शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले केन्द्रीय सदस्यमा कोमल वलीको उम्मेदवारी

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : ४०
बिहीबार, ०९ मङ्सिर २०७८

चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् ।

दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । ‘म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु’ वली रातोपाटीसँग भनिन् । वलीले विभिन्न चार उद्देश्यका साथ आफूले उम्मेदवारी दिने निर्णय लिएको जानकारी दिइन् ।

उनले आफ्नो पहिलो उद्देश्य केपी ओलीको नेतृत्वलाई सक्षम बनाउने र  दोस्रो उद्देश्य पार्टीलाई सम्मृद्ध बनाउने रहेको बताइन् । उनले आफ्नो तेश्रो उद्देश्य राजनीतिक रुपान्तरणका लागि पार्टीले खेल्ने भूमिका सशक्त बनाउने रहेको बताइन् ।

राजनीतिलाई गतिशील बनाउने उद्देश्यले समेत महाधिवेशनमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।  वलीले आफु आवाजविहीनहरुको आवाजको रुपमा समेत महाधिवेशनमा प्रस्तुत हुने बताइन् । ‘आफ्नो वर्ग, समुदाय, युवाको आवाज र आवाजविहीनहरुको आवाज बनेर महाधिवेशनमा प्रतिनिधित्व गर्नेछु’ उनले थपिन् ।

एमालेमा कुनै पक्ष विपक्ष नभएको तर्क राखेकी वलीले व्यक्तिगत रुपमा कसैले अध्यक्ष पदमा उम्मेदवारी दिएपनि आफूले भने केपी ओलीलाई समर्थन गर्ने स्पष्ट पारिन् । ‘सबै नेताहरुको मनोविज्ञान केपी ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्छ भन्ने छ । मेरो पनि त्यही धारणा हो,’ वलीले भनिन्, ‘सबैलाई उहाँकै नेतृत्व सर्वस्वीकार्य पनि हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप