शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नेताहरुसँग विप्लवले सोधे प्रश्न, माधवले गरे ओलीमाथि कटाक्ष

सोमबार, ०६ मङ्सिर २०७८, १८ : १४
सोमबार, ०६ मङ्सिर २०७८

चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको उपस्थिति थियो ।

भर्चुअल रुपमा आयोजना गरिएको आजको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आमन्त्रण गरिएको थियो । बैठकमा महासचिव विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एकसय वर्ष पूरा गरेकोमा साथै छैटौँ विस्तारित बैठकले लिएका ऐतिहासिक निर्णयका लागि बधाई दिएका थिए । चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै उनले आफूहरु पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको जिकिर गर्दै यसका लागि आन्तरिक र वाह्य धेरै चुनौतिहरु रहेको पनि उल्लेख गरेका थिए । अन्त्यमा उनले चिनियाँ नेतालाई कम्युनिस्ट आन्दोलन र समाजवादका विषयमा धारणा माग्दै प्रश्न राखेका थिए ।

यसअघि, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि चिनियाँ नेताहरुलाई विस्तारित बैठकको सफलताको शुभकामना दिएका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको सफलताबाट दक्षिण एसिया मात्र नभए विश्वकै कम्युनिस्ट पार्टीहरू प्रभावित बनेको पनि बताए । अध्यक्ष नेपालले सो कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालमा कम्युनिस्टहरु सत्तामा पुगेपछि अहंकारी बन्ने गरेको र यसले ठूलो संकट निम्त्याउने गरेको पनि जिकिर गरे । यो समस्या नेपालमात्र नभएर विश्वभरका कम्युनिस्ट पार्टी देखिने गरेको उनको भनाइ थियो । आजको कार्यक्रममा नेकपा (एमाले) पनि सहभागी हुने बताइए पनि पार्टीका तर्फबाट कोही सहभागी भने देखिएनन् ।

उता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ कम्युनिस्ट पार्टीले अंगिकार गरेको सिद्धान्तलाई समीक्षा गर्दै पार्टीको नयाँ यात्रा तय गर्न, चीन र विश्वकै विकासको नयाँ युगको शुरुवात गर्न र विश्वका सबै राष्ट्रहरूबीच ‘विन–विन’ को अवस्थामा विश्वका राष्ट्रबीच सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्नका लागि छैटौँ विस्तारित बैठकको विशेष महत्त्व रहेको बताएका थिए । उनले नेपाल सधैँ ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र तिब्बत, ताइवानलगायतका विषयहरु चीनको आन्तरिक मामिला रहेको भन्ने नेपालको धारणा रहेकोमा पनि जोड दिएका थिए । कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का सीताराम यचुरी, बंगलादेशको कम्युनिस्ट पार्टीका नेता दिलिप बरुवालगायतले चिनियाँ कम्युनिस्ट पार्टीलाई शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप