शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन तथा बीटूबी एक्सचेन्ज कार्यक्रम सम्पन्न

सोमबार, ०६ मङ्सिर २०७८, १७ : ३१
सोमबार, ०६ मङ्सिर २०७८

प्रशान्त एसिया यात्रा संघ (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा आयोजना गरेको नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन र बीटूबी एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थान निम्ति कात्तिक ३० देखि मंसिर ५ गतेसम्म सो कार्यक्रम आयोजना गरिएको हो ।

दुई छिमेकी राष्ट्रहरूबीच आन्तरिक र बाह्य पर्यटनलाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एकअर्काको गन्तव्यहरू प्रवद्र्धन गर्न कार्यक्रममा गृहकार्य र आवश्यक छलफल भएको पाटाले जानकारी दिएको छ । कार्यक्रममा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटरहरू, २ संचारकर्मी  र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका २ विद्यार्थीहरू सहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरिएको थियो । 

बंगलादेशी प्रतिनिधिहरूका लागि आयोजना गरिएको पोखराको परिचयात्मक भ्रमण क्रममा होटल बाराहीमा पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवाप्रदायकहरूको सहभागितासहित पर्यटन नेटवर्किङ र अन्तरक्रिया सत्र पनि आयोजना गरिएको थियो । 

पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटन पुनरुत्थान कार्ययोजनाका रूपमा तत्काल क्षेत्रीययात्रालाई प्रवद्र्धन गर्नुपर्नेमा  जोड दिए । उनले लामो दुरीको यात्रा गर्न अनुकूल हुन अलि बढी समय लाग्ने भएकाले सडक वा छोटो दुरीको उडानबाट पुग्न सकिने नजिकका गन्तव्यहरूलाई पुनरुत्थान गर्न बढी अवसर रहेको पनि उल्लेख गरे । नेपाल–बंगलादेश उडान एकघण्टा अवधिमै पूरा गर्न सकिने हुनाले यस सहकार्यमार्फत  दुई देशबीच पारस्परिक आन्तरिक तथा बाह्यपर्यटनको व्यवसायिक सम्भावनालाई सुदृढ गर्न नयाँ मार्गनिर्देशन हुने अपेक्षा पनि उनले राखे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक तथा उपसचिवमोहम्मद सैफुल हसनले आ–आफ्नो गन्तव्यबारे जानकारी तथा नेपाल र बंगलादेश बीचको पर्यटन आदानप्रदान सम्भावनाबारे विचार एवम् प्रश्तुती गरेका थिए । पाटा बङ्गलादेशका अध्यक्ष शहीद हमिदले नेपालको न्यानो आतिथ्यताबाट आफू प्रभावित भएको र बंगलादेशी यात्रुहरूलाई आकर्षित गर्न नेपालमा धेरै आकर्षक पर्यटन उत्पादन तथा सेवाहरू रहेको बताए । उनले महामारीअघि वार्षिक २६ हजार बंगलादेशीलाई नेपालले स्वागत गर्ने गरेको र यसलाई प्रभावकारी प्रवद्र्धन र मार्केटिङ पहलबाट दोब्बर पार्न सकिने उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल र बंगलादेशका पाटा च्याप्टरले क्षेत्रीय पर्यटन प्रवर्धनका लागि आवश्यक र समयसापेक्ष पहल गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले नेपाल र बंगलादेशमा पर्यटन फस्टाउनका लागि नेपालले मार्केटिङ र प्रवद्र्धनात्मक कार्यक्रमहरू बढाउनपर्ने, यात्राहरू आयोजना गर्नुपर्ने, पूर्वाधारहरू (विशेष गरी सडक) स्तरोन्नती गर्नुपर्ने  तथा बंगलादेश र नेपालका पर्यटकहरूका लागि विस्तारित टुर प्याकेजहरू विकास गर्न आवश्यक रहेका पनि धारणा राखे । नेपाल र बंगलादेश बीचको पर्यटन सम्बन्धलाई अभिवृद्धि गर्न पर्यटन मन्त्रालयले सरकारी स्तरमा आवश्यक सहयोग र सहयोग गर्ने आश्वासन समेत दिए ।

बंगलादेश टुरिजम बोर्डले पाटा बंगलादेश च्याप्टरसँग मिलेर दुवै देशबीच पर्यटन विकासको आपसी सम्भावनालाई थप आदानप्रदान विस्तार गर्न पाटा नेपालमार्फत नेपाली समकक्षीहरूलाई चाँडै बंगलादेश  भ्रमण गर्न आमन्त्रण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप