बेलायतमा बढ्दै कोरोना संक्रमण, युरोपमा लकडाउन
कोरोनासंक्रमणको तीनवटा लहर पार गरिसकेको बेलायतमा अहिले पनि संक्रमण दर उच्च छ । पछिल्लो एक महिनायता दैनिक संक्रमित संख्या लगातार ३० हजार भन्दा बढी छ भने केहि दिनयता दैनिक ४० हजार भन्दा बढी संक्रमित भइरहेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार आइतबार ४० हजार भन्दा बढी संक्रमित भएका थिए । सोमबार ४४ हजार भन्दा बढी रहेकोमा मंगलबार थप ४२ हजार ४८४ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमितको संख्या झन्डै एक करोड पुग्न लागेको छ । मंगलबारसम्मको तथ्यांक अनुसार यहाँ ९९ लाख ३२ हजार ४०८ जना संक्रमित भइसकेका छन् ।
चिसोको प्रभाव बढ्दै गएपछि युरोपका कतिपय भागमा लकडाउन सुरु भइसकेको छ भने अन्य भागमा पनि लकडाउन हुने सम्भावना बढेको छ । विशेषगरि पश्चिमी युरोपमा संक्रमणको प्रभाव अत्यधिक बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले यसअघि नै युरोप कोरोना संक्रमणको केन्द्रविन्दु बन्ने चेतावनी दिइसकेको छ ।
अष्ट्रियाले २२ नोभेम्बरबाट राष्ट्रिय लकडाउनको घोषणा गरिसकेको छ । लकडाउन जारी गर्ने मुलुकमा अष्ट्रिया युरोपकै पहिलो मुलुक बनेको छ । कम्तिमा १० दिनको लागि जारी गरिएको लकडाउन २० दिनसम्म लम्बिन सक्ने अधिकारीहरुले बताएका छन् ।
उता बेल्जियममा दशौँ हजार मानिसहरुले लकडाउनविरुद्ध प्रदर्शन गरेका छन् । रसियामा पनि कोरोनाका मृतक संख्या अत्यधिक बढेको छ । जर्मनीमा कोरोना संक्रमण नियन्त्रण गर्न खोपलाई विशेष प्राथामिकता दिइएको छ । खोप नलगाएका नागरिकलाई सरकारले कडा नीति लागू गरिने चेतावनी दिएको छ । चेक रिपब्लिक, ग्रीस, फ्रान्स, स्वीडेन, स्लोभाकिया, इटाली, युक्रेनलगायतका मुलुकमा पनि नयाँ खालका प्रतिबन्धको तयारी भइरहेको छ ।
अमेरिकाद्वारा बढ्दो कोभिड–१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह
युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड(१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ जसलाई “लेभल फोर” सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ ।
सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् ।
बेलायतमा एक लाख ४४ हजार भन्दा बढीको मृत्यु
कोरोना महामारी शुरु भएयता बेलायतमा एक लाख ४४ हजार भन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । बितेको २४ घन्टामा थप १६५ जना कोरोना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक ४४ हजार १३७ पुगेको हो । संक्रमित संख्याको आधारमा मृतक संख्या भने निकै कम छ । यहाँ एकसातामा ९७८ जनाको ज्यान गएको छ जुन अघिल्लो साताको तुलनामा ५.५ प्रतिशतले कमी हो ।
बेलायतमा अहिले २७ प्रतिशत भन्दा बढीले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुष्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।
मंगलबारसम्मको तथ्यांक अनुसार यहाँ एक करोड ५६ लाख ३९ हजार ४७७ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घन्टामा तीन लाख भन्दा बढीले बुष्टर डोज लगाएका छन् । यसैगरी पाँच करोड ८ लाख ७३२ जना अर्थात ८८.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ६१ लाख ८६ हजार ८१७ जना अर्थात ८०.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन