बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नैनसिंह महरद्वारा १४ औँ महाधिवेशनका लागि १४ एजेण्डा सार्वजनिक

मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : २६
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले १४ औँ महाधिवेशनका लागि १४ एजेण्डा सार्वजनिक गरेका छन् ।  मंगलबार बिहान गृह जिल्ला डडेल्धुराबाट नेता महरले काँग्रेसको केन्द्रीय सदस्यका लागि आफ्ना १४ एजेण्डा सार्वजनिक गरेका हुन् ।

डडेल्धुरामा सोमबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा निर्वाचित भएसँग महरले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । आजबाट महाधिवेशन अभियान थालेको महरले बताए । महरले पार्टीको सांगठनिक सुधारका लागि  एक व्यक्ति एक पद दुई पटक मात्रको अवधारणा अगाडि सारेका छन् । पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्क र  रूपान्तरणका लागि युवा काँग्रेसको स्थापना आवश्यक रहेको महरले बताए । नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै पेस हुनुपर्ने उनको भनाइ छ । यस्तै निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार भन्ने महरको मुख्य नारा रहेको छ ।

यस्ता छन् १४ एजेण्डा
१) एक व्यक्ति एक पद दुई पटक मात्र

२) प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता

३) सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्कको स्थापना

४) बिपी विचारको समय सापेक्ष कार्यान्वयन

५) व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता

६) रूपान्तरणका लागि युवा काँग्रेसको स्थापना

७) नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै

८) लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुशल व्यवस्थापन

९)  योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान

१०) निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार

 ११) लगानी मैत्री वातावरण, उद्यमशीलता र स्वरोजगार, अर्थतन्त्रमा सुधार

१२) विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान

१३) कानुनी राज्य मानव अपधकार, सुशासन र सहभागिता

 १४) राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति

३० वर्ष लामो नेविसंघको राजनीतिबाट महर उक्त १४ एजेण्डा लिएर काँग्रेसको केन्द्रीय राजनीति प्रवेश गर्न लागेका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा निवासी महर विसं. २०४७ मा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भएका थिए । २१ वर्षको उमेरमा नेविसंघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष भए । २०५६ मा जिल्ला अध्यक्ष बने । ०५४ मा पार्टीको डडेलधुरा प्रचार विभाग उपप्रमुखका रूपमा काम गरे ।

महर २०५७ मा नेविसंघको केन्द्रीय सदस्य बने । ०६४ मा उपाध्यक्ष निर्वाचित भए । र, २०७३ सालको ११ औँ महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए ।​ ​नेविसंघबाट ०७५ माघमा राजीनामा दिएपछि महर अहिले खासै कार्यकारी भूमिकामा छैनन् । उनी ‘स्कूल अफ डेमोक्रेसी’ को अध्यक्षसमेत हुन् । त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) गरेका महरले पार्टीमा बौद्धिक र जुझारु युवा नेताको छवि बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप