बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वडा कार्यालयमा चार महिनादेखि ताला, सरोकारवाला मौन

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : ३१
बिहीबार, ०९ मङ्सिर २०७८

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा चार महिनादेखि तालाबन्दी भए पनि सरोकारवालाले कार्यालय सूचारु गर्न चासो देखाएका छैनन् । वडा कार्यालयमा अनियमितता भएको भन्दै स्थानीयवासीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएर ४ महिनादेखि तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयमा भएको तालाबन्दीबाट सेवाग्राहीहरु समेत मारमा परेका छन् । तालाबन्दी गरिएको महिनौँ बित्दा समेत कार्यालय सूचारु गर्न पहल नभएको भन्दै स्थानीय दीपेन्द्रकुमार मण्डलले गुनासो गरे । उनले वडामा काम नै नभएका योजनाको समेत भुक्तानी भएको देखेपछि स्थानीयहरुले हरहिसाब सार्वजनिक गर्न माग गर्दै वडा कार्यालयमा ताला लगाएका थिए ।

धनौजीमा स्थानीय सरकार आएदेखि पहिलो वर्षमा ५० लाख, दोस्रो वर्षमा १ करोड र तेस्रो वर्षमा ९५ लाख रुपैयाँ बजेटको सिलिङ गरिएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा २ करोडको बजेट सिलिङ गरिएको थियो । छुट्याइएको बजेट अनुसार काम नभएको स्थानीयवासी सन्तोषकुमार मण्डलको आरोप छ । आधा काम सम्पन्न गरेर पूरै भुक्तानी भई सकेको योजनामा समेत फेरि बजेट छुट्याइएको उनले बताए ।

वडाहरुको कामको हरहिसाब सार्वजनिक गर्न माग राख्दै गाउँपालिका अध्यक्ष बद्री सिंहलाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनवाई नभएको स्थानीय अशोक मण्डलले बताए । गाउँपालिका अध्यक्षका साथै प्रमुख जिल्ला अधिकारी समेतले चासो नलिएपछि आफूहरुले वडामा ताला लगाएको उनको भनाइ छ ।

वडा नम्बर ४ का वडाध्यक्ष कलिम साफीले आफूहरुमाथि निराधार आरोप लगाएर तालाबन्दी गरिएको गुनासो गरे । उनले ताला लगाउनेहरु समेतले उपभोक्ता समिति बनाएर काम गरेको दाबी गर्दै काम गरेर पनि भुक्तानी नपाएकाहरुलाई भुक्तानी पाउने वातावरण बनाएकै कारण रिसमा तालाबन्दी गरेको प्रतिक्रिया दिए । वडाध्यक्ष साफीले चाँडै नै ताला खोलाउने वातावरण निर्माण गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप