आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा

बुधबार, ०८ मङ्सिर २०७८, १८ : ०९
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा आयोजना गरिने भएको छ । संघीयता कार्यान्वयनमा आएपछि पहिलो पटक प्रादेशिक समिति गठनको तयारीस्वरुप काँग्रेसले नयाँ नेतृत्व चुन्नलाई मङ्सिर १६ गते प्रदेश अधिवेशन हुँदैछ । 

बुधबार बसेको आयोजक समितिको बैठकले काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनको उद्घाटन सत्र विराटनगर–२ शङ्करपुरमा रहेको खाली मैदानमा हुने छ । काँग्रेस प्रथम प्रदेश अधिवेशन प्रचार समिति संयोजक तथा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आज पत्रकार सम्मेलन गर्दै अधिवेशनको बन्दसत्र भने विराटनगर–९ जहदा रोडमा रहेको सिद्धी पार्टी प्यालेसमा हुने बताए । 

अधिवेशनमा प्रदेशभरबाट एक हजार सात सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनका लागि खर्च मात्रै करिब एक करोड हुने अर्थ सङ्कलन समिति संयोजक एवं मोरङ सभापति डिगबहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार अधिवेशनमा सहभागी प्रतिनिधिबाट दर्ता शुल्क प्रतिव्यक्ति दुई हजारका दरले उठाइने छ । सम्मेलनमा सहभागी प्रतिनिधिबाट ३२ लाख हाराहारी सङ्कलन हुने बताउँदै अन्य खर्च व्यवस्थापन गरिने बताए । 

अधिवेशनमा २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले सात सय, ५६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट सभापति र १७ जना प्रदेश प्रतिनिधिका दरले नौ सय  ५२ जना, १९ जना केन्द्रीय सदस्य र भातृ र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधि सहभागी हुनेछन् । 

अधिवेशन आयोजनाका लागि केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको नेतृत्वमा आयोजक समिति गठन भएको छ ।

प्रथम अधिवेशन सिटौलाले नै गर्नेछन् । प्रत्येक जिल्लामा रहेका प्रदेश सभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।

सभापतिमा पाँच आकांक्षी

सत्तारुढ नेपाली काँग्रेसमा प्रदेश चुनावका लागि सभापति देउवा र उनी इतरका समूहबाट गरी पाँच जना आकाङ्क्षी देखिएका छन् ।  संघीयता कार्यान्वयनमा आएपछि पहिलो पटक प्रादेशिक समिति गठनको तयारीमा रहेको काँग्रेस सभापतिका लागि सहमतिबाट टुङ्ग्याउन प्रयास भने जारी छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापनइतर समूहबाट प्रदेश नम्बर १ को सभापतिमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले सभापति उठ्ने घोषणा गरिसकेका छन् । त्यसैगरी सभापति देउवा पक्षबाट केन्द्रीय सदस्य नै रहेका मोरङका अमृत अर्याल पनि सभापतिको दौडमा छन् ।

उनीहरूबाहेक पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको निकट रहेका झापाका सुधीरकुमार शिवाकोटी र उद्धव थापा पनि प्रदेश सभापति पदका आकाङ्क्षी छन्। काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट मानिने सुनसरी पार्टी सभापति राजीव कोइराला पनि सभापतिका आकाङ्क्षी छन् । उनी काँग्रेस संसदीय दल प्रदेश प्रदेश १ मा नेता पनि हुन् । उनले आफ्नो उम्मेदवारी आगामी मङ्सिर १० गते घोषणा गर्ने जनाएका छन् ।

प्रदेश नम्बर १ कोइराला–पौडेल समूहको राम्रो प्रभाव छ । उनीनिकट प्रदेश १ संसदीय दलका नेता कोइराला पनि सभापतिका आकाङ्क्षी छन् । सुनसरी जिल्ला सभापतिका रूपमा दुई कार्यकाल बिताइसकेका उनले प्रदेश सभापतिमा दाबी गरिरहेका छन् । उनीसँगै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट झापाका शिवाकोटी र थापा पनि प्रदेश सभापति पदका आकाङ्क्षी छन् । उनीहरू दुवै जना दुई–दुई कार्यकाल झापा सभापति भइसकेका नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप