शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गहुँ छर्नेबेला मल नपाएर किसानलाई तनाव, पटक पटक टेण्डर रद्द

कृषि मन्त्रालयका सचिव भन्छन्, ‘मलको समस्या काबु बाहिर’
मङ्गलबार, ०७ मङ्सिर २०७८, १६ : ३५
मङ्गलबार, ०७ मङ्सिर २०७८

सिरहाका किसान वीरेन्द्र यादव डिएपी मलका लागि लहान, गोलबजार, मिर्चैया बजारसम्म पुगे । तर, मल कतै पाएनन् । एक ठाउँमा बल्लतल्ल मल फेला त पारे । तर, मूल्य सुनेर त्यतिकै रित्तो हात फर्केर आए । डीएपी मलको मोल सरदर २५–२६ सय रुपियाँ पर्छ । किसान यादव भन्छन्, ‘व्यापारीले बोराको ३५ सय रुपियाँ भनेपछि त्यतिकै फर्केर आएँ ।’ गहुँ छर्नेदेखि उखु लगाउने बेला भएको छ । तर, किसानहरुले खेतबारीमा हाल्न डीएपी मल पाइरहेका छैनन् । लुकाइएर राखेको दुइ चार बोरा मल फेला परे व्यापारीले बताएको भाउ सुनेर किसान तर्सिन्छन् ।
सरकारको मल गोदाम रित्तो छ । धनुषाका किसान महेन्द्र साह भन्छन्, ‘आलु र गहुँको खेत तयार भइसक्यो । तर, मल नपाएर त्यतिकै छाडेको छु ।’ उनले गत वर्ष भारतबाट लुकीछिपी मल ल्याएका थिए । तर यस वर्ष चोर बाटोबाट ल्याइए पनि अधिक महँगो पर्ने भएकाले आँट गर्न सकेका छैनन् ।
धान रोपाईंको बेला युरिया मलको हाहाकार भएजस्तै अहिले गहुँ छर्नेबेला डीएपीको हाहाकार छ । 

पटक पटक टेण्डर रद्द
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले मंगलबार आफ्नै सभाहलमा आयोजना गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तरक्रिया कार्यक्रममा अधिकाँश किसानले रासायनिक मलको अभावको कुरा उठाएका थिए । कार्यक्रममा सहभागी कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले रासायनिक मल ल्याउन गृहकार्य भइरहे पनि यसपालिको समस्या काबु बाहिर रहेको बताए । 

शर्माका अनुसार रासायनिक मलको मूल्य अन्तराष्ट्रिय रुपमा वृद्धि भएको छ, त्यसले गर्दा पटक पटक टेण्डर रद्द भइरहेको छ । तोकिएको समयमा मल आउन सकिरहेको छैन । कोरोनाका कारण मल उत्पादन र ढुवानीको समस्याले गर्दा मलको अभाव देखिएको छ । डीएपी मल कलकत्ता बन्दरगाह र नेपाल–चीन सीमामा रोकिएको छ । त्यहाँबाट आएपछि केही हदसम्म समस्या समाधान हुने शर्माले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप