बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको अध्यक्षतामा मधेसी सहिद प्रतिष्ठान गठन, चारजना नियुक्त

बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ५८
बिहीबार, ०९ मङ्सिर २०७८

प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठनसँगै चार जनालाई निर्देशक समितिको सदस्यमा नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको कार्यकक्षमा आयोजित कार्यक्रममा मन्त्री भरतप्रसाद साहले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगायतमा सहिद भएका परिवार तथा घाइतेहरूको हकहितलाई ध्यानमा राख्दै मधेसी सहिद प्रतिष्ठान गठन गरिएको जनाएका हुन् ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री साह अध्यक्ष रहेको प्रतिष्ठानमा मधेस आन्दोलनका सहिद परिवारका दुई सदस्य र जनयुद्धमा सहिद भएका परिवारका दुई जना गरी चार जनालाई नियुक्त गरिएको छ । मधेस आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई नियुक्त गरिएको छ । जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको छ ।

मधेसी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधन २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । प्रतिष्ठानमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

सहिद परिवारका तर्फबाट नियुक्त भएका चार जनालाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र उनीहरुका छोराछोरीलाई छात्रवृत्तिलगायतका व्यवस्था अविलम्ब गर्न नवनियुक्त सदस्यहरुलाई निर्देशन दिए । उनले मुलुकमा सहिदकै रगतले आमुल परिवर्तन भएकाले सहिद परिवारलाई रोजगारीलगायतका व्यवस्थासहितमा गम्भीर भएर लाग्नसमेत उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप