शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन आयोगले मंसिर १७ देखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्दै

सोमबार, ०६ मङ्सिर २०७८, १५ : ३५
सोमबार, ०६ मङ्सिर २०७८

निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

मतदाता नामावली संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने पनि आयोगले जनाएको छ । नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुने पनि आयोगले प्रस्ट पारेको छ ।

आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने साविकको व्यवस्था हुँदाहुँदै विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन मंसिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइने र निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

मंसिर १७ गतेदेखि सुरू हुने मतदाता नामावली संकलन विशेष कार्यक्रममा देशभर करिव २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने जनाइएको छ । मतदाता नामावली संकलन अभियानमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाजलाई समेत आयोगले आआफ्नो स्थानबाट सहयोग गरिदिन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप