बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेरि माओवादीको पक्षमा लहर आउँदैछ, मधेसमा महन्थ–राजेन्द्रमाथि विश्वास रहेनछ : प्रचण्ड

सोमबार, ०६ मङ्सिर २०७८, ०९ : ३९
सोमबार, ०६ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि माओवादीको पक्षमा लहर आउने बताएका छन् । सोमबार पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, 'देशैभरि फेरि माओवादीको पक्षमा लहर आउँदैछ । प्रदेश २ मा ३२ वटा संघीय सिट छन्  त्यहाँ म सर्लाही, महोत्तरी, रौतहट पुगेको थिएँ , माओवादी नै देश जोगाउने पार्टी हो भन्ने लहर देखिएको पाऔँ ।'

महन्थ ठाकुर र  राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको उनको जिकिर छ । 'मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ । महन्थ ठाकुर र  राजेन्द्र महतोमाथि विश्वास रहेनछ,' प्रचण्डले भने , 'माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरु छन् । हामी कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाएको हो विभाजनको होइन । एमाले प्रतिक्रान्तिकारी पार्टी हो ।'

गएको केन्द्रीय कमिटी बैठकबाट अब पार्टीलाई बनाइ छाड्ने संकल्प गरेको उनको भनाइ छ । 'संगठनमा यसबीचमा देखापरेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभरि सदस्यता नवीकरण र अधिवेशनहरु गर्न थालेका हौँ । अधिवेशन हुन थालेपछि पार्टीको पुनर्गठन र पुनर्निर्माणको महान् अभियानमा महत्वपूर्ण ऊर्जा पैदा भएको छ,' प्रचण्डले भने । 

कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले टाउन खोजेको उनले बताए । 'पार्टी केही निस्क्रिय हुँदा कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले कसरी टाउको उठाउँदा रहेछन् भनेर हामीले भोग्यौँ । माओवादी कमजोर हुँदा उपलब्धि जतिबेला पनि उल्टिन सक्ने खतरा रहेछ । हामीले पूर्णसंविधान मानेको त होइन, त्यसको संशोधन गरिनुपर्छ भनेका छौँ,'  प्रचण्डले भने, 'यद्यपि विगतमा एउटा राजामा अधिकार निहित हुने परम्परा थियो । त्यो परिस्थितिबाट जनताको संघर्षको बलमा पहिलो पटक जनतालाई सार्वभौम बनाएको संविधान बनाएका हौँ ।  त्यसकारण पनि यो संविधानको रक्षा गर्दै र परिमार्जन गर्दै समाजवादतिर अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व हो ।' 

आँधी हुरी ल्याइदियो भनेर मात्रै गणतन्त्र स्वीकारेको भन्नेहरु एमालेमा रहेको प्रचण्डको भनाइ छ । प्रचण्डले भने, 'उनीहरु आफ्नो असली चरित्र देखाइरहन्छ । उनीहरुले गतवर्ष गरेको सेटिङ, संविधान च्यात्न प्रयास त्यसैको उदाहरण हुन् । आफ्नो एजेण्डालाई माओवादीले अब स्थापित गर्नतिर लाग्नुपर्छ । गलत तत्वका विरुद्ध लडाइँ लड्नुपर्छ, त्यही भएर विदेह सुरु गरेको र सफलता प्राप्त गरेको पनि हो ।' 

माओवादी सुस्ताउँदा र विभाजित हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् भनेर  पुष्टि भएको बताए । 'हामीले गठबन्धन बनाएर प्रतिक्रान्तिकारीहरुलाई बालुवाटारबाट बालकोट र सातै प्रदेशबाट गल्त्याएर घरघरमा पठाउन सफल भएका छौँ । माओवादीले मात्र राष्ट्रलाई एकताबद्ध राख्न सक्छ, उपलब्धि र परिवर्तनलाई जोगाउन सक्छ,' प्रचण्डले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप