शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : १९
बिहीबार, ०९ मङ्सिर २०७८

राष्ट्रिय मानवअधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । आयोगले ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने घरेलु नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको अवसर पारेर आयोगले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेको हो । आयोगले यस अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वानसमेत गरेको छ ।

विभिन्न समाचार माध्यम र आयोगमा प्राप्त महिला हिंसासम्बन्धी उजुरीको आधारमा विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेको भन्दै आयोगले घरभित्र हुने महिला हिंसाको अन्त्य हुन सकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने पनि उल्लेख गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले महिला हिंसाको अवस्था, स्वरुप, कारण र न्यूनीकरणका उपायलगायतका विषयमा केन्द्रित भएर अनुगमन÷अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने पनि जनाएको छ ।   आयोगले घरेलु हिंसाको न्यूनीकरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका खेल्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप