शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : न्यायालयको विवादबारे बोल्न थाले नेताहरु, यस्तो छ एमाले दशौं महाधिवेशनको तयारी

सोमबार, ०६ मङ्सिर २०७८, २० : २३
सोमबार, ०६ मङ्सिर २०७८

आज २०७८ मंसिर ६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो; कार्यान्वयनमा भने अझै समय लाग्ने, एमालेको दशौं महाधिवेशनको निगरानीमा दुईवटा ड्रोन; यस्तो छ अन्य तयारी, ६० जिल्लामा काँग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन, न्यायालयको विवादबारे बोल्न थाले नेताहरु, चितवनमा ६ जना मन्त्रीको सहभागितामा प्रचण्डले गराए विकास बहस, राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने, एनआरएनएको वर्तमान कार्यसमिति विघटन लगायत छन् ।

१. गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो, कार्यान्वयनमा भने अझै समय लाग्ने
सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । तर, यो कार्यान्वयनमा आउन भने अझै करिब एक साता लाग्ने भएको छ । पेसी व्यवस्थापन निर्देशन समिति बनाउनका लागि मंगलबार फुल कोर्ट बस्ने भएको छ ।

गोला प्रथा सुरु गर्न सर्वोच्च प्रशासनले समेत आवश्यक तयारी गर्नुपर्ने भएकाले यो कार्यान्वयनमा आउन करिब एक साता लाग्ने जनाइएको छ । यसैबीच बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सोमबार पनि धर्ना कार्यक्रम जारी राखेको छ ।

२. एमालेको दशौं महाधिवेशनको निगरानीमा दुईवटा ड्रोन, यस्तो छ अन्य तयारी
नेकपा एमालेको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चितवनमा हुने महाधिवेशनका लागि आवश्यक तयारी करिब अन्तिम चरणमा पुगेको जनाइएको हो । मञ्च व्यवस्थापनदेखि लिएर बन्दसत्र आयोजना हुने स्थल, महाधिवेशनका लागि स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था लगायतका विषयमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । महाधिवेशनको निगरानीका लागि दुई वटा ड्रोन प्रयोग गरिने भएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत नेपाली काँग्रेसले सोमबार ६० जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गरेको छ । तीनवटा जिल्लाको अधिवेशन प्रक्रिया रोकिएको र १४ वटा जिल्लाको सम्पन्न भइसकेको अवस्थामा सोमबार ६० जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भएको हो ।

४. न्यायालयको विवादबारे बोल्न थाले नेताहरु
न्यायालयमा देखिएको विवादबारे राजनीतिक दलका नेताहरु धमाधम बोल्न थालेका छन् । न्यायालयभित्रको विवाद न्यायालयबाटै समाधान हुनुपर्ने भन्दै लामो समय मौन रहेका नेताहरु अब भने धमाधम आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । सत्तारुढ गठबन्धनका नेतादेखि लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेतासमेतले न्यायालयमा देखिएको विवादबारे अभिव्यक्ति दिएका छन् ।

५. चितवनमा ६ जना मन्त्रीको सहभागितामा प्रचण्डले गराए विकास बहस
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चितवनमा ६ मन्त्रीलाई सहभागी गराएर विकास बहस गराएका छन् । ‘समृद्ध भरतपुरको लागि विकास बहस’ नामक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री प्रेम आले, मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिलामन्त्री कृष्ण खनाल सहभागी थिए ।

६. राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने
राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको तयारीमा जुटेको छ । सो पार्टीबाट संघीय संसदमा प्रतिनिधित्व गर्दै आएका एकमात्र सांसद राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । युवा नेताका रुपमा परिचित उनले युवा पुस्तामाझ लोकप्रिय अर्का नेता धवलशमशेर जबरालाई साथ लिएर प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका हुन् । 

७. एनआरएनएको वर्तमान कार्यसमिति विघटन
गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमिति विघटन गरिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै कुमार पन्त नेतृत्वको वर्तमान कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको हो ।

८. विप्लवका कार्यकर्ताद्वारा आयल निगम घेराउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय संगठनले सोमबार नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनका क्रममा सोमबार उनीहरुले निगममा धर्ना तथा घेराउ गरेका हुन् । 

९. मंसिर १७ देखि मतदाता नामावली संकलन विशेष अभियान थाल्दै निर्वाचन आयोग
निर्वाचन आयोगले मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन विशेष अभियान थाल्ने भएको छ । आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म अभियान सञ्चालन हुनेछ ।

१०. पछिल्लो २४ घण्टामा ३८५ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । 

वाणिज्य बैंकहरुलाई मंसिर महिनाको सुरुवातमै झट्का लागेको छ । अघिल्लो हप्ताको तुलनामा महिनाको पहिलो हप्ता नै बैंकहरुको निक्षेप संकलन ७ अर्बले घट्न पुगेको हो । नेपाल बैंकर्स संघका अनुसार गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म २७ वाणिज्य बैंकले ७ अर्बले निक्षेप गुमाउँदै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

झापा र मोरङ जिल्ला पूर्वाधार र विकासले सुगम मानिए पनि यिनै दुई जिल्ला जोड्ने खोलामा रहेको पुल तर्दा पैसा तिर्नुपर्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर हुलाकी राजमार्ग अन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोला तर्दा स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको उपस्थिति थियो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप