको जति सबै राख्न सकिनँ होला, पछि आफूले गरेको कामबाट पनि थपेँ होला । त्यसैले, अबको दिनमा मलाई त्यसकारणले अप्ठ्यारो पर्छ भन्ने पनि छैन । त्यसैले सन्तुष्ट जीवन हुन्छ भन्ने छ । यी सबै कारणले म पूरै ढुक्क छु ।

अहिले शेरबहादुर देउवालाई पनि म भएन कसले पार्टी चलाउन सक्छ भन्ने होला । यस्तै म अब पनि सभापति हुन सकिनँ भने कसले काँग्रेसलाई ठीक बाटोमा पुर्याउला त भन्ने रामचन्द्र पौडेलमा चिन्ता देख्छु । मैले त्यो चिन्ता लिएको छैन । त्यसैले मलाई यो सुविधा प्राप्त छ भन्ने लाग्छ ।

दोस्रो कुरा, आत्मविश्वासको पक्ष भयो । अत्यन्त गम्भीरताका साथ भन्छु, राजनीतिबाट आजै मिनेन्द्र रिजाल अलग हुने हो भने पनि मैले देशलाई अहिले गरिरहेको भन्दा बढी योगदान गर्ने ठाउँ हुन्न भन्ने मलाई लाग्दैन । गर्न सक्छु भन्ने आत्मविश्वास छ ।

तेस्रो कुरा, यी दुई कुरालाई अगाडि राख्दा यो सुविधा मानिसले सजिलै पाउँदैन । मनको सन्तुष्टिको कुरा हो । मलाई मेरो परिवारबाट राजनीतिमा बसिराख भन्ने दबाब छैन । मेरी श्रीमतीले मलाई सधैं भन्छिन् कि तिमी राजनीतिमा हुनाले के भयो थाहा छैन, तिमी आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रियरुपमै योगदान गर्न सक्ने प्राज्ञिक क्षमता भएको मानिस राजनीतिमा भएर धेरै ठूलो प्रगति भएको जस्तो मलाई लाग्दैन भन्ने उनको भनाइ छ । मेरा छोराछोरीले पनि राजनीतिमा म हुनैपर्छ भनेर आजसम्म कहिल्यै भनेका छैनन् । त्यसैले राजनीति छाडेको भोलिपल्ट मेरो परिवारले तपाईंले कस्तो अप्ठ्यारो पार्नुभयो । हाम्रो भविष्य के हुन्छ राजनीतिमा भन्नेखालको परिस्थिति छैन ।

चौथो कुरा, म पूर्वको असाध्यै सम्पन्न, अझै भन्नुपर्दा वैभवशाली परिवारमा जन्मेको मान्छे हुँ । मेरा बुबाले कमाएर छोडिदिएको जति सबै राख्न सकिनँ होला, पछि आफूले गरेको कामबाट पनि थपेँ होला । त्यसैले, अबको दिनमा मलाई त्यसकारणले अप्ठ्यारो पर्छ भन्ने पनि छैन । त्यसैले सन्तुष्ट जीवन हुन्छ भन्ने छ । यी सबै कारणले म पूरै ढुक्क छु ।

पाँचौं कुरा, मलाई केही समय अगाडि कता–कता चिन्ता थियो, एकाएक मिनेन्द्र रिजाल हरायो भने मलाई कसरी मान्छेले सम्झेला भनेर । आज एउटा कुरामा ढुक्क छु । मिनेन्द्र रिजाल राजनीतिमा एकाएक हराउने हो भने पनि मलाई सम्झिने मान्छेले यो मान्छे खराब थियो, गयो, ठीकै भयो भन्दैन । यो मान्छे नगएको भए हुन्थ्यो भन्नेखालको ‘फिलिङ’ निकै व्यापकरुपमा छ भन्नेमा मलाई सन्तोष छ ।

राजनीतिबाट अवकाश लिएपछि प्राज्ञिक क्षेत्रमा केही गर्ने वा अन्य केही सोचिसक्नुभएको छ कि सोच्नै बाँकी छ ?

आगामी दिनको तयारी छ कि छैन भनेर तपाईंले घतलाग्ने कुरा सोध्नुभयो । आजभन्दा ६/७ वर्षअघि मैले विदेशमा बस्दा लेखेको पुस्तक बुझ्न नसक्ने अवस्था भइसकेको थियो । आफ्नो प्राज्ञिक अध्ययन अनुसन्धान क्षेत्रभन्दा म धेरै टाढा आएको थिएँ । अब म प्राज्ञिक क्षेत्रमा फर्किन सक्छु कि सक्दिनँ ? म आफैं पनि २० वर्ष त्यो फिल्डभन्दा बाहिर हिँडिसकेको थिएँ ।

६ वर्षअघि शेरबहादुर देउवा पार्टी सभापति बन्नुभयो । उहाँ संसदीय दलको नेता बन्नुभयो । पार्टीमा म उहाँको समूहमा थिइनँ । पहिले लामो समय उहाँसँगै मात्र थिएँ । तर, उहाँसँग अलग भएपछि मेरो मनमा एउटा प्रश्न सोध्नैपर्ने अवस्था भयो । शेरबहादुर देउवा पार्टी सभापति र संसदीय दलको नेता भएपछि मिनेन्द्र रिजालको भविष्य के ? तत्कालीन मोरङ ६ नम्बर क्षेत्रमा चुनाव लड्न सधैं प्रतिस्पर्धा गर्दागर्दै पनि मभन्दा अलिकति अगाडिको नेता महेश आचार्यजी त्यो क्षेत्रबाट निर्वाचन लड्ने हुँदा ठाउँ पाउन गाह्रो थियो । कसैले मलाई टिकट दिइएन भने पनि मलाई अन्याय भयो भन्ने खण्ड थिएन । त्यो शेरबहादुर देउवाले संसदीय दलको नेता जितेपछि मलाई एक वर्ष खाली समय थियो ।

देउवा संसदीय दलको नेता चयन हुने दिन संसदीय दलको विधान फाइनल गर्ने दिन थियो । म त्यहाँ (काँग्रेस संसदीय दलको कार्यालय) बाट म निस्किन खोज्दा प्रदीप गिरीले ‘मिनेन्द्रजी, तपाईंको के काम छ, मसँग हिँड्नुस् एकछिन’ भन्नुभयो । प्रदीप गिरीको घरमा पुग्दा उहाँले वीपी कोइरालाबारे तयार गर्नुभएको पुस्तक जुन विमोचित पनि भएको थिएन, मलाई दुईवटा मोटा किताब दिनुभयो । एउटा पुस्तक वीपी कोइरालाको अन्तरवार्ता संग्रह थियो । नेहरु अर्काइभ्सबाट उल्था गरिएको । अंग्रेजीमा त पहिल्यै छापिएसकेको थियो । अहिले पनि त्यो प्राप्त गर्न सकिन्छ । त्यो पढ्दै जाँदा एउटा ठाउँमा बीपीले भन्नुभएको रहेछ, अब त मैले विल डुरान्टको ११ भोल्युमको पुस्तक (ठेली) पढिसकें । एउटा असाध्यै ठूलो उपलब्धि ।

जेलमा बसेको मान्छे, जुन समय बीपीको सबभन्दा सक्रिय लेखनको अवधि थियो । लेख्ने, पढ्ने बेला थियो । त्योबेला पनि विल डुरान्ट पढ्दाखेरि बीपीलाई त्यत्रो ठूलो उपलब्धिजस्तो लागेछ । त्यसपछि मलाई त्यो किताबमा के रहेछ भन्ने लाग्यो । स्टोरी अफ सिभिलाइजेसन ।

मैले गुगलमा खोजेँ । अनलाइनमा ९९ डलरमा पाइने, करिब १३,५४९ पेजको पुस्तक । मैले सोचेँ, ल अब मसँग समय छ । पार्टीमा अहिले केही काम छैन । त्यसपछि किताब ( विल डुरान्टको स्टोरी अफ सिभिलाइजेसन) पढ्न थालें । एक वर्षसम्म रमाएर पढें । एकदम व्यस्त मान्छे, सुशील कोइराला सरकारको सञ्चारमन्त्रीबाट हटेको केही महिनामात्रै भएको थियो । एकाएक फुर्सद भएपछि के गर्ने भनेर फुर्सद लिनुपरेन, बिहान–बेलुकै काम भएजस्तै भयो । त्यसपछि मलाई ल म यसरी पनि बस्न सक्नेरहेछु है भन्ने लाग्यो । 

त्यसलाई अझै बलियो केले बनायो भन्दाखेरि पहिलो कोभिड संक्रमणका बेला पहिलो लकडाउनमा फेरि मैले ७/८ वटा किताब मज्जैका, मोटोमोटा पढ्न पाएँ । अहिले दोस्रो लकडाउनका बेला पनि ६/७ वटा किताब पढेँ । थोमस पिकेटीको पछिल्लो पुस्तक ११०४ पेजको ‘क्यापिटल एण्ड आइडियोलोजी’ पनि पढेँ । त्यसकारण, अब भोलिदेखि जुरुक्कै उठेर त्यहाँ गएर काम सुरु गर् भन्यो भने पनि गर्न सक्ने मेरो मनोवृत्ति, चाहना र आनन्दमा रमाउन सक्ने पनि मैले देखेँ ।

यो मेरो राजनीतिमा कमजोरी पनि होला । तर, मलाई राजनीति नै खेती, राजनीति नै व्यापार, राजनीति नै धन्दा, राजनीति नै करियर भन्ने छैन । बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म राजनीति नै भन्ने ‘क्याटोगरी’मा म परिनँ ।  मलाई पार्टी सभापतिहरुले जिम्मेवारी दिएर महामन्त्री बनाउनुभयो वा मतदाताले मत दिएर संसदमा पठाउनुभयो भने रमाएर, ढंगका साथ त्यो जिम्मेवारी पूरा गर्न सक्छु भन्ने एकतिर छ । त्यो जिम्मेवारी प्राप्त गर्न सकिनँ भने पनि मज्जाले रमाएर अर्को विकल्पमा पनि लाग्न सक्छु भन्ने आत्मविश्वास छ ।

माधव नेपालजी साँचो कम्युनिस्ट एकीकृत समाजवादीबाहेक अरु हुन सक्दैन भन्नुहुन्छ । प्रचण्डजी, माओवादीबाहेक साँच्चै कम्युनिस्ट अरु हुनै सक्दैन भन्नुहुन्छ । ओली सबै कम्युनिस्ट म हो, अरु त कम्युनिस्ट नै होइनन् भन्नुहुन्छ । यत्रो तीन–तीनवटा पार्टीले कम्युनिस्ट मै मात्र हुँ भन्दा हामीलाई ठाउँ पनि छैन कि क्या हो भन्ने हुन्छ । कम्युनिस्ट हुन यति जरुरी र सबैभन्दा बढी कम्युनिस्ट हुँ भनेर उहाँहरु प्रतिस्पर्धा गरिराख्नुभएको छ । यो आज देशको छलफलको कमजोर पाटो हो जस्तो लाग्छ ।

महामन्त्रीमा दाबी गर्नेहरु भोलि अझै माथिल्लो नेतृत्वमा पुग्ने लक्ष्यका साथ मैदानमा आएको अवस्था छ । तपाईंचाहिँ महामन्त्री भएपछि सक्रिय राजनीतिबाटै विदा हुन्छु भन्दै हुनुहुन्छ । महामन्त्री भएर मात्रै तपाईले काँग्रेसमा के सुधार गर्न सक्नुहुन्छ ?

मेरो वयका केही साथीहरुले महामन्त्री लड्छु भन्नुभएको छ । अरु थुप्रै, मभन्दा कम्तिमा पनि १५ /२० वर्ष कान्छाहरू लड्छु भन्नुभएको छ । मेरो वयका साथीहरुले योपछि अर्को स्टेप देख्नुभएको छ । उहाँहरुको सम्भावना देखिन्छ, उहाँहरुले त्यो बाटोमा हिँड्छुभन्दा मैले हिँड्नुहुँदैन कसरी भन्न सक्छु ? आ–आफ्नो जीवनको आकलन हो । अर्को, मभन्दा १५ /२० वर्ष कान्छो साथीहरुले सोच्ने त स्वाभाविक हो । उहाँ महामन्त्री हुने ठाउँमा पुगिसकेपछि स्वाभाविकरुपले पार्टीको मूल नेतृत्वमा पुगेरै  बिसाउँछु भन्नुहोला । मैले त्यसमा अन्यथा सोच्नुपरेन भन्ने लाग्छ ।

अर्को कुरा, तपार्इंले महामन्त्री भएर कसरी योगदान गर्न सक्नुहुन्छ भन्ने छ । काँग्रेस आफूलाई परिभाषित गर्नुपर्ने चरणमा पुगेको छ । परिभाषित कसरी गर्ने त भन्दा अब काँग्रेस के हो ? पहिला देशको हिसाबबाट हेरौं ।

माधव नेपालजी साँचो कम्युनिस्ट एकीकृत समाजवादीबाहेक अरु हुन सक्दैन भन्नुहुन्छ । प्रचण्डजी, माओवादीबाहेक साँच्चै कम्युनिस्ट अरु हुनै सक्दैन भन्नुहुन्छ । ओली सबै कम्युनिस्ट म हो, अरु त कम्युनिस्ट नै होइनन् भन्नुहुन्छ । यत्रो तीन–तीनवटा पार्टीले कम्युनिस्ट मै मात्र हुँ भन्दा हामीलाई ठाउँ पनि छैन कि क्या हो भन्ने हुन्छ । कम्युनिस्ट हुन यति जरुरी र सबैभन्दा बढी कम्युनिस्ट हुँ भनेर उहाँहरु प्रतिस्पर्धा गरिराख्नुभएको छ । यो आज देशको छलफलको कमजोर पाटो हो जस्तो लाग्छ ।

उहाँहरु तीनवटै कम्युनिस्ट मिलेर पनि यो संविधानलाई अगाडि लिएर जान सक्नुहुन्न । यही कुरा हिजो हामीले संसदमा भन्यौं । उहाँहरु तीनैथरी जो म मात्रै कम्युनिस्ट हुँ, मसँग मात्र हुन सक्छ भनेर भन्नुहुन्छ, उहाँहरु एकै ठाउँमा बस्दाखेरि पनि नेपालको कम्युनिस्ट आन्दोलनले नयाँ संविधानको मर्म र भावलाई बोक्न सक्दैन भन्ने प्रमाणित भयो । यो ओलीको असफलता मात्र होइन । ओली, प्रचण्ड र माधव नेपालको साझेदारीमा उहाँहरु असफल हुनुभएको छ । ७५ वर्षभन्दा लामो संघर्षबाट बनेको नेपालको संविधान उहाँहरुले बोकेर हिँड्ने दस्तावेज होइन । यसको विरासतको उहाँहरुले संरक्षण र पालनपोषण गर्न सक्नुहुन्न भन्ने कुरा प्रमाणित भएको छ । त्यसैले, यो काम गर्नका लागि काँग्रेस पार्टीमा पुनर्निर्माण हुनुपर्छ । मेरो आजको भूमिका यो पुनर्निर्माण गर्नका लागि हो । यो कुरा राम्रोसँग, गम्भीरतापूर्वक बाहिर भएको छैन ।

प्रचण्ड म मामुली मान्छे हो र ? मेरो मान सम्मान भएन भन्नुहुन्छ । यसबाट बहसलाई अर्को ठाउँमा लिएर जान आवश्यकता छ ।

तपाईँजस्तै अरु नेताले पनि म अन्तिमचोटि लडिरहेको छु, काँग्रेसलाई बलियो बनाउन मलाई जिताउनोस् भन्दैछन् नि ?

आज दुईखाले बहस काँग्रेसमा छ । एउटा मेरो अन्तिम पटक हो, त्यसपछि मैले तपाईंहरुलाई जिम्मा लगाइहाल्छु नि त भन्ने छ । शेरबहादुर देउवा म लड्ने एकपल्ट हो, अरु लड्दा दुईपटक लड्नुहुन्छ भन्नुहुन्छ । रामचन्द्रले त हुँदा हुँदा एकपटक पूरा पनि भनिराख्नु भएको छैन । आगामी निर्वाचनसम्म म हुँ, त्यसपछि तपाईंहरुलाई जिम्मा लगाउँछु भनिराख्नुभएको छ । अरु सभापतिका उम्मेदवार पनि म सभापतिको उम्मेदवार हुने हो, प्रधानमन्त्री तपाईं हुनुस् भन्नुहुन्छ । अब मेरो बेला के बाँकी छ त भन्ने छ ।

अर्कोतिर ‘मैले काँग्रेसको गौरवशाली परम्परालाई प्रतिनिधित्व गर्छु । मलाईबाहेक अरु कसैलाई विश्वास गर्छन् मान्छेले ? म फलाना नेताको परम्परा (बंश) लाई प्रतिनिधित्व गर्छु, त्यो नेतालाई प्रतिनिधित्व गर्न सक्ने मान्छेबाहेक अरुलाई विश्वास गर्ने वातावरण छ त काँग्रेसमा ?’ भन्ने प्रश्न गर्नुभएको छ । मैले त्यो छैन पनि भन्न खोजेको होइन । त्यसको पनि महत्व छ । तर, दुई सिनियर नेतापछि सभापति बन्नका लागि  नेपालको उदाहरणीय, अनुकरणीय बंश परम्पराको प्रतिनिधित्व गर्ने नेताभन्दा बाहेक अर्कोलाई सहजै रुपमा काँग्रेसको सभापतिका रुपमा छान्न काँग्रेस मतदाता तयार छैनन् । मलाई त्यस्तो लाग्छ ।

तर, बहस यतिमै सीमित भयो । २००६ सालमा वीपी कोइरालाले आउनोस् जनता, राणा शासन फालौँ, नेपाल जनराज्यको संविधान, जनताका प्रतिनिधिले बनाएको संविधासभा वा परिषदले बनाउँछ भन्नुभएको थियो । २०७२ सालमा यसरी बनाएको संविधान समृद्धिको यात्रामा हिँड्ने जग बनेको थियो । यो जगमा उभिएर ओलीले गफ मात्रै गर्नुभयो । दिउँसै सपना देखाउनुभयो । अरु केही भएन ।

प्रचण्ड म मामुली मान्छे हो र ? मेरो मान सम्मान भएन भन्नुहुन्छ । यसबाट बहसलाई अर्को ठाउँमा लिएर जान आवश्यकता छ । यो संविधान ७५ वर्षको उपलब्धिको मूल दस्तावेज हो । यो मूल राजनीति हो, जहाँ हामीले सबै अनुभव र उकाली–ओरालीबाट मुलुकलाई लिएर आयौं । अब यो जगमा पहिला समृद्धिको र पछि वैभवको भव्य महल निर्माण गर्नुछ । यतातिर बहस गएन । यतातिरको बहसमा काँग्रेसलाई लिएर जानुपर्छ ।

तपाईं संविधानको यो जगमा समृद्धिको बलियो भवन बनाउनुपर्छ भन्दै हुनुहुन्छ, तर यो जग नै ठीक भएन भन्ने बहस भइरहेको छ । जस्तो– बाबुरामजीले कार्यकारी प्रमुख राष्ट्रपतीय प्रणाली चाहियो भन्दै हुनुहुन्छ ।  माओवादी र एमालेका नेताहरु निर्वाचन प्रणाली फेर्नुपर्यो भन्दैछन् । अब यो प्रणाली नै फेर्नुपर्यो भन्ने बहस उठ्न थालेको छ । काँग्रेसभित्रै पनि केही नेताहरुले धर्मनिरपेक्षतामाथि प्रश्न उठाइराख्नुभएको छ । अब जगै फेर्ने कि यसैलाई बलियो पार्नतिर लाग्ने ?

यसलाई दुई–तीन आधारबाट हेर्न सकिन्छ । एउटा, म व्यक्तिलाई भनिरहेको छैन । नेतृत्व असफल भयो भने शेरबहादुर र रामचन्द्र असफल हुनुभयो भनेर परिभाषित गर्ने कोशिस हुन्छ । त्यो पनि आज म गरिरहेको छैन । तर, काँग्रेसले सामूहिकरुपमा हामी असफल भयौं कि भएनौँ भन्ने कुरामा ठूलो प्रमाण संविधानको अंश–अंशलाई स्वामित्व लिइनु हो ।

बाबुरामजीलाई प्रदेश ठीक भएको छैन, जातजातिका आधारमा बनाउनुपर्नेछ । निर्वाचन प्रणाली ठीक बनाएका छैनौं, पूर्ण समानुपातिक बनाउनुपर्छ अथवा प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने छ । प्रचण्डलाई अझै समावेशी बनाउन बाँकी नै छ । साँच्चै कम्युनिस्ट खालको देश बनाउन बाँकी छ भन्ने बहस छ । उहाँ यतिका मान्छेले विद्रोह गरे, त्यो गराउने नेता मैले के पाएँ ? मेरो मूल्याङ्कन गरे त मान्छेले ? भन्नेखालको एउटा अंश बोकेर हिँड्नुभएको छ । उता, कसैलाई संवैधानिक राजतन्त्र चाहियो । कसैलाई हिन्दुराष्ट्र चाहियो होला । कसैलाई धर्मनिरपेक्षता मात्र जोगाउनुपर्यो होला ।

थरिथरिका कम्युनिस्टले हार्मोनियम, तबला, गितार बजाए पनि उहाँहरुलाई संसद र जनताप्रति उत्तरदायित्वको भाव भारी भएको छ । उहाँहरुले यो संविधानको मर्म र भाव बोकेर जान सक्नुहुन्न ।

थरिथरि कम्युनिस्टलाई संसद घाँडो भएको छ । कसैले बोल्नुभएको छ, कसैले अभ्यास गर्नुभएको छ । बाबुराम भट्टराईलाई संसद घाँडो भएर कार्यकारी राष्ट्रपति चाहिएको हो । उहाँले संसदप्रतिको उत्तरदायित्व बिर्सिनुभएको छ । अमेरिकामा पनि राष्ट्रपति संसदप्रति उत्तरदायी हुन्छ । अर्को पार्टीले ह्वीप जारी गरेपछि बजेट पास हुन्न ।  उहाँ संसद र जनताप्रति उत्तरदायी हुनेभन्दा पनि सिधै कार्यकारी भन्नुहुन्छ ।

प्रचण्ड २०६४ मा राष्ट्रनायक बग्गीमा चढ्नुभएको थियो । त्यो बग्गीबाट उहाँ अहिलेसम्म उत्रिनुभएको छैन । केपी ओली २०४६ सालको आन्दोलनपछि एउटा संसदीय अभ्यासबाट आएकाले बोली फेरेर अर्कोतिर जान सक्नुहुन्न । तर, उहाँले संसद, अदालत र प्रेसलाई मैले जितेर आएको हो, म कसैप्रति उत्तरदायी हुन आवश्यक छैन भन्ने व्यवहार गर्नुभयो । पार्टीका नेतालाई त्यही भन्नुभयो । माधव नेपाल, झलनाथ खनाल, प्रचण्डलाई पनि त्यही भन्नुभयो । त्यही कारणले उहाँहरुको पार्टी छिन्नभिन्न भएको हो । अहिले बाँकी रहेको पार्टीमा पनि म हुँ नि त, मैले भनेको मान्नुपर्यो नि भन्नुहुन्छ । त्यही भाषामा कोही हार खाएर, कोही–कोही त्यही भाषामा रमाएर हाम्रो सर्वसम्मत नेता ओली हो भन्नुहुछ ।

थरिथरिका कम्युनिस्टले हार्मोनियम, तबला, गितार बजाए पनि उहाँहरुलाई संसद र जनताप्रति उत्तरदायित्वको भाव भारी भएको छ । उहाँहरुले यो संविधानको मर्म र भाव बोकेर जान सक्नुहुन्न ।

अर्कोतर्फ, बेग्लाबेग्लै पहिचान चाहियो भन्दै मधेस एउटा देश हो, नेपाल विभिन्न देशले बनेको राज्य हो, त्यो राज्यमध्येको एउटा अंश मधेस हो भनेर मधेसको राजनीति गरिराख्नुभएको छ । उहाँहरुबाट अभिप्रेरित भएर कसैले लिम्बुवान, खम्वुवान, ताम्सालिङ, तमुवान बेग्लै हो भन्नुुहुन्छ । यो हिरा (संविधान) को  एक–एकवटा टुक्रा बोकेर हिँड्ने मान्छे नेपालमा भए । यो संविधानलाई बोकेर हिँड्न नसक्नु काँग्रेसको सामूहिक असफलताको प्रमाण हो । यसबाट मुक्त नहुँदासम्म काँग्रेस पुनर्जागरणको अभियान अगाडि जान सक्दैन ।

उसोभए २०७२ सालको संविधानले गरेको मार्गनिर्देशनमै टेकेर अगाडि बढ्नुपर्यो भन्ने तपाईंको बटमलाइन हो ?

कहीँ–कतै कुना काप्चामा केही गर्नु छ भने गर्न सकिन्छ । संविधानको मूल भाव वा पिल्लर बदल्ने कुरा गल्ती हुन्छ ।  कुनै पनि पिल्लर भत्काउनुपर्छ भन्नेहरु गल्तीमा छन् । संविधान नेपालको सामूहिक विवेकको दस्तावेज हो ।

तर, विगतमा नेपाली काँग्रेसले पनि त संविधान संशोधनको प्रयास गरेको थियो नि ? अहिले संशोधनको बहस गर्ने बेला भएको छैन ?

हरेक दिन संविधान संशोधन गर्नुपर्छ भन्ने होइन । संविधान निर्माण ताका तत्कालीन प्रधानमन्त्री एवं काँग्रेसका सभापति सुशील कोइरालाले भन्नुभएको थियो, ‘अहिले तपाईंहरु सबैले राखेका संशोधन फिर्ता लिनुस्, हामी संविधानलाई सर्वसम्मतको दस्तावेज बनाउन चाहन्छौं । केही कुरा संशोधन गर्नुपर्ने छन् भन्ने हामीलाई पनि लाग्छ, यो संविधानलाई एउटा जगमा उभ्याइसकेपछि त्यसपछि संशोधन गर्न सकिन्छ । अहिले स–साना संशोधनबारे छलफल गर्न थालियो भने मूल संविधान नआउने खतरा छ ।’

संविधान जारी भएपछि टुँडिखेलामा आमसभा हुँदा सौभाग्यले मैले कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको थिएँ । त्यो सभामा सुशील कोइरालाले मात्र होइन, ओली र प्रचण्डजीले पनि यही भन्नुभयो ।

भवनमा कतिपय अलि ‘रफ’ देखिने कुनाकाप्चा होलान्, ती मिलाउनुपर्ने कुरा हुन् । तर, संविधानको आधारभूत ब्लक र पिल्लरहरुलाई होइन, केही कुनाकानी मात्र मिलाउनुपर्ने हाम्रो प्रतिवद्धता जनताप्रति छ, राजनीतिक दलहरुप्रति छ । योबाहेक आजै संविधान फेरौँ, भोलि फेरौँ, पर्सि फेरौँ, ६/६ महिनामा, वर्ष–वर्षमा फेरिने कुरा गर्न खोजेको होइन । केही प्रतिवद्धताहरु पूरा गर्न बाँकी छ ।

हामीले यो संविधान किन बनायौं त भन्दा यो नयाँ सन्दर्भ र अवसर फेरि आउँदैन । सजिलै आउँदैन ।

अब ‘बिल्डिङ’ लाई बलियो पार्ने भनेको समृद्धि र आर्थिक विकासको बाटोमा जाने नै हो । काँग्रेसको महामन्त्री हुँदै गर्दा यसमा तपाईको भिजन र प्लान के हो ? अहिलेको आर्थिक प्रणालीलाई कम्युनिस्टहरुले ‘दलाल पुँजीवादी’ भनिराखेका छन् । संविधानले समाजवादमा जाने भनेको छ । हामी राजनीतिमा त सही ठाउँमै हौंला, तर ‘इकोनोमिक ट्रयाक’ मा चाहिँ सही ठाउँमा छौं त ?

आर्थिक रुपमा दुई–तीनवटा कुरा ध्यानमा राख्नुपर्छ जस्तो लाग्छ । ०४६ सालमा नेपाली काँग्रेसको नेतृत्वमा प्रजातन्त्रको पुनस्र्थापना  भयो । वामपन्थी दलहरु, मनमोहन अधिकारी, खासगरी मदन भण्डारीको डाइनामिक लिडरसीपमा रहेको कम्युनिस्ट पार्टीलाई समेत लिएर नेपाली काँग्रेसले प्रजातन्त्रको पुनर्स्थापना गर्यो ।

विश्वभरिको इतिहास हेर्दा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना कुनबेला भयो भने सोभियत राष्ट्रहरु समाप्त भएका थिए । कम्युनिस्ट राष्ट्रहरु क्षत–विक्षत भएका थिए । बर्लिनको पर्खाल भत्किएको थियो । संसार एउटै ध्रुवको मात्रै भएको अवस्था थियो ।

त्यो समय कस्तो थियो भने खाली लिबरल डेमोक्रेसी (उदार लोकतन्त्र) को मात्रै होइन कि उदार अर्थतन्त्रको पनि दिग्विजयी भयो भन्ने रुपमा परिभाषित भएको अवस्था थियो । त्यसबाट ‘रेगन थ्याचर रिभोल्युसन’ ( शीतयुद्धपछिको क्रान्ति) उदार पुँजीवादी कक्षमा दुनियाँभरि देखियो । दुनियाँका विकासे संस्थाहरु विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोषहरू पनि यही बाटोमा गए ।

फ्रासिन्स फुकुयामाले त्यतिखेर ‘द इण्ड अफ हिस्ट्र एण्ड द लास्ट म्यान’ लेख्नुभयो । एउटा किताबमा मात्रै होइन, उहाँले पछि आएका दुईवटा किताबमा पनि लेख्नुभएको छ, व्याख्या पनि गर्नुभएको छ । तर, उहाँको किताबलाई कसरी व्याख्या गरियो भने अब अमेरिकाजस्तै अरु पनि देशहरु हुने हो । बाटोचाहिँ अमेरिका नै पुग्ने हो भन्नेखालको भयो ।

त्योबेलामा नेपालमा प्रजातन्त्रको पुनःस्थापना हुँदाखेरि नेपालको विकासको बाटो पनि ‘वाशिंटन कन्सन्सस’ कै  बाटो हो, उदार पुँजीबादी बाटो नै हो, पुग्नेचाहिँ त्यहीँ नै हो भन्ने सोचबाट दुनियाँ गाइडेड भएका बेला हामीले पनि त्यो बाटो समात्यौँ । ०४६ को प्रजातन्त्र पुनःस्थापनापछि हामीले त्यही बाटोबाट अर्थतन्त्रलाई सञ्चालन गर्यौं ।

तर, त्यो बाटो ठीक होइन भन्ने कुरा दुनियाँले कसरी देखायो भन्दाखेरि सन् १०९० देखि  २००० सालमा आइपुग्दा मानिसको दीगो विकास त उठ्न सकेन । शिक्षामा, स्वास्थ्यमा, खानेपानीमा, गरीबी निवारणमा प्रगति हुन सकेन । गरीब देशका मानिसहरुको विकासका लागि यथेष्ट बैदेशिक सहायता जुटाउन सकिएन । यी रियलाइजेसन पछाडि सहस्राब्दी विकास लक्षमा हस्ताक्षर भयो । सन् २००० देखि २०१५ सम्म यहाँसम्म पुर्याउँछौं भनेर लक्ष्य निर्धारण भयो । त्यसको विकसित र परिमार्जित स्वरुप बन्यो ।

यो के–के पृष्ठभूमिमा बन्यो भन्दा सन् २००७/२००८ मा विश्व आर्थिक संकट आयो । ‘वाशिंटन कन्सन्सस’, ‘रेगन थ्याचर रिभोल्युसन’ पछाडि वित्तीय संस्थाहरु, वित्तीय घरानाहरुले डोमिनेट गर्न थाले । वित्तीय पुँजीवादको डोमिनेसनमा अरु सबै जाँदाखेरि कहाँ पूर्वाधार र कृषि आदिको जगेर्ना गर्ने भन्दा पनि कसरी वित्तको जगेर्ना गर्न सकिन्छ भन्नेखालको वित्तीय पुँजीवादले यसरी दुनियाँलाई बोक्यो, त्यो बिस्फोट हुँदाखेरि ए पुँजीवादमा त खतरा त रहेछ नि भन्ने रियलाइजेसन भयो ।

हामी सबैको काँध थाक्छ । हिजो शेरबहादुर देउवाले मैले केही गर्नु छ भन्ने थियो, त्यो बाँकी रहेको देख्दिनँ आजको दिनमा । उहाँलाई यो गरिराखेको गर्ने त हो भन्ने छ । तर मान्छेको उमेर बढ्दै गएपछि परिपक्वता बढ्दै जान्छ

अनि त्यसपछि एउटा बलियो, विकसित स्वरुपमा सहश्राब्दि विकास लक्ष्य आयो । त्यसपछि अहिले सस्टेनेबल डेभलपमेन्ट गोल (दीगो विकास लक्ष) स्वीकार गरेका छौं दुनियाँमा । दीगो विकास लक्षमा गरीबी निवारण यहीँबाट सुरु हुन्छ । कुपषोणबाट मुक्ति, टीबी, मलेरिया हटाउने कुरा, शिक्षा, खानेपानी, पूर्वाधार विकास, सामाजिकरुपमा पछाडि परेका महिला, आदिवासी जनजाति र सीमान्तीकृतहरुको पहुँच पुर्याउने कुराहरुलाई लिएर दीगो विकास लक्षहरु निर्धारण गरिएका छन् । यसरी नयाँ सन्दर्भ विकसित भएको छ ।

त्यसैले, हामीले यो संविधान किन बनायौं त भन्दा यो नयाँ सन्दर्भ र अवसर फेरि आउँदैन । सजिलै आउँदैन । आज दुनियाँमा नेपालजस्ता देशहरु छन् । ग्लोबल वार्मिङ, प्राकृतिक विपदमा हामीले ठूलो समस्या व्यहोर्नुपरेको छ । हाम्रा प्रधानमन्त्री भर्खरै कोप२६ मा पुगेर आउनुभयो । अहिले ट्रम्प होइन, बाइडेनले चुनाव जितेर आउनुभएको छ । यो परिस्थिति अमेरिकामा बनेको छ । योबेलामा हामीले यो बलियो संविधानको जगमा नयाँखालको अर्थतन्त्रबारे सोच्नुपर्छ ।

हाम्रो संविधानमा लोकतान्त्रिक समाजवादी लेखिराख्दाखेरि थुप्रै मूल्य मान्यताहरु लेखिएका छन् । यो यो यो.... भनेर लेख्दै गएर लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद भनेका छौं । एकथरि मानिसहरु समाजवादमात्रै भन्नुहुन्छ ।  समाजजाद उन्मुख, समाजवाद उन्मुख मात्रै भन्नुहुन्छ । लामो एउटा प्याराग्राफभरि हामीले लोकतन्त्रका आधारभूत ‘प्यासेज’हरु लेखेर, त्यतिले पुग्दैन कि भनेर ‘लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित’ भनेर लेखेका छौं । र, यी सबैलाई बोक्न सक्ने, बिल्डिङ, ब्लकमा बोक्न सक्ने लोकतान्त्रिक समाजवादको आधारलाई लिएर अगाडि जान सक्ने बाटो छ । यसको नेचुरल हकदार त काँग्रेस हो नि त ।

यो हकदार पार्टी, बीपी कोइरालाको पार्टी, आज एउटा कुनामा बसेर गठबन्धत्रन कता मिलाउने, कोसँग मिलाउने, अनि मिलेर चुनाव हारिन्छ कि जितिन्छ भनेर मात्रै सोच्दाखेरि त यो त नेतृत्वको सामुहिक अफलता पो हुन्छ त । म शेरबहादुर देउवा, रामचन्द्र पौडेललाई मात्रै दोष दिन्नँ, हामी सप्पै । हाम्रो सामुहिक असफलताबाट काँग्रेसलाई उम्काउनुछ । यहाँबाट अगाडि लिएर जानुछ । यसका लागि पनि हो मेरो उमेद्वारी ।                              

राजनीतिक–आर्थिक एजेण्डाबारे यत्ति नै चर्चा गरौं । अब पार्टीकै कुरामा फर्कौं, काँग्रेसको महामन्त्री मात्र भएर तपाईले यो सबै परिवर्तन र सुधारमा भूमिका खेल्न सक्नुहुन्छ त ?

हामी सबैको काँध थाक्छ । हिजो शेरबहादुर देउवाले मैले केही गर्नु छ भन्ने थियो, त्यो बाँकी रहेको देख्दिनँ आजको दिनमा । उहाँलाई यो गरिराखेको गर्ने त हो भन्ने छ । तर मान्छेको उमेर बढ्दै गएपछि परिपक्वता बढ्दै जान्छ । उर्जा घट्दै जान्छ । उर्जा र परिपक्वतालाई जोड्दै जानुभयो भने एउटा समयसम्म काम गर्छ । एउटा विन्दुमा उर्जा यति चाँडै स्खलित हुन्छ कि परिपक्वता बढेर पनि काम गर्न नसकिने ठाउँमा पुगिन्छ । मेरा लागि ५/६ वर्षभन्दा बढी मेरा लागि समय हुँदैन जस्तो लाग्छ ।

मूल उम्मेदवार एउटा मात्र देखिँदा कुनै अर्को उम्मेदवार हुँदा केही भएन । तर हाम्रो समूहमा ६०/४० जस्तो छुटिने गरी एकभन्दा बढी सभापतिका उम्मेदवार भए हामी महामन्त्रीमा लड्नुको कुनै औचित्य छैन ।

तपाईंले अघि म आबद्ध समूहमा सभापतिको उम्मेदवार तय नभएकाले  उम्मेदवारी घोषणा नगरिहालेको भन्नुभयो । तपाईंले प्रतिनिधित्व गरेको समूहमा महामन्त्रीका अन्य आकांक्षीसँग कुनै समझदारी गर्न मिल्दैन ?

हामीकहाँ महामन्त्रीको धेरै दाबेदार भएजस्तो लाग्दैन । तर मैले केही साथीहरुसँग कुरा गर्न सुरु गरेको छु । हामी सभापतिकै उम्मेदवार तय गर्ने कुरामा केन्द्रित छौं । चार वर्षदेखि एक मात्र सभापतिको उम्मेदवार बनाउनुपर्छ भनेर हामीहरु लागेका छौं ।

अहिलेसम्म उम्मेदवार किन तय हुन नसकेको त ?

समझदारी गर्ने ढंग र तरिका नमिलेको हो कि ? अथवा समय नआइसकेको होला । यो चार वर्षमा सभापतिका उम्मेदवार बन्नेको बैठक पटक पटक भइसक्यो तर केही पार लागेको छैन । अब हामी सभापति उपसभापति लड्ने बाहेकका लड्न चाहना राख्ने मान्छेहरुले कही न कही यो यो मान्छे यसरी लड्नुपर्छ भनेर सोच बनायौं भने सभापति लड्न चाहनेहरुलाई पनि एक बन्ने दबाब होला । एक नबन्ने हो भने पनि मूलतः कसले प्रतिनिधित्व गर्ने भनेर निर्णय गर्ने बाध्यता सिर्जना हुन सक्छ ।

सभापतिका धेरै प्यानल हुँदा तपाईं कोसँग नजिक भएर महामन्त्रीमा लड्नुहुन्छ ?

मूल उम्मेदवार एउटा मात्र देखिँदा कुनै अर्को उम्मेदवार हुँदा केही भएन । तर हाम्रो समूहमा ६०/४० जस्तो छुटिने गरी एकभन्दा बढी सभापतिका उम्मेदवार भए हामी महामन्त्रीमा लड्नुको कुनै औचित्य छैन । जित्न सकिन्न । त्यस्तो नहोस् भनेर हामी लाग्ने बेला आयो । होइन भने हामीले चाहना राखेपनि हाम्रो चाहनाले मूर्तरुप पाउँदैन ।

म शेरबहादुर देउवासँग सहजरुपमा कुरा गर्न सक्छु । शेरबहादुर देउवासँग मेरो सम्बन्ध तिक्ततापूर्ण छैन । बेग्लाबेग्लै समूहमा छौं । तपाईंलाई सभापतिमा भोट हाल्दिनँ भन्दा पनि उहाँ र मेरो झगडा पर्दैन । ​

 त्यसोभए तपाईं महामन्त्रीको दाबीबाट ‘व्याक’ हुने सम्भावना रहेछ, है ?

म ‘ब्याक’ हुने अवस्थामा पार्टी राजनीतिमा मेरो भूमिका के हुने भनेर गम्भीर रुपमा सोच्नुपर्ने होला । मैले किन प्रतिस्पर्धा गर्ने अरु पदका लागि ? आजका दिनमा सभापतिका लागि मसँग मत छैन । महामन्त्रीभन्दा अर्को पदमा बस्नुपर्ने जरुरत देख्दिनँ मैले । अरु बाँकी काम त मलाई जसले पनि लगाएकै छन् ।

 यो समूहबाट सभापतिको एकजना मात्र उम्मेदवार हुन्छ भन्नेमा कति प्रतिशत विश्वस्त हुनुहुन्छ ?

अलिअलि आत्तिन थालेको छु ।

संस्थापन इत्तर पक्षका नेताहरु जोडिएनन् भने तपाईं शेरबहादुर देउवा टीममा जोडिने सम्भावनाचाहिँ छ कि छैन ?

छैन । तर, म शेरबहादुर देउवासँग सहजरुपमा कुरा गर्न सक्छु । शेरबहादुर देउवासँग मेरो सम्बन्ध तिक्ततापूर्ण छैन । बेग्लाबेग्लै समूहमा छौं । तपाईंलाई सभापतिमा भोट हाल्दिनँ भन्दा पनि उहाँ र मेरो झगडा पर्दैन । एउटा स्नेहको भाव उहाँसँग छ । मेरो पनि उहाँप्रति सम्मानको भाव छ । अलिअलि कृतज्ञताको भाव पनि छ । उहाँसँग जोडिएर राजनीतिमा एउटा तहसम्म पुगेको छु । तर यसका बाबजुद म उहाँसँग जोडिएर मेरो उम्मेदवारीलाई पृष्ठपोषण गर्ने के आधार छ ? थप आधार त केही हुँदैन । बरु भोलि निर्वाचित भएपछि काम गर्नका लागि सहज होला । आजको दिनमा मैले उहाँकै समूहमा बसेर उम्मेदवार हुँदा मेरो उम्मेदवारी बलियो हुने केही पनि आधार देखेको छैन । त्यसैले उहाँसँग जोडिनुपर्ने आवश्यकतै देख्दिनँ ।

डा. शशांक कोइराला र डा. शेखर कोइरालाबीच भएको सहमति तपाईंले भाँडिदिनुभयो भन्ने चर्चा छ नि ? खास कुरा के हो ?

दुईवटा कोइरालामध्ये मेरो प्राथमिकता छ कि छैन भन्दा दुबै कोइरालासँग छ भनेको छु । सँगसँगै दुईवटै कोइरालालाई मेरो प्राथमिकता म्याटर गर्छ त ? त्यही कोइरालाले अर्को कोइरालालाई उम्मेदवार हुनुपर्छ भनेको दिनमा मैले एउटा कोइरालालाई बढी मन पराएको थिएँ, तपाईं कहाँ हुन्छ त भन्दिनँ । तर, मेरो प्राथमिकताले अर्थ राख्दैन ।

अर्को कुरा, दुई कोइराला मिलाउन मेरो भूमिका हुन्छ कि हुँदैन ? कसैलाई लाग्छ मेरो भूमिका हुन सक्छ भन्ने । मलाई पनि भूमिका हुन्छ भन्ने लाग्छ । तर, त्यो भूमिका खोजी अहिलेसम्म गर्नुभएको छैन । उहाँले नखोजिकन मैले हतार गर्ने कुरा पनि भएन । कोइरालालाई अलग बनाउने मेरो कुनै अभिरुचि पनि छैन, कुनै भूमिका पनि छैन । म फेरि पनि भन्छु– मेरो प्राथमिकता छ । मेरो प्राथमिकता छ भन्ने कुरा उहाँहरुलाई पनि थाहा छ । आम रुपमा पनि थाहा छ । मेरो प्राथमिकताभन्दा फरक निर्णय गर्नुभयो भने पनि त्यो निर्णय मेरा लागि स्वीकार्य छ । होइन, त्यो निर्णय गर्नुभएन र कुनै एउटा कोइराला उम्मेदवार बनाउनका लागि अथवा हाम्रो समूहकै एउटा उम्मेदवार बनाउनका लागि  मेरो भूमिकाको  अपेक्षा नेताहरुले राख्नुभएको छ । दुई कोइराला मात्र होइन, रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि यो समूहको एउटा मात्र उम्मेदवार बनाउनका लागि मिनेन्द्र रिजालको पनि भूमिका हुन सक्छ । मिनेन्द्र रिजाल मुख्य भूमिका खेल्नेमध्येको एउटा पर्छ भन्ने अपेक्षा राख्नुभएको छ । म त्यो अपेक्षाअनुसार काम गर्न पनि तयार छु । तर अहिले आफैं मिलेर बनाउँछु भन्नुभएको छ । उहाँलाई यो काममा सहयोग गरौं न भन्दै दौडिएर जानु उचित हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप