शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्टभित्र ‘भिलेन’ देखापरेपछि दुःख पाइयो : प्रचण्ड

सोमबार, ०६ मङ्सिर २०७८, २२ : ०२
सोमबार, ०६ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीभित्र भिलेनका रुपमा एमाले अध्यक्ष केपी ओली देखा परेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कम्युनिस्टहरु एक भएपछि धेरै ठुलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि समाधान गर्न सकिएला भन्ने सपना देखेर पार्टी एकता गरेपनि त्यो हुन नपाएको बताए ।

‘सपना त धेरै ठुलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखापरेपछि दुःख पाइयो’, प्रचण्डको भनाइ छ । प्रचण्डले अहिले नयाँ भूमि आयोग बनेको भन्दै भूमि व्यवस्था मन्त्रालय आफ्नै पार्टीको जिम्मेवारीमा परेकाले भूमि सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको बताए ।

‘पूर्व, मध्य र पश्चिम तीनवटै क्षेत्रमा नमुना जिल्लाहरु छानेर लालपुर्जा वितरण गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कोशिश गर्ने कामको सुरुवात गर्न भनेको छु’, प्रचण्डको भनाइ छ । उनले केही दिनभित्रै भरतपुरमा सुकुम्वासीहरूलाई लालपुर्जा वितरण हुने आश्वासन समेत दिए ।

‘सायद केही दिनभित्र यहाँ लालपुर्जा वितरण र भूमि व्यवस्थापनको काम सुरु हुन्छ । म चुनावमा अर्कोचोटी भोट माग्न आएँ भने लालपुर्जा वितरणले पनि एउटा नयाँ गति लिइसक्छ र तपाईंहरुले आँखा चिम्लेर भोट हाल्नुहुन्छ भन्ने विश्वास छ’, प्रचण्डको भनाइ छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप