बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मधेसमा सीके राउतको जनाधार कति ?

जनमत पार्टीका कार्यकर्ताबाट ‘देवत्वकरण’
आइतबार, ०५ मङ्सिर २०७८, १७ : ५८
आइतबार, ०५ मङ्सिर २०७८

सीके राउत नेतृत्व गरेको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारविरुद्धको नारा लगाउँदै अहिले गाउँगाउँ डुलिरहेका छन् । शिरमा सीके राउतको तस्वीर, जनमत पार्टी र चुनाव चिह्न ‘लाउडस्पिकर’ अंकित सेतो टोपी लगाएका कार्यकर्ता तथा नेताहरु मोटरसाइकल, साइकल, ट्याक्टरसहित -यालीमा सहभागी हुँदैछन् ।

कतिपयले यसलाई चुनावको तयारीका रुपमा पनि हेरेका छन् । -यालीमा सहभागीमध्ये अधिकांश युवा हुन्छन् । सीके राउतको ‘क्रेज’का कारण युवाहरु सो पार्टीमा लागेको कतिपयको भनाइ छ । सीके राउतको बोल्ने शैली, व्यक्तित्वका कारण उनीप्रति युवाको आकर्षण बढेको उनीहरु बताउँछन् ।

सप्तरी, राजविराजका बलराम यादव भन्छन्, ‘युवाहरुमा सीके राउतको क्रेज देखिन्छ तर ती युवा कस्ता छन्, पार्टीप्रति कति प्रतिवद्ध छन् भन्ने कुराले मात्र संगठनात्मक अवस्था निर्धारण गर्दछ ।’

मधेसमा सीके राउतको शक्ति

सीके राउतले आफ्नो पार्टीलाई मधेसमा केन्द्रित गरेका छन् । मधेसका झापादेखि बदिर्यासम्म १७ जिल्ला र एउटा उपत्यका समिति गरी १८ जिल्लामा जनमत पार्टीको संगठन छ । उपत्यकासहित १८ वटै जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष बनाइएका छन् । जेठमा ६ महिनाका लागि पदाधिकारी चयन गरिए पनि हालसम्म पूर्ण कमिटी बनेको छैन । इन्चार्ज र सहइन्चार्ज पनि खाली छन् ।

प्रदेश २ को आठवटा जिल्लामा सीके राउत नेतृत्वको पार्टीको विशेष सक्रियता र गतिविधि देखिएको छ । त्यसको तुलनामा अन्य जिल्लामा पार्टीको गतिविधि कमजोर देखिएको छ ।

सीके राउतले यसअघि दुई पटक आफ्नो शक्ति परीक्षण गरिसकेका छन् । २०७४ मा भएको तीन तहको चुनावमा उनले ‘कोठली बाहर मोहर’ अर्थात् मतपत्रमा रहेको चुनाव चिह्नको कोठा बाहिर मतदान भन्ने अभियान चलाएका थिए । दलहरुले चुनाव प्रचार गरेजस्तै उनले तत्कालीन स्वतन्त्र मधेस गठनबन्धनको नामबाट सो अभियान चलाएका थिए । तर उनको अभियानको पक्षमा लागेर कतिले ‘कोठा बाहिर मत’ दिए भन्ने कुनै तथ्याङ्क छैन । यद्यपि सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ता त्यतिबेला ३० देखि ४० प्रतिशत मतदान चुनाव चिह्न भन्दा बाहिर हालिएको दाबी गर्दै आएका छन् ।

त्यस्तै, २०७६ मा भएको उपचुनावमा सीके राउत नेतृत्वको जनमत पार्टीले भाग लिएको थियो । स्वतन्त्र मधेस गठबन्धन त्यागेर जनमत पार्टी गठन गरेर मुलधारको राजनीतिमा आएका सीके राउतको आफ्नो शक्ति परीक्षणको यो दोस्रो चरण थियो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा स्थानीय तहमा १० वटा पदमा सो पार्टीले उम्मेदवारी दिएको थियो । तर त्यहाँ पनि सोचेजस्तो परिणाम आउन सकेन ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदका लागि भएको चुनावमा जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले जम्मा ११ मत ल्याएका थिए । त्यहाँ एक हजार ४०३ मतदाता छन् । जसमध्ये एक हजार ११४ जनाले मतदान गरेका थिए । सप्तरी सीके राउतको गृह जिल्ला हो । सीके राउतको आफ्नै गृह जिल्लामा लज्जास्पद मत आएको अवस्थाले पनि सो पार्टीको जनाधार कति छ भन्ने प्रस्ट भएको कतिपयको बुझाइ छ ।

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदका लागि भएको उपचुनावमा जनमत पार्टीबाट दिनेश राय यादवले उम्मेदवारी दिएका थिए । एक हजार ३५६ मतदातामध्ये एक हजार ९३ जनाले मतदान गरेका थिए । त्यसमध्ये जनमत पार्टीका उम्मेदवारले ५२ मतमात्र पाएका थिए ।

मोरङको धनपालथान गाउँपालिकाका–२ का अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा जनमत पार्टीबाट चनरादेवी मण्डलले उम्मेदवारी दिएकी थिइन् । उनले ९ मतमात्र प्राप्त गरेकी थिइन् । जबकी त्यहाँ ४ हजार ७४ मतदातामध्ये ३ हजार २८४ जनाले मतदान गरेका थिए ।

सिरहा कल्याणपुर वडा नम्बर १२ का अध्यक्ष पदका लागि भएको चुनावमा जनमत पार्टीका मोहम्मद अताउल रहमानले १६० मत ल्याएका थिए । यस्तै, रौतहतको गढीमाइ नगरपालिकाको वडा नम्बर २ को अध्यक्षका लागि भएको चुनावमा जनमत पार्टीका राधेश्याम साह बनियाँले १२ मतमात्र ल्याएका थिए । बाराको बारागढी वडा नम्बर १ का अध्यक्षका लागि भएको चुनावमा जनमत पार्टीका उम्मेदवार शंकरप्रसाद चौधरीले ३ मतमात्र ल्याए ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि जनमत पार्टीका उम्मेदवार अञ्जनी देवी मण्डलले ६१६ मत प्राप्त गरेकी थिइन्, जबकी सो गाउँपालिकामा १८ हजार ५८८ मतदातामध्ये १२ हजार ५८९ जनाले मतदान गरेका थिए । महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ८ का अध्यक्षका लागि भएको मतदानमा जनमत पार्टीका उम्मेदवार फुलकुमारी देवीले ९ मतमात्र ल्याइन् । सोही नगरपालिकाको वडा नम्बर २ को अध्यक्षका लागि भएको चुनावमा जनमत पार्टीका विरेन्द्र कुमार साहले २२३ मत मात्र प्राप्त गरेका थिए । कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदका लागि भएको चुनावमा जनमत पार्टीका उम्मेदवार मोहम्मद हनिफ गद्दीले २८ मतमात्र प्राप्त गरेका थिए ।

पश्चिम मधेसको कपिलवस्तु जिल्लामा जनमता पार्टीले आफ्नो संगठन राम्रो रहेको दाबी गर्दै आएको छ । तर कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ताले जनमत पार्टीको संगठन कतै नदेखिएको बताए । उनले भने, ‘जुनसुकै पार्टीका अध्यक्ष जिल्लामा आउँदा अलिअलि भिडभाड हुने गरेको छ, सीके राउत आउँदा पनि त्यस्तै भिडभाड थियो तर उहाँ गइसकेपछि केही देखिँदैन ।’

उपनिर्वाचन भएको दुई वर्षपछि अर्को चुनाव हुन गइरहेको छ । त्यसमा पनि सीके राउतको पार्टीले खासै प्रगति गर्न नसक्ने धेरैको बुझाइ छ । सीके राउतको पार्टीको महाधिवेशन भइसकेको छ । जिल्ला प्रदेश, पालिकाका समितिहरु गठन भइरहेको छ । संगठनहरु बनेपछि विगतको भन्दा केही सुधार होला तर अपेक्षाकृत सुधारको सम्भावना कम रहेको संघका अध्यक्ष गुप्ताले दाबी गरे ।

जनमत पार्टीका अध्यक्ष सीके राउत तेस्रो चरणको शक्ति परीक्षणको तयारीमा लागेका छन् । उनले आफ्नो संगठन रहेका १७ वटा जिल्लाको स्थानीय तहका हरेक पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । त्यही भएर वडा तहदेखि संगठन विस्तारको तयारी भइरहेको सो पार्टीका नेताहरु बताउँछन् ।

ती जिल्लाका २६ सय वडामध्ये करिब २ हजारमा आफ्नो संगठन बनाइसकेको जनमत पार्टीको दाबी छ । हालसम्म एक सय ६८ नगरपालिका तथा गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकीमा पनि अधिवेशन हुने तयारी भइरहेको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।

सीके राउतको देवत्वकरण

जनमत पार्टीका नेता तथा कार्यकर्ता आफ्ना पार्टीका अध्यक्ष सीके राउतलाई भगवानको दर्जा दिन थालेका छन् । उनको तस्बिर अंकित सेतो टोपी शिरमा लगाएर कार्यकर्ताहरु विभिन्न कार्यक्रममा सहभागी हुने गरेका छन् । चाडपर्वमा उनको तस्बिरमा कार्यकर्ताहरुले पूजा गर्न थालेका छन् । ‘यो एउटा कुनै व्यक्तिलाई देवत्वकरण गर्ने शैली हो, यसले समग्र समाजलाई सुधार गर्नेभन्दा पनि एउटा व्यक्तिलाई मात्र अगाडि बढाउने कार्य गर्दछ,’ राजविराजका बलराम यादवले भने । पार्टी, संगठन र जनाधार एकातिर भए पनि व्यक्तिवादी सोच र चिन्तनका आधारमा आफूलाई ठुलो देखाउनका लागि यस्ता गतिविधि हुन थालेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप