मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी किनारमा एमाले महाधिवेशनको चटारो : रातभर यसरी हुँदैछ काम (फोटोफिचर)

स्टेज र हल निर्माणमै ९० लाख खर्च, २४ सै घण्टा सुरक्षाकर्मीको पहरा
बुधबार, ०८ मङ्सिर २०७८, २२ : ४४
बुधबार, ०८ मङ्सिर २०७८

नारायणगढस्थित नारायणी नदी किनारको लमतन्न मैदान । जहाँ एमालेको १० औँ महाधिवेशनको भव्य उद्घाटनका लागि मञ्च निर्माण गर्ने चटारो छ । रातोपाटी टीम बुधबार राति १० बजे नारायणी किनारमा भइरहेको मञ्च निर्माणस्थल पुग्दा ४० जना हाराहारीमा कालिगडहरू धमाधम स्टेज निर्माण खटिएका देखिन्थे । कोही होर्डिङ बोर्ड मिलाउन व्यस्त थिए त कोही सजावटमा खटिएका थिए । यस्तै महाधिवेशनमा प्रदर्शनका लागि विभिन्न सजावट पनि बनाइँदै थियो । यहीबीचमा ठेकेदार राजकुमार पटेर कालिगडलाई छिटो काम सक्नुपर्ने बाध्यता रहेको भन्दै भटाभट काम गर्न निर्देशन दिइरहेका थिए । उनी भन्दै थिए–कुनै पनि हालतमा बिहीबार बेलुकासम्म काम सक्नुपर्छ । पटेलका अनुसार मुख्य स्टेज निर्माणका लागि गत मङ्सिर ५ गतेदेखि दैनिक ४० जना कालिगड खटिएका छन् । बुधबार बेलुकासम्म ७० प्रतिशत स्टेज निर्माणको काम सम्पन्न भएको र बाँकी भोलि बेलुकासम्म सकिसक्ने उनको भनाइ छ ।

स्टेज बनाउन ९० लाख खर्च

पटेलका अनुसार मुख्य स्टेजसहित  सौराहा बन्दसत्र सञ्चालन हुने हलसमेत निर्माणमा करिब ९० लाख खर्च आउने देखिएको छ । उनले यसमा अझै केही रकम घटबढ हुन सक्ने रातोपाटीलाई बताए । स्टेज डेकोर सर्भिसका सञ्चालक पटेलले मञ्च निर्माणको काम आफ्नो कम्पनीले पाएको र यसबाहेकपनि लाइटिङलगायतको अन्य सजावटको काम पनि छुट्टै हुने बताए । यसका लागि लाखौँ खर्च हुने अनुमान छ ।

स्टेज निर्माणमा स्टेज डेकोर सर्भिसका कालिगडबाहेक नेकपा एमालेका स्वयंसेवक दस्ता पनि खटिएका छन् । एमालेको ट्रेड युनियन महासंघ जिफन्टका पूर्वउपाध्यक्ष तथा स्वयम् समितिका सदस्य जितेन्द्र श्रेष्ठका अनुसार मञ्च निर्माणलगायत व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको बताए । उनले त्यसका लागि रातभर ३०० को हाराहारीमा स्वयंसेवक समेत खटिएको बताए । उनले मञ्चलाई भव्य बनाउन साउन्ड सिस्टम, लोगो बिहीबार राखेपछि तयारी लगभग अन्तिम चरणमा पुग्ने रातोपाटीलाई बताए । उनका अनुसार तीन तहमा अतिथि बस्नेगरि मञ्च निर्माण गरिएको छ । जसमा मुख्य मञ्चको दायाँ र बायाँ केन्द्रीय सदस्यहरू, बीचमा स्थायी समितिसहित शीर्ष नेताका साथै विदेशी अतिथि समेत बस्ने गरी व्यवस्था मिलाइएको छ ।

कार्यक्रमस्थल क्षमता ५ देखि ७ लाख

उद्घाटन सत्रका लागि छनौट भएको कार्यक्रमस्थल विशाल रहेको छ । जहाँ ५ देखि ७ लाख सहभागी अटाउने आयोजकको दाबी छ । उसो त नेकपा एमालेले महाधिवेशनको उद्घाटनका लागि देशभरबाट कार्यकर्ता उतार्ने तयारी गरेको छ भने सो पार्टीले ५ लाखको सहभागिता हुने दाबी गरेको छ । त्यसका लागि देशभरबाट कार्यकर्ता चितवनमा उतार्दैछ ।

मञ्चलाई सुरक्षाकर्मीको पहरा

मञ्च निर्माणको काम सुरु भएसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीले २४ सै घण्टा सुरक्षा प्रदान गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी झण्डै दुई दर्जन सुरक्षाकर्मी मञ्च निर्माणस्थलमा खटिएका छन् ।

तस्बिर सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप