शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको १० औं महाधिवेशन : पदाधिकारीमा गण्डकीबाट ४ आकांक्षी

सोमबार, ०६ मङ्सिर २०७८, १७ : २१
सोमबार, ०६ मङ्सिर २०७८

 नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै पदाधिकारीका लागि आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय हुन थालेका छन् । सोही क्रममा गण्डकी प्रदेशबाट केन्द्रीय पदाधिकारीका लागि मुख्यतया चार आकांक्षी देखिएका छन् । यद्यपि चारै जनाले उम्मेदवारी घोषणाका लागि भने आनाकानी गर्दै आएका छन् ।

गण्डकीबाट केन्द्रीय पदाधिकारीमा दाबी गर्नेहरूमा पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, किरण गुरुङ र पद्मा अर्याल छन् । पृथ्वी सुब्बा गुरुङले महासचिव र किरण गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । त्यसैगरी खगराज अधिकारी र पद्मा आर्यालले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् । उनी पार्टीको सचिव पनि हुन् । प्रदेश सरकारको मुख्यमन्त्री र पार्टी सचिवका रुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका कारण आफूले दशौं महाधिवेशनमा महासचिव पदमा स्वाभाविक रुपमा दाबी गर्न सक्ने उनको भनाइ छ ।

‘मैले सचिवमा काम गरिसकेको छु, अब जाने भनेको त्योभन्दा माथिको पदमा हो,’ उनले भने, ‘स्वाभाविकरुपमा सचिवभन्दा माथि अध्यक्षबाहेक सबै पदमा मैले दाबी गर्न सक्छु ।’ यद्यपि उनी उम्मेदवारी घोषणा गर्न भने सकिरहेका छैनन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई समेटेर टिम बनाउने अपेक्षा गर्दै उनले उम्मेदवारी घोषणामा भने आनाकानी गरेका हुन् । ‘म सचिव भइसकेकाले उहाँले टिम बनाउँदा कुन पदमा योग्य ठान्नुहुन्छ, त्यसैमा मेरो उम्मेदवारी रहन्छ,’ सचिव गुरुङले भने । यद्यपि अब सचिवमा भने नदोहोरिने उनको भनाइ छ ।

गण्डकीकै अर्का प्रभावशाली नेता खगराज अधिकारी पनि पदाधिकारीको आकांक्षी छन् । अधिकारीले सचिवमा उम्मेदवार दिने योजना बनाएका छन् । पार्टीमा गरेको योगदान र भूमिकाको आधारमा आफूले सचिवमा उम्मेदवारी दिने उनको भनाइ छ । अधिकारीले यसअघि पार्टीको पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, अनुशासन आयोगमा रहेर पार्टीले दिएको जिम्मेवारी पूरा गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले दिएको जिम्मेवारीलाई पूरा गर्दै आएकाले स्वाभाविक हिसाबले पदाधिकारीमा आफ्नो दाबी रहने अधिकारी बताउँछन् । अधिकारी नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा थोरै मतान्तरले पराजित भएका थिए ।

पृथ्वी सुब्बा गुरुङ र अधिकारीबीच खासै सुमधुर सम्बन्ध छैन । दुवै नेताले पार्टी अध्यक्ष ओलीलाई पछिल्लो समय खुलेर साथ दिँदै आएका छन् । त्यसैले पनि यी दुई नेतालाई व्यवस्थापन गर्नु पार्टी नेतृत्वका लागि चुनौतीको विषय बनेको एमालेका स्थानीय कार्यकर्ता बताउँछन् । यी दुई नेताबीच व्यक्तित्वको टक्करकै कारण पार्टीको वडा तथा नगर अधिवेशनमा सकस देखिएको थियो । पोखरा महानगरमा दुवैले आफू निकटलाई अगाडि सारेपछि अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । अन्त्यमा पृथ्वी सुब्बा गुरुङ पछि हटेपछि महानगरको अध्यक्षमा दिलिप न्यौपाने सर्वसम्मत चयन भएका थिए ।

प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले गण्डकी इन्चार्ज किरण गुरुङले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवार बन्ने बताएका छन् । उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका हुन् । २०५४ सालमा पार्टी विभाजनका बेला वामदेव गौतम निकट रहेका उनी पार्टीको नवौं महाधिवेशनमा केपी ओलीको पक्षमा खुलेर लागेका थिए । पछिल्लो समय पार्टीभित्रको शक्ति संघर्षमा उनले अध्यक्ष ओलीलाई साथ दिँदै आएका छन् ।

‘यस अघिको चुनावमा उपाध्यक्षमा लडेँ तर सफल भइएन, त्यसैले अहिले सफल हुनका लागि पुनः उपाध्यक्षमै उम्मेदवारी दिने योजना बनाएको छु,’ उनले भने, ‘पार्टी सहमतिमै नेतृत्व चयन होस् भन्ने पक्षमा छ, यदि पार्टीमा चुनाव हुने अवस्था आए उपाध्यक्षमा उठ्छु ।’ उनले पार्टी अध्यक्ष ओलीसँगको सल्लाह अनुसार नै आफ्नो उम्मेदवारी टुङ्गो लगाउने बताए ।

गण्डकीबाट पूर्वमन्त्री पद्मा अर्याल पनि पदाधिकारीमा दाबी गर्न अग्रसर देखिन्छिन् । उनले पार्टीमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकाले महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी रहने बताएकी छन् । पार्टीमा समावेशीताका हिसाबले पनि महिला सहभागिताका लागि आफ्नो उम्मेदवारी स्वाभाविक हुने उनको भनाइ छ ।

संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएर काम गरिसकेकी उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । उनी पार्टीभित्र अध्यक्ष ओलीको निकट मानिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप