बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा प्रदेश १ बाट २५ हजार कार्यकर्ता सहभागी हुने, ४५० वटा सार्वजनिक गाडी प्रयोग

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : ०९
बिहीबार, ०९ मङ्सिर २०७८

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन प्रदेश १ बाट २५ हजार नेता तथा कार्यकर्ता ओसार्न ४५० वटा गाडी प्रयोग गरिएको छ । चितवनमा हुने महाधिवेशनमा सहभागी हुने नेता तथा कार्यकर्ता  ओसार्न थप २०० भन्दा बढी निजी गाडी पनि प्रयोग गरिएको छ ।

प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापाबाट मात्रै ३०० भन्दा बढी सार्वजनिक गाडी प्रयोग गरिएको छ । एमालेका १ नम्बर प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेशभरिबाट महाधिवेशनका लागि २५ हजार कार्यकर्ता सहभागी हुँदैछन् ।

‘चितवनको महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला–जिल्लाबाट हिँडिसक्नु भएको रिपोर्ट आइरहेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘सहभागीहरुलाई लैजान सम्बन्धित जिल्लाका पालिकाले गाडीको व्यवस्थापन गरेका छन् ।’ चितवनमा हुने महाधिवेशनमा सहभागी हुने कार्यकर्तालाई लिएर ४५० गाडी चितवनतर्फ प्रस्थान गरेको अहिलेसम्मको रिपोर्टिङ रहेको उनले सुनाए ।

झापा ट्राफिक प्रहरीका अनुसार एमाले महाधिवेशनमा सहभागी हुने कार्यकर्ता बोकेर अहिलेसम्म मेची राजमार्गबाट ठुला तथा साना गरी ९० वटा सवारी साधन चितवनतर्फ प्रस्थान गरेका छन् ।

प्रदेश १ बाट २९८ महाधिवेशन प्रतिनिधि

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ बाट २९८ महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबैभन्दा धेरै ५७, झापाबाट ४९ सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुङ्गाबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९÷९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुखुम्बुबाट ७, पाँचथरबाट ८, ताप्लेजुङबाट १३ र मजदुर कोटाबाट ७, प्रदेश कमिटीबाट मनोनित गरी कुल २९८ चुनिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप