शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

गुफामा लुकाएको पाँच करोड ब्यारेल तेल झिक्न बाइडेनको आदेश, के हो अमेरिकी तेल गुफा ?

बुधबार, ०८ मङ्सिर २०७८, १३ : ५८
बुधबार, ०८ मङ्सिर २०७८

विश्वभर तेलको बढ्दो मूल्य नियन्त्रण गर्न भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेल भण्डारबाट पाँच करोड ब्यारेल कच्चा तेल निकाल्न आदेश दिएका छन् । तरल इन्धन अत्यधिक खपत गर्ने चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत मुलुकसँग छलफल गरी बाइडेनले विशाल नुनिलो गुफामा अमेरिकाले लुकाइरहेकोमध्ये उल्लेखित परिमाणमा तेल निकाल्न मंगलबार आदेश दिएका हुन् । 

यतिखेर तेलको मूल्य विश्वभर बढिरहेको छ । अमेरिकी बजारमै कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.६५ अमेरिकी डलर पुगेको छ । आयातमा निर्भर र इन्धन आपूर्तिमा ठूलो रकम खर्च गर्ने मुलुकहरूमा व्यापार घाटा चुलिइरहेको छ । निर्यातक मुलुकहरूले नै तेलको मूल्य बढाउन साँठगाँठ गरेको आरोप छ ।

आगामी डिसेम्बर १५ भित्र पाँच करोड ब्यारेल तेल निकालेर तरल इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गरिने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जानकारी दिएको छ । सन् १९७३ मा अरब–इजरायल युद्ध (सिक्स डेज वार) हुँदा अमेरिकाले इजरायललाई सघाएको थियो ।

खाडी राष्ट्रहरूले तेल आपूर्ति बन्द गरेपछि अमेरिकाले सन् १९७५ मा सो विशाल तेल भण्डार खडा गरेको थियो । टेक्सस र लुजियाना राज्यबीच बनाइएका विशाल भूमिगत गुफाहरूमा अमेरिकाले ७० करोड ब्यारेल कच्चा तेल भण्डारण गरेको अनुमान छ । अमेरिकाले बनाएका ती गुफा संसारकै ठूला आपत्तकालिन इन्धन भण्डारणगृह हुन् ।

त्यसैको प्रतिशोधस्वरूप खाडी मुलुकहरू इराक, कुवेत, कतार र साउदी अरबले अमेरिकामा तेल निर्यात बन्द गरेका थिए । त्यतिखेर अमेरिकामा प्रतिब्यारेल तीन डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रतिब्यारेल पुगेको थियो । 

विशाल नुनिला गुफामा तेल भण्डारण गर्न अमेरिकी संसदले ऊर्जा नीति र संरक्षण कानून नै जारी गरेको थियो । अन्तरराष्ट्रिय ऊर्जा केन्द्र (आईईसी) ले पनि सदस्य राष्ट्रहरूलाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न अनुमति दिएको थियो । 

खाडी राष्ट्रहरूले तेल आपूर्ति बन्द गरेपछि अमेरिकाले सन् १९७५ मा सो विशाल तेल भण्डार खडा गरेको थियो । टेक्सस र लुजियाना राज्यबीच बनाइएका विशाल भूमिगत गुफाहरूमा अमेरिकाले ७० करोड ब्यारेल कच्चा तेल भण्डारण गरेको अनुमान छ । अमेरिकाले बनाएका ती गुफा संसारकै ठूला आपत्तकालिन इन्धन भण्डारणगृह हुन् ।

टेक्सासको फ्रिपोर्ट र विन्नी तथा लुजियानाका लेक चाल्र्स र बेटनरोगमा गरी अमेरिकाले चारवटा इन्धन गुफा बनाएको छ । जमिनको सतहभन्दा करिब एक किलोमिटर तलसम्म विस्तार गरिएका ती चारवटै गुफा मानवनिर्मित हुन् । तेल भण्डारण गर्न ती गुफामा अमेरिकाले सुरक्षित ट्यांकीहरू नै बनाएको छ । भौगर्भिक चाप र नुनको मिश्रणका कारण भूमिगत भण्डारण गरिएका तेल चुहिने सम्भावना निकै कम हुन्छ । 

भण्डारण गरिएको तेल अमेरिकाले प्राकृतिक विपत्ति, महामारी र राष्ट्रिय सुरक्षा संकट निम्तिएका बेला प्रयोग गर्ने गरेको छ । सन् २०१९ मा साउदी अरेबियाका मुख्य प्रशोधनस्थलमा हमला हुँदा पनि अमेरिकाले सो आपत्तकालीन भण्डारमा लुकाएको तेल प्रयोग गरेको थियो । त्यतिखेर राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भण्डारण गुफाहरूमा ६४ करोड ब्यारेल कच्चा तेल रहेको तथ्यांक सार्वजनिक गरेका थिए । 

ती गुफाबाट तेल निकाल्न अमेरिकी राष्ट्रपतिले नै आदेश दिनुपर्छ । राष्ट्रपतिले आदेश दिएपछि गुफाबाट तेल निकालिएको तेल बजारमा पुग्न कम्तिमा दुईसाता लाग्छ । गुफाबाट निकालेपछि तेल प्रशोधन गरिन्छ र त्यसपछि उपभोग निम्ति पठाइन्छ ।

इनर्जी इन्फर्मेशन एडमिनिष्ट्रेशन यूएसएका अनुसार सन् १९९१ मा भएको खाडी युद्धका बेला तत्कालीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुसले सो भण्डारको तेल प्रयोग गर्न आदेश दिएका थिए । बिल क्लिन्टन राष्ट्रपति रहेका बेला सन् १९९७ मा पनि दुई करोड ८० लाख ब्यारेल तेल खपत गरिएको थियो । सन् २०११ मा अरब मुलुकहरूमा फैलिएको आन्दोलन र गृहयुद्धका बेला पनि सो रिजर्भको तेल प्रयोग गरिएको थियो । सन् २०१७ मा ट्रम्प प्रशासनले पनि संघीय घाटा पूर्ति गर्न सो गुफाको आधा तेल बेच्नेबारे छलफल गरेको थियो । 

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप