शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदारका छोरा सुवास काँग्रेस पार्टीको निर्विरोध महाधिवेशन प्रतिनिधि चयन

बुधबार, ०८ मङ्सिर २०७८, १२ : ३०
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले आआफ्ना छोराछोरीलाई धमाधम पार्टीको महाधिवेशन प्रतिनिधि चयन गरिरहेका छन् । पछिल्लो पटक उपसभापति विजयकुमार गच्छदारले पनि पुत्र मोह देखाएका छन् । उनका कान्छा छोरा सुवास गच्छदार नेपाली कांग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं ६ बाट मधेशी कोटाबाट सुवास निर्विरोध चयन भएका छन् । डा शेखर कोइरालालाई नेता गच्छदारले छोरालाई निर्विरोध निर्वाचित गराई दिन आग्रह गरेका थिए । त्यसपछि कोइरालाको पहलमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।

अध्ययनको सिलसिलामा अमेरिकाको लामो बसाइ टुंग्याएर सुवास नेपाल आएर पिताले गठन गरेको फोरम लोकतान्त्रिक पार्टीको राजनीतिमा प्रत्यक्ष संग्लग्न भएका थिए । फोरम लोकतान्त्रिक पार्टी काग्रेससंग एकीकरण भएपछि ४० बर्षिय सुवास महासमिति सदस्य रहेर कांग्रेसको राजनीतिमा सक्रिय थिए । 

‘मूलतः परिवारका सबैजना राजनीतिमा आबद्ध हुनुहुन्छ,’ इन्जिनियरिङ पेशामा आबद्ध सुवासले भने,‘यदि निर्विरोध नभएको भए चुनावी प्रतिस्पर्धामा जाने योजना पनि थियो ।’ उनले बुवाले राजनीतिमा लाग्न हौसला दिएको बताउँदै अमेरिका हुँदा पनि नेपाल फर्किन पटक पटक बुवाले आफूलाई आग्रह गरेको बताए ।

मोरङ र सुनसरीमा कांग्रेसभित्रको आन्तरिक राजनीतिमा गच्छदार पक्ष बलियो छ । गच्छदारलाई नेता शेखर कोइरालाको साथ रहँदै आएका छ ।यता नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र १, २, ३, र ६ मा कोइराला र देउवा समूह प्यानल बनाएर निर्वाचनमा भिडेका छन् । अहिले ती क्षेत्रको मतगणनाको कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । 

निर्वाचन क्षेत्र नम्बर ५ मा सभापतिलगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । क्षेत्र नम्बर ५ का सभापतिलगायत अधिकांश महाधिवेशन प्रतिनिधि देउवा समूहका छन् । क्षेत्रीय सभापतिमा जीवछप्रसाद गच्छदार, सचिवद्वयमा वीरेन्द्र साह र मोहम्मद फैयाज, सहसचिवद्वयमा हरिप्रसाद ठाकुर र रोशन आलम तथा महाधिवेशन प्रतिनिधिमा राजेश गुप्तालगायत २४ जना सर्वसम्मत चयन भएका हुन् । जिल्ला निर्वाचन अधिकृत कार्कीले क्षेत्र नम्बर १ मा सभापति सचिव सहितका पदाधिकारी सर्वसम्मत छानिए पनि अन्य पदमा चुनाव भएकाले मत गणनाको काम भइरहेको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप