शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधिले नै गरे तालाबन्दी

सोमबार, ०६ मङ्सिर २०७८, १४ : १९
सोमबार, ०६ मङ्सिर २०७८

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा असन्तुष्ट वडाअध्यक्षहरूले तालाबन्दी गरेका छन् । सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका ४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले दुर्व्यवहार गरेका थिए ।

त्यसलगत्तै वडाअध्यक्षहरूले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारी विरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । वडाअध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकाले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दा उनीहरुले उल्टै आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।  उनले भने, ‘आज सञ्चयकोषको कार्यालय नजिक छाडा गाई मरेको थियो । मैले सफाइ कर्मचारीसँग कुरा गर्न खोज्दा फोनमै गाली गर्नुभयो । कार्यालयमा आएपछि मसँग दुर्व्यवहार गर्दै अपशब्दहरु समेत प्रयोग गर्नुभयो ।’

उनले नगर प्रमुख साहकै इशारामा कर्मचारीले आफूमाथि दुर्व्यवहार गरेको  आरोप लगाए । उनले भने, ‘सरसफाईमा अनिश्चितता देखिएपछि आफुहरुले आन्दोलन समेत गर्यौ, तर सुनुवाई नभएपछि आफुहरुले बाध्य भएर उपमहानगरमा ताल्चा मारेका हौं  ।’ 

जनकपुरधाम उपमहानगरपालिका ७ का वडा अध्यक्ष जानकीराम साहले सफाइका लागि नै उपमहानगरपालिकामा ताला लगाइएको बताए । तालाबन्दी कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका १ का वडाअध्यक्ष शत्रुधन साह, ३ का वडाअध्यक्ष दीपेन्द्र साह, ४ का वडाअध्यक्ष सुदर्शन सिंह, ७ का वडाअध्यक्ष जानकीराम साह लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप