शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जहाजको पाङ्ग्रा नखुल्दा आकाशमै फनफनी, धावनमार्गमा स्याल र बँदेलको परेड !

बिहीबार, ०९ मङ्सिर २०७८, ०९ : १०
बिहीबार, ०९ मङ्सिर २०७८

यतिखेर नेपाली हवाई उड्डयन क्षेत्रमा रुकुम (सल्ले) पुर्‍याउनुपर्ने जहाज पाइलटले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको घटना निकै चर्चामा छ । गत मंगलबार काठमाडौंबाट रुकुमस्थित सल्ले विमानस्थलतर्फ उडाइएको नेपाल एयरलाइन्सको जहाज पाइलट पेम्बा शेर्पाले ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमानस्थलमै अवतरण गराइदिए र भने ‘मेरो ड्युटी सकियो’ । यो हल्ला क्षणभरमै सबैतिर फैलियो ।

यो त नेपाली हवाई उड्डयन क्षेत्रमा भएको लापरवाहीको एउटा प्रतिनिधि घटनामात्रै हो । पछिल्लो समय यस्तै खालका एकपछि अर्का लापरवाही भइरहेको छ । लापरवाही र मनमौजी बढिरहँदा हवाई सेवा प्रदायक कम्पनी र नियामक सख्त व्यवहार देखाउनुको साटो घटनालाई सामसुम पार्ने ध्याउन्नमा देखिन्छन् । यो सामग्रीमा हालसालै नेपाली हवाई उड्डयन क्षेत्रमा घटेका लापरबाहीका यस्तै घटनाहरू प्रस्तुत गरेका छौँ :

जब जनकपुर जानुपर्ने जहाज पोखरा पुग्यो

२०७७ पुस ४ गते बुद्ध एयरको उडान नम्बर ६०७ नम्बरको जहाज नियमित उडानमार्फत यात्रु बोकेर जनकपुरतर्फ उड्यो । तर, जहाज सो दिन जनकपुर नगएर पोखरातर्फ हान्नियो । 

जनकपुर गन्तव्य भएका यात्रुहरूले तब आफूहरू पोखरा आइपुगेको चाल पाए, जब विमान परिचारिका (एअरहोस्टेस) ले ‘अहिले हामी पोखरा विमानस्थलमा अवतरण गरेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ,’ भनिन् । जहाजमै होहल्ला मच्चियो, तत्काल एयरहोस्टले चालकदललाई यात्रुले गरेको विरोधबारे जानकारी गराइन् । तब, तत्काल पोखराबाट जनकपुर सीधा उडान अनुमति मागियो र जहाज जनकपुर हानियो ।

यस घटनामा भएको के थियो भने, जहाजको गन्तव्य पोखरा नै थियो । तर, बुद्ध एअरले सो जहाजमा जनकपुर जाने यात्रुलाई राखिदियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुद्धकै ग्राउन्ड ह्यान्डलिङका कर्मचारीको लापरबाहीका कारण जनकपुर जानुपर्ने यात्रुलाई पोखराको जहाजमा चढाइएको थियो ।

जब जहाज र बँदेल जुधे

अर्को घटना सीता एयर र बँदेलको हो । गत जेठ २६ गते नेपालगञ्जबाट १४ यात्रुसहित ९० किलोग्राम कार्गो (सामान) बोकेर सीता एयरको जहाज हुम्लाको सिमीकोटतर्फ उड्दै थियो । उड्ने क्रममा धावनमार्ग (रन–वे) मा जहाज बँदेलसँग ठोकिन पुग्यो । जहाज पूर्ण रूपमा ग्राउन्डेड भयो । यो घटनालाई लिएर सबैले हाँसोमजाक गरे । विमानस्थल सुरक्षामा भएको यस्तो लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा धेरैले सरकारमाथि व्यंग्य कसे । ‘बँदेललाई उद्दार गरी उपचारका लागि हस्पिटल पठाउने व्यवस्था गरियोस् सरकार’ भन्नसम्म भ्याए ।

चक्का नखुलेपछि जहाज आकाशमै फनफनी

बुद्ध एयरको ९ एनएएनआई एटीआर कल साइन जहाज गत असोज ११ गते काठमाडौंबाट विराटनगरतर्फ उड्दै थियो । विराटनगर विमानस्थल नजिकिँदै गर्दा पाइलटले जहाजको पाङ्ग्रा (ल्यान्डिङ गियर) खोल्न स्वीच अन गरे । तर, इन्डिकेटर (संकेत गर्ने लाइट) ले पाङ्ग्रा खुलेको संकेत नै गरेन ।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि पाइलटले पुनः जहाज काठमाडौँ नै फर्काए । काठमाडौंको आकाशमा पनि पाइलटले पाङ्ग्रा खोल्न स्वीच अन गरे । अझै पाङ्ग्रा खुलेको संकेत इन्डिकेटरले गरेन । पाइलटले जहाजलाई आकाशमै १०–१२ फन्का घुमाइरहे ।

अब त अति भयो भनेर पाइलटले ‘मेरो जहाजको पाङ्ग्रा खुले÷नखुलेको हेरिदेऊ न!’ भनी विमानस्थलसँग हारगुहार मागे । जहाजको पाङ्ग्रा खुलेको रहेछ, पाइलटले अवतरण गराए । जहाजमा भएका सबै यात्रुहरू निकै आत्तिएका थिए । जहाज अवतरण नहुँदै हल्ला चारैतिर फैलिसकेको थियो । विमानस्थलमा सुरक्षाकर्मीहरू तैनाथ गरिसकिएको थियो । धन्न ! कुनै अप्रिय घटना घटेन ।

भएको के रहेछ भने, जहाज विराटनगर पुगेर ल्यान्ड गर्ने बेला पाइलटले ल्यान्डिङ गियर खुलेको÷नखुलेको थाहा नै पाएनछन् । प्राविधिक समस्याका कारण इन्डिकेटरले जहाजको अघिल्लो पाङ्ग्रा खुलेको या नखुलेको केही पनि संकेत नदिएपछि पाइलट अलमलमा परे । खासमा पाङ्ग्रा खुलेको रहेछ ।

यद्यपि, घटनामा चालकलाई नै दोषी देखाइयो । अहिले पनि यो घटना अध्ययनकै विषय छ । तर, घटना निकै रोचक र चर्चाको विषय बन्यो ।

ड्यूटी सकिएको भन्दै रुकुम पुग्ने यात्रुलाई नेपालगञ्ज

नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले गत सोमबार उडाएको ट्वीनअटर जहाजको गन्तव्य थियो– पश्चिम रुकुमको सल्ले विमानस्थल । तर, पाइलट शेर्पाले नेपालगञ्ज विमानस्थलमै जहाज अवतरण गराइदिए ।

उडिरहेको जहाज र अवतरण गर्नुपर्ने सल्ले विमानस्थलमा कुनै समस्या थिएन । जहाजका यात्रुहरू गन्तव्यमा पुग्नेमा ढुक्क थिए । तर, पाइलटले आफ्नो ड्युटी आवर (काम गर्ने अवधि) सकिएको भन्दै नेपालगञ्जमै जहाज रोकिदिएपछि यात्रुहरू अलमल्ल परे । उनीहरूले पाइलटको सो व्यवहारको विरोध गरे । चौतर्फी आलोचना भयो ।

उड्डयन तालिका व्यवहारिक बनाउन वा पाइलटमाथि कडिकडाउ गर्नुपर्ने नेपाल वायुसेवा निगमले नै घटनालाई सामसुम पार्न खोजेको छ । निगमले विज्ञप्ति निकाल्दै उक्त जहाज सल्ले पुग्दा बेलुकी ५ बज्ने, तर जहाजको चालकदल सहितका अन्य कर्मचारीको ड्यूटी समय ४ बजेसम्मको मात्र भएकाले समय पाबन्दीका कारण बाध्यताले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा पुगेको उल्लेख गरेको छ ।

एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमको दाबी छ । एकाबिहानैदेखि काठमाडौँमा रोकिएका अकुपेन्सी (सेवाग्राही) लाई घर फर्काउनुभन्दा नेपालगञ्जसम्म भनेपनि पुर्‍याउने उद्देश्यले निगमले उडानको निर्णय लिएको समेत उल्लेख गरेको छ ।

तर, अन्य हवाई कम्पनीमा कार्यरत पाइलटहरूले भने यसमा निगम र पाइलट दुवैबाट लापरवाही भएको, यात्रुहरूलाई गन्तव्यमै नपुर्‍याई बीचमै छाड्नु अव्यवहारिक भएको र पाइलटले उडान समय बढाएर भएपनि गन्तव्यमा पुर्‍याउनुपर्ने अभ्यास रहेको बताइरहेका छन् ।

७२ सिटे जहाजलाई स्यालको चुनौती

वरपरका झाडी सफा नगर्दा र सुरक्षाका उपाय नअपनाउँदा विमानस्थलमा जोखिम निम्तिन्छ, जहाज दुर्घटनामा पर्नसक्छ र जनधनको क्षति हुनसक्छ भन्ने ज्ञान सबैसँग छ । तर, यो ज्ञान भएर पनि आवश्यक सजगता नअपनाउँदा बुधबार बेलुकी पनि नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान र स्याल एकआपसमा ठोक्किए ।

बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको ७२ सिटे जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको हो । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्ध एयरका सञ्चालक वीरेन्द बस्नेतले विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप