बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

बुधबार, ०८ मङ्सिर २०७८, १८ : ०३
बुधबार, ०८ मङ्सिर २०७८

गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषद्को बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो ।

प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्य संस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अवलम्बन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले गुरुङले बताइन् । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा सहिद तथा बेपत्ता, घाइते अपाङ्गता भएका व्यक्ति र परिवारको स्वास्थ्यको सुनिश्चितता सहित प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य नीतिमा समेटिएको उनको भनाइ छ। 

मन्त्री अधिकारीका अनुसार नागरिकको मौलिक हकका रूपमा कानुनमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता उल्लेख गरिएकाले यसलाई कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको भएकाले नयाँ नीति मार्फत अगाडी बढाइएको हो ।

सङ्घीयताको मर्म बमोजिम संघ र स्थानीय तहसँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आमनागरिकको पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ प्रदेश स्वास्थ्य नीतिबाट हुने छ ।

स्वास्थ्य नीतिमा बिमा लागु भएका अस्पतालहरूमा सार्वजनिक सुनुवाइ कार्यक्रम लागु गरी स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन संयन्त्र निर्माण गरी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।  प्रदेश भित्र पाइने विभिन्न जडीबुटीलाई उत्पादन गर्न प्रोत्साहन गर्ने समेत स्वास्थ्य नीतिमा उल्लेख गरिएको छ । प्रदेशमा विशेषज्ञ र विशिष्टीकृत (मुटु, मिर्गौला, कलेजो, क्यान्सर,मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच वृद्धि गर्दै लगिने समेत उल्लेख छ । 

त्यसै गरी मुख, नाक, कान, घाँटी र आँखा सम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गर्ने योजना रहेका छ । 

व्यक्तिको आयआर्जनका लागि पनि जडीबुटी उत्पादन तथा प्रशोधनलाई प्राथमिकतामा राखिएको  स्वास्थ्य मन्त्री अधिकारीले बताइन् । 

त्यसै गरी प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी र विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने कुरा नीतिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरूको प्रमुख स्थल भएकाले अन्तर्राष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रूपमा विकास गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना समेत अगाडी बढाइएको छ । 

त्यसै गरी किशोरीका लागि आइरन लगायतका आवश्यक औषधिहरू उपलब्ध गराउने लगायतका विषय पनि नीतिमा समावेश गरिएको छ । त्यसैगरि प्रदेश सरकारले एक पालिका एक ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप