बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माफ गर्नुहोला मित्र, क्रान्ति सम्भव छैन

आइतबार, ०५ मङ्सिर २०७८, १४ : ५८
आइतबार, ०५ मङ्सिर २०७८

राजधानीका चिया पसलहरूमा अचेल चिया कम, गफ ज्यादा विक्री हुने गरेका छन्् । बिहानको चिसोलाई चिर्नेमा चियाको भन्दा ताता र पेचिला राजनीतिक र सामाजिक मुद्दाहरूमाथिको टिप्पणीको नै बढी भूमिका रहेको देखिन्छ । यसो त राज्यले नागरिकहरूलाई भुलाइराख्न हरेक दिन नयाँ नयाँ मसला दिनमा कुनै कसुर छाडेको छैन । त्यही पनि मूर्ख जनता राज्यले केही दिएन हामीलाई, आफ्नो नागरिक नै सम्झेन भनी गलफट्याउँछन््् ।

गफैगफमा माहोल गरम हुँदै जाँदा क्रान्तिका कुरा पनि पेलिन आइपुग्छन््, तर्क दिनेहरू क्रान्तिको रङ्ग रातो हुन्छ भन्छन्् त कोही हरियो हुने जिकिर गरी बस्छन् । कतिले त जोशमा होश गुमाउँछन् । प्वाक्क बोल्दिहाल्छन्– क्रान्ति छिट्टै आउँछ । जरुर आउँछ । न आइ त्यसलाइ कहाँ सुख्ख छ र ! यी चिया पसलका गफलाई चोकतिरै छाडेर बस्तिका गल्ली, पहाडका कन्दरा, विश्वविद्यालयका कक्षाकोठाहरूमा बसी चिन्तन गर्दै म भन्छु कि क्रान्ति सम्भव छैन । अझ आफै आउने त ‘नो चान्स ।’

रगत उम्लेका युवा वर्गलाई यस भनाईप्रति खेद प्रकट गर्न मन लागिदिदो हो । भनाई एकदम बकवास र सडेगलेको पनि लाग्नेमा कुनै दुई मत नहुँदो हो । तर, उनीहरू आफैलाई नै पुँजीवादको विराट छत्रछाँयाभित्र बिलाउदै गएको आभास छैन । समाजवादीहरूले मालेमावादको गुनगान गाइ  हिँडिरहँदा पुँजीवादले मारेको फड्कोबारे उनीहरू अनभिज्ञ नै रहेका होलान् ।

यता कम्रेडहरू मार्क्सको जीवनी रट्दै गर्दा पुँजीवाद आफ्नो समय सापेक्ष रुप र सार परिवर्तन गर्दै विश्वको मन मस्तिष्कमा बस्न सफल भएको तथ्य कम्युनिस्टहरूलाई स्वीकार गर्न बहुत हम्मेहम्मे हुने गरेको छ । पुँजीवादको नयाँ पखेटा निस्कनुका पछाडि थुप्रै राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक र अन्य कारण होलान् । तर, नेपालजस्तो कम विकसित देशमा हावी भएको तत्वलाई यसरी पनि ब्याख्या गर्न सकिन्छ ः

अर्थ–राजनीतिक आयामहरूमा देखिएको परिवर्तन :

मार्क्सले कम्युनिस्ट आन्दोलनको रुपरेखा कोर्दा बखतको पुँजीवाद र अहिले हामीले व्याख्या गर्दै आएको पुँजीवादबीच ठूलो खाडल छ । मार्क्सले एकाधिकार वित्तीय पुँजीवादविरुद्ध लड्नका निम्ति हतियार तयार गर्दै थिए । उनी सीमित भूगोलभित्रका अलग–अलग सामन्ती, पुँजीवादी र विस्तारवादीहरूलाई कसरी परास्त गर्न सकिन्छ भन्नेमा लागि परेका थिए । किनकी उनले देखेको पुँजीवाद त्यही थियो ।

अहिले पुँजीवाद एकाधिकार वित्तीय पुँजीवाद हुँदै एकाधिकार निगम पुँजीवादसम्म आइपुगेको छ । साम्राज्यवादी, शोषक र विस्तारवादीहरू अहिले मुखौटा परिवर्तन गरी कर्पोरेट पुँजीवादको भेषमा व्याप्त छन्् । अब अहिले पनि पुरानै मार्क्सको हतियारले लड्छु भन्नु बाइकको इन्जिनले रकेट उडाउँछु भन्नु सरह हो । एक्ला एक्लै छरिएर रहेका पूँजीपतिहरू अहिले कर्पोरेटका माध्यमले विश्वभर एकै जालो फ्याँक्न सफल भएका छन्् ।

उनीहरूले यस समन्वयकारी भूमिकालाई तल्लो वर्ग माझ पनि प्रयोग गर्दै आएका छन्् । नाफाको निकै सानो भाग आफ्ना कामदारहरूमा बाँड्ने, उनीहरूलाई अन्य सेवा सुविधामा छुट दिने, छोटामोटा शेयरहरूमा भुलाइदिने जस्ता नयाँ आर्थिक रणनीतिमार्फत् श्रमिक वर्गहरूसँग देखा पर्न सक्ने अन्तरविरोधलाई दबाइराख्न सफल पनि भएका छन् । जसलाई “लोककल्याणकारी” को नाम पनि दिने गरेको पाइन्छ ।

कुनै कुनै पुँजीवादी देशहरूले त समाजवादीहरूको गाँस, बास, कपास निःशुल्क दिनेजस्ता नारालाई समेत मात खुवाउन सुरु गरिसकेका छन् । यस्तो अवस्थामा आम नागरिकहरूले समाजवादका ती पुराना नाराहरूमा विश्वस्त भइरहलान् भन्न गाह्रो छ । यसबाहेक पुँजीवादले हासिल गरेको अर्को ठूलो सफलता भनेको विश्व समुदायमाझ भ्रम र डर कायम राख्न सक्नु हो । ‘फुटाऊ र शासन गर’को अर्को रुप ।

मानवअधिकार, स्वतन्त्रता, समावेशी, समानुपातिक, संघीयताजस्ता विषयहरू पुँजीवादी व्यवस्थाबाहेक अर्को कुनै व्यवस्थामा सम्भव नै नभएको र यी उपलब्धि पनि गुम्न सक्ने डर पैदा गरेको छ भने यी विषयहरूलाई बेलाबखत आफूअनुकूल प्रयोगमा ल्याएर सबैलाई बराबर रहेको भ्रम छर्न पनि सफल छ ।

यसको ज्वलन्त उदाहरण अहिलेको निर्वाचन प्रणाली र यसैमार्फत् निर्मित संसदीय व्यवस्था हो ।

जहाँ हरेकपटक हारेकाले जित्ने र फेरि उही जितेकाले हार्ने र ती सबै मिली नेतृत्व चुन्ने, अनि जनतामा निहित सार्वभौमसत्ता हो भनी भ्रम छर्ने कार्य निरन्तर कायम रहेको छ । यस मानेमा विभिन्न दलालहरूमार्फत् विश्वभर नै पुँजीवादको सत्ता कायम राख्न कर्पोरेट पुँजीवादीहरू झन–झन सफल भएको देखिन्छ ।

वर्गको रूप परिवर्तन

मार्क्सले आफ्नो कृति ‘पूँजी’मा पूँजी विकास गर्ने क्रममा मुख्यतः उद्योगपति र श्रमिक वर्ग दुई वर्गबीचको मात्र अन्तरविरोधलाई व्याख्या गरेका छन्् । किनकी त्यस समयको औद्योगिक पुँजीवाद निकै द्रुत गतिमा विकसित हुँदै गइरहेको थियो, जसको मारमा सबैभन्दा बढी औद्योगिक श्रमिकहरू थिए ।  तिनै श्रमिकहरूको नेतृत्वदायी भूमिकामार्फत् राज्यसत्तामा क्रान्ति आउँछ भन्नेमा मार्क्स ढुक्क थिए ।

त्यसैले त उनले संसारभरिका मजदुरहरू एक हांै भनी अपिल पनि गरे । यसै हतियारको प्रयोगले मजदुर आन्दोलनमार्फत् लेनिनले सफलता पनि पाए ।

पछि बिस्तारै विस्तारवादी र अर्धसाम्राज्यवादी पुँजीवादको विकास हुँदै गयो । जसको मारमा गाउँका किसानहरू अग्रपंक्तिमा थिए । तिनै उत्पीडित वर्गहरूको अगुवाईमा नै क्रान्ति आउन सक्ने देखेर माओले गाउँकेन्द्रित किसान विद्रोह र गुरिल्ला युद्धमार्फत् ठूलो परिवर्तन ल्याउन सफल पनि भए ।

तर अहिलेको यस कर्पोरेट दलाल पुँजीवादमा पनि उही पुरानै वर्गसंघर्षको आशा राख्नु पूर्णतः मूर्खता मात्र हो । पुँजीवादको रुप परिवर्तनसँगै वर्ग संघर्षको दर्शनमा वर्ग एवम् वर्गीय चेतनामा पनि परिवर्तन भएको छ । मजदुर र किसानहरू त अहिलेको पुँजीवादमा उठेर प्रतिकार गर्नै नसक्ने गरी थलिएका छन्् । उनीहरूसँग क्रान्ति गर्छु भन्ने दृढ विश्वास त होला तर आफूहरूकै अगुवाईमा क्रान्ति सफल हुन्छ भन्नेमा आफै पनि सशंकित छन्् ।

यी दुई वर्गको साथ त क्रान्तिमा अपरिहार्य छ तर स्वयम् मूल भूमिकामा रहेर आफ्नो नेतृत्वमार्फत् आमूल परिवर्तनको आशा अरुले राख्नु सर्वथा गलत छ । तथापि अझै पनि राजनीतिक मुद्दाहरूमा मजदुर र किसान वर्गलाई नै अघि सारेर ढालको रुपमा प्रयोग गरिन्छ । तर, राजनीतिक अधिकारको प्रयोगमा यिनीहरूलाई पुछारमा राखिन्छ ।

साँच्ची नै क्रान्ति ल्याउने हो भने यी दुई वर्गलाई अर्को वर्गको खाँचो छ, जसको जनशक्ति पनि ताकतवर छ र जो क्रान्तिको नेतृत्व गरी आधारशक्ति बन्न पनि योग्य छ । यस विकसित नयाँ वर्गलाई कहिँ “नयाँ मध्यम वर्ग” त कतै “शिक्षित श्रमिक वर्ग” पनि भन्ने गरिन्छ । त्यो वर्ग तपाईं हामी सबै हो, जो चिया पसलमा गफ लगाउँदै गरेका भेटिन्छन््, लेखहरू लेख्दै र पढ्दै गरेका भेटिन्छन्् । कोही विश्वविद्यालयका कक्षा कोठाहरूमा भेटिन्छन्् त कोही पासपोर्ट विभागतिर बरालिदै गरेका भेटिन्छन्् ।

यही नै हो क्रान्तिको नेतृत्व गर्न लायक वर्ग, कर्पोरेट दलाल पूँजीपतिहरूसँग डटेर भिड्न सक्ने सक्षम वर्ग । जो संख्याको हिसाबले पनि ठूलो, आर्थिक रुपले पनि निम्न वर्गभन्दा थोरै सक्षम र बौद्धिक हिसाबले पनि द्रुत चेतनाको फैलावट हुन सक्ने वर्ग हो । मजदुर र किसानहरूलाई साथ लिएर हिँड्न सक्ने र राज्यसत्तामा आमूल परिवर्तन ल्याउन सक्ने वर्ग पनि यही मध्यम वर्ग नै हो ।

यसै सन्दर्भसँग मिल्ने प्रसंग पश्चिमी दार्शनिक एरिस्टोटलले पनि आफ्नो राजनीतिक दर्शनमा जिकिर गरेका थिए । त्यहाँ उनले उपल्लो वर्ग सत्तामा पुगे पूँजीको विकासमा मात्र केन्द्रित हुने र तल्लो वर्ग सत्तामा पुग्दा उपल्लो वर्गप्रति प्रतिशोध र बहिष्कारको चेतना जागृत हुने हुँदा सबैलाई बराबर न्याय नहुने भएकाले नै मध्यम वर्गले सत्ताको नेतृत्व लिई सबैलाइ बराबर न्याय दिनुपर्छ भनेका थिए ।

तर, हालको पुँजीवादी व्यवस्थामा ठूलो संख्यामा ग्रसित वर्ग पनि यही मध्यम वर्ग नै हो । यही उत्पीडित वर्ग नै क्रान्तिको अग्रपंक्तिमा हुनु पर्ने हो । तर, चुनौती यति धेरै खडा भैसकेको छ कि दलाल पुँजीवाद वर्गलाई सहजै भ्रममा पार्न झनझन सफल हुँदै गएको छ ।

उपभोगमुखी बजारको अर्थ–राजनीतिक नीतिमार्फत अहिलेको पुँजीवादले यस वर्गलाई काबुमा राख्न खोजेको देखिन्छ । आवश्यकता र उपयोगी सामाग्रीहरूभन्दा विलासिताका माध्यमहरू बजारमा बढी फैलाएर पुँजीवादले उपभोगमा मात्र भुल्ने गुलामहरूको बजारलाई बढावा दिएको छ । थोरै सुविधा र धेरै लालचीपन हरेक मध्यमवर्गीय चिन्तनभित्र घोल्न पुँजीवाद सफल छ ।

त्यसैले त बेला–बेला पुँजीवादले नयाँ मसला दिन्छ, माइतीघर मण्डलाजस्ता अनेकन चोकहरूमा झुण्डहरूको एकठ्ठा गर्छ, क्षणिक जोश भरिदिन्छ तर उक्त विषय जरोमा पुग्न नपाउँदै बजारमा न्यू फ्लेभरको मसला ल्याइदिन्छ, अनि लाग्छ जमात फेरि त्यतै । यसरी भुल्ने भुलाउने चक्र चलिरहन्छ निरन्तर कालसम्म । त्यसैले त हाम्रा विश्वविद्यालयहरू पनि “शिक्षित गुलाम”हरू मात्र उत्पादन गर्ने कारखाना बन्न पुगेका छन् ।

यसै सन्दर्भमा आहुतिले बारम्बार दिने उदाहरण सम्झने गरेको छु । जसमा उनले उपभोक्तामुखी नेपाली समाजको व्याख्या गर्ने गरेका छन्– नेपाली कामदार विदेशमा बडो मिहिनेतका साथ श्रम गर्छ, धन पनि आर्जन गर्छ । नेपाल फर्कन्छ । एयरपोर्टमा झर्छ । अनि त्यो पैसा विलासिताका सामान टिभी, मोबाइल आदिमा खर्च गर्छ, न कि कुनै उत्पादनमूलक कार्यमा लगानी गर्छ । जसले गर्दा त्यो पुँजी फेरि विदेशमै कर्पोरेट पुँजीपतिहरूसँग सहज ढंगले पुग्छ । अन्ततः नेपाली समाजलाई उपभोगमुखी नै बनाइराख्छ र उत्पादन हुन दिदैन । यसरी कर्पोरेट पूँजीको चक्र चलाइराख्न उनीहरूले यथास्थानमा आफ्ना दलालहरू पनि खडा गरेर राखेको पाइन्छ ।

नेत्रविक्रम चन्द विप्लवले पनि यी मध्यमवर्गीय जमातलाई कम्युनिस्ट शैलीमा व्याख्या गर्दै आफ्नो एक लेखमा उल्लेख गरेका थिए, “यस्तो लाग्छ कम्युनिस्टका लागि सोच्ने र अनुसन्धान गर्ने काम जति सबै मार्क्स, लेनिन र माओले गरिदिइसके  । हाम्रो काम त ती लेखहरू संकलन गर्ने, घोक्ने, नक्कल गर्ने र सोहीअनुरुप हाउभाउ गर्ने मात्र हो । ”

भुल्न, भुलाउन सहज छ, तर क्रान्ति गर्ने दृढ़ इच्छाशक्ति बोकी हिँड्न कठिन । स–साना कुराहरूमा अल्झिरहने, आपसको अन्तरद्वन्द्वभित्र नै रुमलिरहने, ,एकाधिकार पूँजीप्रति उच्च मनोकांक्षा राख्ने, हुलमा बहकिने जस्ता केही आधारभूत विशेषता बोकी हिँडेका मध्यमवर्गीय जमातसँग मजदुर र किसानहरूले कसरी आशा राख्ने ? सयौँ वर्षदेखि समाजको तल्लो स्तरमा रहन बाध्य पारिएका यी दुई वर्गका लागि क्रान्तिको रंग न रातो छ न हरियो, वस सुनसान कालो छ । जो बिस्तारै मन बुझाउन बाध्य छन् कि क्रान्ति र परिवर्तनले आफूलाई ढाड फर्काई बसिसक्यो, मुहार लुकाएर । यस्तो माहोलमा माफ गर्नुहोला, क्रान्ति सम्भव छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप