आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाबा रामदेवको उडान र विवाद : थोत्रो साइकलदेखि अर्बौँको मालिकसम्म

सोमबार, ०६ मङ्सिर २०७८, ११ : ३६
सोमबार, ०६ मङ्सिर २०७८

कुनै समय थोत्रो साइकलमा च्यवनप्रासको व्यापार गर्ने बाबा रामदेव अहिले अर्बौँको सम्पत्तिका मालिक छन् । पतञ्जलि कम्पनीमार्फत उनले घरका भान्छा–भान्छामा उपभोग्य वस्तु पठाइरहेका छन् । यतिमात्र होइन, उनले भर्खरै नेपालमा दुई टेलिभिजन ‘आस्था’ र ‘पतञ्जलि नेपाल’ खोलेका छन् । दर्ता नै नगरी दुई टेलिभिजनको उद्घाटन गरेको भन्दै उनी विवादमा तानिएका छन् । यद्यपि, रामदेव विवादमा मुछिएको यो पहिलोपटक भने होइन

आचार्य बालकृष्णसँगको भेट

बाबा रामदेवकोे जन्म भारतको हरियाणा राज्यको महेन्द्रगढ जिल्लास्थित सैद अलीपुर गाउँमा भएको थियो । रामदेव सानै छँदा उनको गाउँमा एक योगी आएका थिए, जसको सानिध्यपछि उनी आध्यात्म र योगमा आकर्षित भए । उनको रुझान वैदिक शिक्षातर्फ बढ्न थाल्यो । यसपछि गुरुकुलमा शिक्षा ग्रहण गर्न उनी घरबाट भागे । तर, कुनै पनि गुरुकुलमा रामदेवलाई प्रवेश मिलेन र, उनी हरियाणाको खानपुर गुरुकुलमा पुगे । त्यहाँ गुरुकुल शिक्षा पद्धतिबाटै उनले शिक्षा ग्रहण गरे । सन् १९९० मा बाबा रामदेवको भेट आचार्य बालकृष्णसँग भयो । अनि, दुईबीचको मित्रता झाङ्गियो । गुरुकुलबाट शिक्षा ग्रहण गरेपछि रामदेव र आचार्यले हिमालय योग एवं आयुर्वेदबारे ज्ञान हासिल गरे । त्यसपछि हरिद्वारस्थित कृपालु आश्रममा १० नोभेम्बर १९९४ मा बाबा रामदेव र आचार्यले मिलेर परोपकारी ट्रस्ट स्थापना गरे ।

दुबैले मिलेर योग शिविर चलाउन थाले । त्यस्तै, आयुर्वेदिक पद्धतिबाट मानिसहरूको निःशुल्क उपचार गर्न थाले । सन् २००६ मा हरिद्वारमा पतञ्जलि आयुर्वेद स्थापना भयो । बर्सेनि यस ट्रस्टले हजारौँ करोड रुपैयाँ कमाउन थाल्यो ।

विवादकै बीच बाबा रामदेवको उडान

जो व्यक्ति ९० को दशकसम्म एक पुरानो साइकलमा सवारी गर्थे, उनका लागि पक्कै पनि अहिलेको अवस्था एउटा ठुलो उडान हो । ९० को दशकमा बाबा रामदेवले घर–घरमा च्यवनप्रास बेच्थे । बाबाले च्यवनप्रास तयार गर्ने आल्मुनियमका भाँडाहरू समेत भाडामा लिइएको हुन्थ्यो । उनले च्यवनप्रासको प्लास्टिकको कन्टेनरलाई घरमा लैजान साइकलको प्रयोग गर्थे । उनी योग पनि सिकाउँथे । बाबाले सन् १९९९ मा रातो रङको एउटा पुराना मारुनी भ्यान किनेका थिए । यसको दुई वर्षपछि नै बाबाले पुरानो मारुती जिप्सी किने । यतिमात्रै होइन, कुनैबेला हरिद्वारको कृपालु बागको गरिब बस्तीमा बस्ने रामदेव अहिले ६ एकडमा बनेको भव्य हवेली शिव कुटीमा बस्छन् । यसको मूल्य झन्डै ३० करोड भारतीय रुपैयाँभन्दा बढी पर्ने बताइएको छ ।

औषधिमा जनावर र मानिसको हड्डीको धुलो मिसाएको आरोप

वर्ष २००६ मा कम्युनिष्ट पार्टीका नेता वृन्दा करातले बाबा रामदेवमाथि गम्भीर आरोप लगाइन् । बाबाको फार्मेसीमा बन्ने औषधिहरूमा जनावर र मानिसका हड्डीको धुलो मिसाउने गरिएको उनको आरोप थियो । यस मामिलालाई लिएर त्यसपछि ठूलै विवाद भयो । बाबा रामदेव र वृन्दा करातबीच लामो समयसम्म आरोप–प्रत्यारोपको क्रम जारी रह्यो । यतिमात्रै होइन, रामदेवले धेरैपटक ‘समलैंगिकता एक रोग हो र आयुर्वेदमा यसको उपचार छ’ भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् । 

रामदेवका गुरु रहस्यमय तरिकाले गायब

बाबा रामदेवका गुरु र दिव्य योग मन्दिर ट्रस्टका मालिक स्वामी शंकरदेव १४ जुलाई २००७ मा हरिद्वारको कनखल आश्रमबाट रहस्यमय तरिकाले गायब भएका थिए । यसपछि १६ जुलाईमा दिव्य योग मन्दिर ट्रस्टले पुलिसमा उजुरी दर्ता  गराएको थियो । तर, वर्षौँसम्म चलेको जाँचको नतिजा आएन । र, अन्ततः सन् २०१२ मा फाइल बन्द गरियो । आजसम्म उनको कुनै अत्तोपत्तो छैन । यद्यपि, यस दौरान बाबा रामदेव आफैले दिव्य योग मन्दिर ट्रस्टको सर्वेसर्वा हुन आफ्ना गुरु स्वामी शंकरदेवलाई कहीँ कतै गायब गरिदिएको चर्चासम्म चलेको थियो । उनी गायब भएपछि दिव्य योग मन्दिर ट्रस्टको सर्वेसर्वा रामदेव आफै भए ।

२००८ मा डाक्टरमाथि टिप्पणी

बाबाले सन् २००८ मा आधुनिक चिकित्साको अभ्यास गर्ने डाक्टरहरुविरुद्ध टिप्पणी गरेका थिए । उनले डाक्टरहरू रोगका प्रचारक भएको भन्दै तिखो शब्द प्रहार गरे । यसको निकै ठुलो आलोचना भयो ।

कालोधनलाई लिएर दिल्लीमा धर्ना

उनले सन् २०११ मा कालो धनलाई लिएर भारतमा धर्ना सुरु गरे । त्यसयता बाबा रामदेवसँग नयाँ–नयाँ विवाद जोडिएका छन् । दिल्लीको रामलिला मैदानमा ४ जुन २०११ मा हजारौँ समर्थकको भीडलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘यदि तपाईले मेरो नाममा एक इन्च पनि जमिन या एक पैसा पनि बैङ्क खातामा देख्नुभयो भने तपाईले जे भन्नुहुन्छ, म त्यो गर्नका लागि तयार छु ।’

तर, केही दिनपछि करिब साढे दुई लाख भारु प्रतिघण्टाको भाडा तिरेर उनले विमान चार्टर्ड गरे, त्यस विमानमार्फत दिल्लीमा उत्रिए । त्यतिबेला बाबा रामदेवको आर्थिक पारदर्शिताबारे नै प्रश्न उठेको थियो ।

बालकृष्णको नक्कली पासपोर्ट काण्ड

बालकृष्णको फर्जी पासपोर्ट काण्डले बाबा रामदेवको इज्जतमै कालो पोतेको थियो । बाबाका खास सहयोगी रहेका बालकृष्णमाथि नक्कली डिग्री बनाएको आरोपसमेत लाग्यो । फर्जी पासपोर्ट मामिलामा अदालतले १२ जुलाई २०१२ मा आचार्य बालकृष्णविरुद्ध गैर जमानती वारेन्ट जारी गरिदिएको थियो । त्यही दिन सीबीआईले आचार्य बालकृष्णलाई हरिद्वारबाट पक्राउ गर्‍यो ।

यस मामिलामा रामदेवलाई लिएर पनि तमाम सवाल खडा हुन थाले । त्यससँगै देशभर नै बाबा रामदेवको विश्वसनीयता निकै घट्यो ।

