ad
प्रवास

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा दोहोरो सत्ता देखियो’

प्रवासका साहित्यकार अब गुणस्तरीय रचनामा लागौँ : राधेश्याम लेकाली

person explore access_timeमंसिर ६, २०७८ chat_bubble_outline0

साहित्यकार राधेश्याम लेकाली इलाममा २०१५ सालमा जन्मिएका हुन् । सानै उमेरदेखि साहित्य लेखनमा रुचि राख्ने उनी २०३३ सालमा ‘सौगात’ मासिक पत्रिका ‘भानुप्रति’ शीर्षक कविता लेखेर सार्वजनिक साहित्यिक जीवनमा होमिएका हुन् । त्यसपछि उनको साहित्यिक यात्रा निरन्तर चलिरहेको छ ।


लेकालीका वर्तमानको दस्तावेज (२०३९), प्रेमाभिव्यक्ति (२०४३), काठमाडौँ र काठमाडौँ (२०६२), निरङ्कुशता (२०६७), स्वतन्त्रताको साइपाटा (२०६८), प्रस्थान बिन्दु (२०६९), आगतको ढाडमा वर्तमानको सर्प (२०७०) लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका एक थान गीति एल्बमसहित ४ मुक्तक सङ्ग्रह पनि प्रकाशित छन् ।



आफू मात्र होइन, अरूलाई पनि साहित्य सिर्जना र अध्ययनका लागि प्रेरणा दिइरहने लेकाली अन्तर्राष्ट्रिय नेपाली सहित्य समाज (अनेसास) का पूर्व (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष हुन् । अहिले अनेसासका सल्लाहकार सदस्यसमेत रहेका लेकालीसँग मोहन दाहालले गरेको साहित्यिक कुराकानी यहाँ प्रस्तुत गरिएको छ–



तपाईं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष भइसक्नुभएको छ, विदेशमा रहेका नेपाली साहित्यकारहरुको यो संस्थाले के–के काम गर्छ ?



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को मुख्य उद्देश्य भनेकै नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नु हो । दोस्रो, विश्वभरि छरिएर रहेका नेपाली स्रष्टा, सर्जकहरूलाई एउटै छातामुनि ल्याउनु, डायस्पोरा साहित्यको विकास र वृद्धिमा जोडदिनु हो । तेस्रो, स्रष्टालाई साहित्य सिर्जनाका लागि मञ्च उपलब्ध गराउनु, कृति प्रकाशनमा सहयोग गर्नु, नेपाली साहित्यको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नु हो । यिनै उद्देश्य लिएर अनेसास स्थापना भएको हो ।  अहिले यसले मूलतः तीनवटा काम– गोष्ठीहरू गर्ने, पुरस्कार तथा सम्मान प्रदान गर्ने र अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना गर्दै आएको छ ।  अहिले अनेसास ५० वटा देशमा फैलिएको छ भने करिब सयवटा जति च्याप्टर÷शाखा छन् ।  अनेसासमा २३ सयभन्दा बढी स्रष्टाहरू आजीवन सदस्य र ट्रस्टी मेम्बर छन् ।



अनेसासले अहिलेसम्म केके काम गर्‍यो ?



यसले थुप्रै काम गरेको छ । जस्तै– बेस्ट बुक अवार्डहरू दिन्छ यसले । यो अवार्ड दुई हजार डलरसम्मका दस–एघारवटा छन् । योबाहेक २५ सय, २१ सय र हजार डलरका अवार्डहरू पनि छन् । त्यसैगरी, यसले विभिन्न साहित्यिक प्रतियोगिताहरू गर्दै आएको छ । यस्ता प्रतियोगी कार्यक्रमहरू केन्द्र र शाखाहरूले छुट्टाछुट्टै पनि गर्छन् । पुरस्कारहरू पनि केन्द्र र शाखाका अलग अलग छन् । जस्तै नेपाल च्याप्टरले ‘माधव घिमिरे गीत पुरस्कार’ स्थापना गरेको छ । यस्ता अरू धेरै च्याप्टरहरूले गरेका छन् ।

यस संस्थाले विभिन्न कृतिहरू प्रकाशन गरेको छ । धेरै स्रष्टाका पनि गरेको छ, सामूहिक पनि प्रकाशन गरेको छ । अनेसासका आफ्नै पनि प्रकाशनहरू पनि छन् । ‘अन्तर्दृष्टि’ भन्ने साहित्यक त्रैमासिक प्रकाशन पनि छ । ‘अन्तर्दृष्टि’को प्रकाशन अमेरिकाबाट हुन हो तर छाप्न नेपालबाट छापिन्छ । त्योदेखि बाहेक सामूहिक सङ्कलन गरेर कृतिहरु पनि निकालेको छ । अनेसास दर्पण अनलाइन पत्रिका पनि सञ्चालन गरेको छ । यस्ता अनलाइनहरू अरू थुप्रै छन् ।

अनेसासले विश्वसम्मेलनहरू गर्छ । जस्तो, महिला सम्मेलन गर्छ । अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्छ । यसको क्षेत्रीय संरचना पनि छ; जस्तो एसिया समिति, अमेरिका समिति आदि । तिनले अलग्गै आयोजना गर्छन् ।

एकपटक लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल अनुवाद चाहिँ गएको हो । तर, नोबेल पुरस्कार एउटा कृतिले मात्र दिँदैन । सर्जकले गरेको समग्र साहित्यिक योगदानलाई मूल्याङ्कन गरेर यो पुरस्कार दिने हो । नोबेल पुरस्कार मनोनयनका लागि पठाउँदा कृति र अनुवाद पनि एकदमै राम्रो हुनुपर्छ । त्यसपछि त्यसको बजारीकरण राम्रो हुनुपर्छ । यसमा लबिङ पनि चल्छ ।

नेपालमा रहेका साहिकित्यिक संस्थाहरुको कुरा गर्दा प्रगतिशील लेखक सङ्घ (प्रलेस) भन्ने पुरानो साहित्यिक संस्था छ, यसलाई चाहिँ कसरी लिनुहुन्छ ?

एक समयमा म आफैँ पनि प्रलेसको सदस्य थिएँ । पचासको दशक अगाडि हो । यो राम्रो साहित्यिक संस्था हो । यसले एउटा विचारका मानिसहरूलाई एउटै थलोमा राखेको छ ।  अर्को नेपाली लेखक सङ्घ भन्ने पनि छ । जस्तो डेमोक्र्याट विचारहरूको एउटा फोरम छ । जस्तो–वियोगी बुढाथोकीको सम्पादनमा डेमोक्र्याटहरूको मात्रै लेखहरू सङ्कलन गरेर किताब नै प्रकाशन भएको छ । प्रलेसका पनि आफ्नै प्रकाशन छन् । विचारका हिसाबले जानु पनि राम्रो छ, तर त्यो सही दिशामा जानुपर्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका नेपालीहरुले नेपालबाट कस्ता–कस्ता पुस्तकहरू झिकाएर पढ्छन् ? नेपाली साहित्यको बजार कस्तो छ विदेशमा ?

यसमा दुईवटा कुरा छन् । अहिले सर्वाधिक बिक्री हुने भनेको नियात्रा भएको छ । यसको तुलनामा कथा र उपन्यास पनि अलि कम छ । कविताको खासै बजार छैन । तर, जसले जे विधामा लेख्छन् नि, ती सर्जकले त्यो विधाका किताब नेपालबाट झिकाउने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा जाने भनेको नोबेल पुरस्कार प्राप्त गर्न सक्ने हैसियतका कृतिहरू जानुपर्ने हो नि, तर त्यस्तो भइरहेको छैन ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन के–कस्ता कदम चाल्नु आवश्यक देख्नुभएको छ ?

एकपटक लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल अनुवाद चाहिँ गएको हो । तर, नोबेल पुरस्कार एउटा कृतिले मात्र दिँदैन । सर्जकले गरेको समग्र साहित्यिक योगदानलाई मूल्याङ्कन गरेर यो पुरस्कार दिने हो । नोबेल पुरस्कार मनोनयनका लागि पठाउँदा कृति र अनुवाद पनि एकदमै राम्रो हुनुपर्छ । त्यसपछि त्यसको बजारीकरण राम्रो हुनुपर्छ । यसमा लबिङ पनि चल्छ । लबिङ भनेको अन्तर्राष्ट्रिय स्तरमा त्यो किताबको समीक्षा कति भएको छ भन्ने हो । त्यसले पनि यो पुरस्कार पाउनमा भूमिका खेल्छ । यो कार्यचाहिँ हामीकहाँ हुन सकेको छैन ।

बङ्गाली कवि रवीन्द्रनाथ टेगोरकै कुरा गर्ने हो भने बङ्गालीबाट हिन्दी, अङ्ग्रेजीमा अनुवाद गर्दै जाँदा कैयौँ वर्ष लाग्यो । भियतनाम, चीन कोरिया लगायत विभिन्न देशका साहित्य पनि अनुवाद भएर गएका छन् । नेपालबाट कृतिहरू नजाने भन्ने छैन । तर, यसमा काम गर्ने कसले ? यसका लागि उत्कृष्ट कृति छान्नुपर्यो, उत्कृष्ट अनुवादक चाहियो । तर, हाम्रो प्रचलन के छ भने जसको आफ्नो मान्छे छ, उसले दिने चलन छ । समस्या यहाँ छ । अनुवादमा भाषा जानेर मात्र हुँदैन, त्यसको सर्जकझैँ हुनुपर्यो, लेखक नै हुनुपर्यो ।

कतिपय मानिसहरु प्रवास पुगेपछि साहित्यकार भएका छन्, यो प्रवासको माहोल नै हो कि मनको बह पोख्ने माध्यम मात्र ?

अनेसासमा यस्ता साहित्यकारहरू धेरै छन् । यसका कारणहरू छन् । नेपालबाट प्रवासमा जाने जोकोही पीडा बोकेर गएका हुन्छन् । आर्थिक समस्यै बोकेर गएका हुन्छ । कोही पढ्न गए पनि पछि उसले आर्थिक समस्या झेल्छ । विस्तारै आर्थिक समस्याबाट मुक्त हुँदै जान्छ । आर्थिक हिसाबले स्थापित हुन्छ । त्यसपछि विभिन्न कार्यक्रमहरूमा जान्छ । त्यहाँ त जातिपिच्छे, क्षेत्रपिच्छे, भाषापिच्छेका संस्थाहरू छन् । एकै ठाउँमा दुई सय, तीन सयवटा संस्था छन् । अध्यक्ष पनि त्यति नै छन् । त्यस्ता कार्यक्रममा गजल, मुक्तक, कविता सुनाउने गर्छन् ।

उनीहरूले देश, परिवार, प्रेम आदिका पीडा यस्ता साहित्यिक सिर्जनामार्फत व्यक्त गर्दछन् । यस्ता कार्यक्रममा जाने सुनाउने गर्दा उनीहरूलाई जाँगर पनि चल्छ । अनि कनीकुथी लेख्छ । जमघटमा सुनाउँछ । एक दुईवटा गोष्ठी, सम्मेलनमा सुनाउँछ । त्यसपछि ऊ सर्जक हुन्छ ।  

अहिले नेपालीहरूका अन्तर्राष्ट्रिय साहित्यिक संस्था कतिवटा छन् ?

यस्ता संस्था थुप्रै छन् । जस्तो– विश्व साहित्य महासङ्घ भन्ने छ । यसमा मधु मधुर्यजी संस्थापक सदस्य हुनुहुन्थ्यो । यसका पनि आफ्नै सञ्जालहरू छन् । यस्ता धेरै संस्थाहरू छन् । बेलायत, अमेरिका लगायत थुप्रै मुलुकमा अनेसास जस्ता संस्थाहरू खुलेका छन् ।

यस्ता साहित्यिक संस्थाहरु राजनीतिका लागि मात्र हुन् भन्ने आरोप लाग्दै आएको छ नि ?

अनेसासका सम्बन्धमा मेरो कार्यकालसम्म चाहिँ राजनीति घुसेको देखिएको थिएन । चुनावै लड्ने अवस्था देखिएन । यसको प्रभाव विस्तारै पर्दै जान्छ । त्यसलाई त रोक्न सकिँदैन । तर संस्थाको विधानमा चाहिँ त्यस्तो व्यवस्था छैन । यसबारेमा संस्थाको विधान प्रष्ट छ । जुनसुकै विचारधाराको मानिस भए पनि ऊ साहित्य सर्जक हुनुपर्यो, साहित्यिक व्यक्ति हुनु आवश्यक छ । तर, पछिल्लो चरणमा अनेसासमा असाहित्यिक सदस्यको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यो चाहिँ चिन्ताको विषय बन्दै गएको छ ।

अनेसासमा दोहोरो संरचना छ । बोर्ड अफ ट्रस्टी भन्ने अलग्गै छ, केन्द्रीय कार्यसमिति भन्ने अलग्गै छ । ट्रस्टीले केन्द्रीय कार्यसमितिमा धेरै हस्तक्षेप गर्ने काम पनि गर्छ । यसको संरचना चाहिँ एउटै सत्ता हुनुपथ्र्यो । सत्ता दुईवटा देखियो । सुरुमा त्यो सोचिएन, अहिले क्रमशः यसमा द्वन्द्व आउँदैछ ।

अनेसासमा आवद्ध हुन कुनै प्रावधान राखिएको छ कि ?

पहिले हामीले कम्तीमा पाँचवटा साहित्यिक सिर्जना प्रकाशित हुनुपर्छ भन्ने एउटा मापदण्ड निर्धारण गरेका थियौँ । तर, अनिवार्य रूपमा एउटा सर्जक भनेर चिनिएको हुनुपर्छ ।

प्रवासमा रहेर साहित्य सिर्जनामा बामे सर्दै गर्नेहरूले पनि नेपाली साहित्यको विकासमा इँटा थप्ने काम गरेकै छन् । तर, त्यतिले पुग्दैन । अब गुणस्तरीय रचनामा लागौँ भन्छु पहिलो कुरा । अर्को भनेको पाण्डुलिपि सम्पादन नगरी पुस्तक प्रकाशन नगरौँ ।

खाडी मुलुकतिर पनि अनेसासका शाखाहरू छन् ?

यी देशमा शाखाहरू छन् । तर, स्थायीखालका हुँदा रहेनछन् । म आफैं पनि कतार गएको छु । त्यहाँ सदस्यहरू पनि छन् । तर, यी शाखा स्थायी छैनन् । जस्तै– मलेसियामा पहिले शाखा थियो, अहिले छैन । किनभने, त्यहाँ बस्ने नेपालीहरू स्वदेश फर्किएपछि शाखा नै बन्द भयो । नेपाल आउनेवित्तिकै अर्को त त्यहाँ नहुने भयो । बङ्गलादेश, ओमानमा पनि त्यस्तै भयो, अहिले नभए बराबर छ । तर, जापान, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया आदि देशका शाखा स्थायी छन् । 

प्रवासमा रहेर नेपाली साहित्यमा लाग्नेहरूलाई केही भन्न चाहनुहुन्छ ?

प्रवासमा रहेर साहित्य सिर्जनामा बामे सर्दै गर्नेहरूले पनि नेपाली साहित्यको विकासमा इँटा थप्ने काम गरेकै छन् । तर, त्यतिले पुग्दैन । अब गुणस्तरीय रचनामा लागौँ भन्छु पहिलो कुरा । अर्को भनेको पाण्डुलिपि सम्पादन नगरी पुस्तक प्रकाशन नगरौँ ।

सम्पादकहरूको कमी छैन, त्यो दिँदा पनि जिम्मेवार सम्पादकलाई मात्र दिनुहोस् । दुई–चार रुपैयाँ बढी खर्च गरे स्तरीय कृति प्रकाशन हुन्छ । त्यसैले सम्पादन गरेर उत्कृष्ट किताब मात्र निकाल्नुहोस् । हतारमा लेख्ने, प्रकाशन गर्ने, प्रचारमा लाग्ने अनि पुरस्कारको पछाडि दौडने हाम्रो बानी छ । यसबाट मुक्त हुनुपर्छ । यसरी गुणस्तरीय कृतिको प्रकाशन गर्न सकिँदैन ।

हामीले अनेसासमा पुस्तक प्रकाशन गर्नुभन्दा पहिले पाण्डुलिपि मूल्याङ्कन समिति वा त्यस्तै कुनै निकाय निर्माण गर्ने भनेका छौँ । तर, सिद्धान्तमा भनिए पनि व्यवहारमा त्यो लागू हुन गाह्रो हुँदो रहेछ । साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानमा त्यो व्यवस्था छ ।

यी सरकारी संस्थामा मूल्यङ्कन समितिले सिफारिस गरेपछि सम्पादनमा जान्छ र सम्पादन गरेपछि मात्र प्रकाशन गर्ने व्यवस्था छ । यो प्रक्रियाले पुस्तक प्रकाशन गर्दा उत्कृष्ट कृति निस्किन्छ । चलेका प्रकाशनले भने स्तरीय पुस्तकको मात्र प्रकाशन गर्छन् । अनेसासले पनि यो कार्य गर्ने तयारी गर्दैछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।