पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता, १० वर्षपछि अजित प्रहरी नियन्त्रणमा

प्रकाश तिम्सिना
दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ । सुनसरीको साविक चाँदबेला -१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो ।
फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो । तत्कालीन भादगाउँ सिनवारी-६ (हाल रामधुनी- ५) बस्ने जैयस कुमार साहको घरमा १७ भदाै २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो । अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए ।
उनीहरू तीनै जनालाई जिल्ला अदालतले ११ असार २०७५मा जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए ।
उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
सुनसरी प्रहरीले अजितसँगै एकै दिन ४२ जना फरार आरोपीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४२ जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरिएको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भए पनि आरोपीहरू फरार रहँदै आएका थिए ।
लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको थियो । चार महिनाको अवधिमा सुनसरीबाट ५६५ जना फरार प्रतिवादीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूबाट ११९ वर्ष आठ महिना आठ दिन कैद भुक्तान र २६ लाख ७२ हजार ९०६ रुपैया जरिवाना असुल भएको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?