गान्धी परिवारमाथि टिप्पणी

रामदेव भाजपा समर्थक हुन् भन्ने सबैलाई थाहा छ । सन् २०१३ मा बाबा रामदेवले एक र्‍यालीका दौरान आफ्नो भाषणमा एक ठुलो बयान दिएका थिए । त्यस दौरान रामदेवले भनेका थिए, ‘टोली लगाउनेले भारत माताको जय बोल्दैन ।’

यसपछि बाबाविरुद्ध देशभर प्रदर्शन भयो । मानिसहरूले उनको ठुलो आलोचना गरे । त्यस्तै, बाबा रामदेवले राहुल गान्धी र सोनिया गान्धीमाथि पनि व्यक्तिगत र आपत्तिजनक टिप्पणी गरे ।

परिणामस्वरुप, काँग्रेस शासित राज्यहरूमा बाबाविरुद्ध एफआईआर दर्ता भयो । त्यस्तै, काँग्रेस पार्टीका कार्यकर्ताले रामदेवविरुद्ध जमेर प्रदर्शन गरे ।

एकै दिन रामदेवविरुद्ध ८१ मुद्दा दर्ता

सन् २०१३ मा उत्तराखण्डका तत्कालीन मुख्यमन्त्री विजय बहुगुणाले बाबा रामदेवविरुद्ध मोर्चा खोलेका थिए । सरकारले उनका सबै पुराना फाइल निकालेको थियो । त्यस्तै, नोभेम्बर २०१३ मा एक झट्कामै उनी आबद्ध संस्थाहरूमाथि ८१ मुद्दा दर्ता गरिएको थियो ।

यतिमात्रै होइन, एक महिनाभित्रै बाबा रामदेवमाथि ९९ मुद्दा दर्ता गरिएको थियो । रामदेवको पतञ्जलि योगपिठ ट्रस्टमा हरिद्वारका बेनामी सम्पत्ति, सरकारी जमिनमाथि कब्जा र सरकारी भूमिमाथि दुरुपयोगको मामिलामा यो मुद्दा दर्ता गरेको थियो ।

यसमध्ये १० करोडभन्दा धेरै राजश्व छलीका ५२ मुद्दा समावेश छन् । यससँगै ग्रामसभाको भूमि कब्जा सम्बन्धी दुई मामिलामा पनि मुद्दा दर्ता गरिएको थियो । यसपछि देश दुनियाँमा बाबा रामदेवको निकै बेइज्जत भयो । धेरै खाले सवाल उठे ।

दिव्य पत्रजीवक बीजलाई लिएर विवाद 

सन् २०१५ मा राज्यसभाको कारबाहीका दौरान विपक्षी दलहरूले संसद् भवनमा बाबा रामदेवद्वारा फार्मेसीमा निर्मित ‘दिव्य पुत्रजीवक बीज’ लाई लिएर हंगामा सुरु गरेका थिए ।​ यतिमात्रै होइन, केही सांसदले ‘पुत्रजीवक बीज’का प्याकेट संसद्लाई देखाउँदै यस्तो सामग्री बेच्नु अवैध र असंवैधानिक रहेको जनाएका थिए । 

सो उत्पादनमाथि प्रतिबन्ध लगाउन तथा उत्पादकहरुविरुद्ध कारबाही गर्नुपर्ने माग उठेको थियो । यसपछि ‘दिव्य पुत्रजैविक बीज’ लाई लिएर ठूलै विवाद भएको थियो ।

बाबाबारे लेखिएको पुस्तक भारतमा लन्च भएन

वर्ष २०१७ मा मुम्बईकी पत्रकार प्रियंका पाठक नारायणले बाबा रामदेवबारे एक किताब लेखेकी थिइन् । यसको नाम ‘गोल्डम्यान टु टाइकुन ः द अनटोल्ड स्टोरी अफ बाबा रामदेव’ थियो । यस किताबमा बाबा रामदेवको जन्मदेखि उनले शिखर छुँदासम्मका सबै जानकारी सम्मिलित थियो ।

तर, २०१७ अगस्टमा दिल्लीमा एक अदालतले बाबा रामदेवमाथि लेखिएको किताब ‘गोल्डम्यान टु टाइकुन : द अनटोल्ड स्टोरी अफ बाबा रामदेव’ लन्च गर्नका लागि अन्तरिम रोक लगाइदियो । यसपछि बाबा रामदेवलाई लिएर फेरि तमाम चर्चा सुरु भयो । आखिर उनीबारे लेखिएको पुस्तक किन सार्वजनिक भएन ? यसबारे धेरै चर्चा भएको थियो ।

कोभिड १९ नियम उल्लंघन

भारतमा लकडाउन भएको समय पनि बाबा रामदेवले यसको उल्लंघन गरिरहे । उनले एक सयभन्दा धेरै मानिसहरूलाई एकजुट गरेर योग शिविर चलाइरहेका थिए । तर, प्रशासनलाई कुनै खबर गरेका थिएनन् । बाबा रामदेवको निजी च्यानल आस्थामा बिहान ५ देखि ८ बजेसम्म उक्त कार्यक्रम लाइभ हेर्न सकिन्थ्यो । उनले योग ग्राममा मानिसहरूलाई एकजुट गराएका थिए । यी मानिस देशका अलग अलग राज्यबाट आएका थिए । योग ग्राममा लकडाउनको समय पनि एक सयभन्दा मानिस बसेका थिए । तर, कसैले मास्क लगाएको देखिँदैनथ्यो । यतिमात्र होइन, बाबा रामदेवले आफ्ना समर्थकहरूलाई दाबाका साथ भनेका थिए– मलाई कोभिड १९ त के १ सय वर्षसम्म कुनै पनि रोगले छुन सक्दैन ।

एलोपेथी विवाद

एलोपेथी उपचारका विषयमा गरेको टिप्पणीका कारण गत वर्ष बाबा फेरि एकपटक विवादमा तानिए । एउटा भाइरल भएको भिडियोमा रामदेवले भनेका थिए– जति पनि मानिस महामारीबाट मरेका छन्, त्यसमध्ये सबैभन्दा धेरै मानिस अस्पतालमा मर्दैछन् र त्यो पनि एलोपैथिक औषधि खाएर ।

यसपछि देशभरका डाक्टरहरूले बाबाविरुद्ध मोर्चा खोले । अरू त अरू, भारतकै स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले पनि बाबालाई पत्र काटेर आफ्नो अभिव्यक्ति फिर्ता लिन भने । रामदेवले आफ्नो अभिव्यक्ति फिर्ता लिएको घोषणा ट्वीटरमार्फत पनि गरे । तर, फेरि केही समयपछि अर्को भिडियो भाइरल भयो । जहाँ योग शिविरमा बसेका बाबाले डाक्टरहरूलाई जिस्क्याएको प्रस्ट देखिन्थ्यो । ‘डबल डोज खोप लगाएका एक हजारभन्दा धेरै डाक्टर कोभिडले मरेका छन् । उनीहरू कसरी डाक्टर भए,’ रामदेवले स्वास्थ्यकर्मीको मनोबल गिराउँदै भनेका थिए ।

कोरोनिलको विवाद

गत फेब्रुअरीमा पतञ्जलीले कोभिड १९ विरुद्धको औषधि निकालेको दाबी गर्‍यो । कोरोनिल नामक यस औषधिलाई कोरोनाको आयुर्वेदिक औषधिका रूपमा विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिइसकेको दाबी पतञ्जलीको थियो । बाबा रामदेवले कोरोनिलको प्रचारका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा भारतका स्वास्थमन्त्री डाक्टर हर्षवर्धन समेत उपस्थित थिए । तर, स्वास्थमन्त्रीको उपस्थितिलाई लिएर भारतीय मेडिकल एशोसियसनले कडा आपत्ति जनायो । भारतीय स्वास्थविद्हरुले ‘अवैज्ञानिक औषधिको प्रचार स्वास्थ्य मन्त्रीको सामुन्ने हुँदा भारतीय जनताहरूले लज्जित महसुस गरेको’ जनाएको थियो । यस औषधिले भारतको परम्परागत चिकित्सा मन्त्रालय (आयुष) तथा उत्तराखण्ड राज्य सरकारबाट मान्यता पाइसकेको रामदेवको दाबी थियो ।

यद्यपि, आयुषले यसको प्रयोगका लागि अनुमति दिइए पनि कोभिडको औषधि भनेर लाइसेन्स नदिइएको स्पष्ट पारेको थियो । ‘यस लाइसेन्सको अर्थ जिन्क, भिटामिन सी, मल्टी भिटामिन वा अन्य सहयोगी औषधिजसरी कोरोनिलको प्रयोग गर्न सकिन्छ भन्ने हो,’ उत्तराखण्ड राज्यको परम्परागत औषधि विभागका निर्देशक डाक्टर वाईएस रावतले बीबीसीसँग भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप