ad
x

कसरी नेपाल बन्छ ?

person explore access_timeमंसिर ५, २०७८ chat_bubble_outline0

नेपाल किन समृद्ध र विकसित बन्न सकेन ? किन नेपाल गरिबको गरीब छ ? किन नेपाल बन्न सकेन ? हरेक दिन नेपालीहरुलाई छाया जस्तै पछ्याइरहने चार शब्दको यो सवाल जति सरल लाग्छ, त्यसको उत्तर भने सरल र सहज छैन ।


त्यसो त सरकारका मन्त्री र सचिवहरुले मुलुकभित्र र बाहिर नियमितजसो हुने गोष्ठी, सेमिनार र फोरमहरुमा मुलुक प्रगतिपथमा अग्रसर भएको रंगीन प्रतिवेदनहरू प्रस्तुत गरेको पाइन्छ । त्यस्ता प्रतिवेदनहरू  आफ्नो पद र जागिर जोगाउने उपक्रम मात्र हुन् भन्नेमा कोही पनि भ्रममा छैन ।



वास्तविकता त यो हो कि नेपाल संसारकै अति कम विकसित गरीब मुलुकहरुको श्रेणीमा पर्दछ । जनता हिजोका राणा राजतन्त्रको अवधिमा मात्र असन्तुष्ट थिएनन्, बहुदल र वर्तमान गणतन्त्र कालमा पनि उस्तै असन्तुष्ट छन् । नेपाली जनताले २४० वर्ष निरंकुशतन्त्र भोग्नु पर्यो, जसमा राज्यसत्तामा जनताको सहभागिता रहेन, जनता शिक्षाको अवसरबाट  वञ्चित रहे ।



त्यस्तो अवस्थामा नेपाल गरीबी र पछौटेपनको शिकार हुनु स्वाभाविक थियो । त्यसपछिका  सात दशक जनताले राजनीतिक संघर्षमा बिताए । मुलुकको विकासले खासै गति लिन सकेन । तथापि मुलुकमा लोकतन्त्र ÷ गणतन्त्रको स्थापना  भयो ।



लोकतन्त्र र गणतन्त्र कालमा सिंहदरबारले पश्चिमा पुँजीवादी विकासको मोडेल अवलम्बन गर्न पुग्यो, जसले गर्दा मुलुकको पुँजी, कच्चामाल, जलस्रोत, जनशक्ति सबै विदेश पलायन हुने अवस्था निर्माण भयो । यसलाई रोक्ने कुनै कदमहरू नेतृत्वले चाल्न सकेन । मुलुकको दशौं लाख जनशक्ति राज्यको प्रोत्साहनबाट विदेश पलायन भयो ।



मुलुकलाई समुन्नति र विकासको मार्गमा डोर्याउने दायित्व राजनैतिक नेतृत्वको हो । तर, बहुसंख्यक जनता नेतृत्वबाट निराश देखिन्छन् । किनकि, गणतन्त्र स्थापना भएको एउटा युग बितिसकेको छ तर मुलुक विकास प्रगति समृद्धि र सुशासनको मार्गमा अगाडि बढ्न सकेको छैन । राजनैतिक दलका नेताहरु आफ्नो दलको स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्न सकेनन्  एक अर्कालाई पछार्ने खेलमै लिप्त रहे, फलस्वरुप राष्टिय एकता निर्माण हुन सकेन ।



 नेपालजस्तो भूराजनीतिक अवस्थितिमा रहेको र आर्थिकरुपले परनिर्भर मुलुकमा शक्ति राष्ट्रहरुको स्वार्थलाई उपेक्षा गर्न नसकिने कुरा सही हो । तर, मुलुकको बागडोर सम्हालेको राजनैतिक नेतृत्व कहिल्यै पनि   विदेशमुखी र परनिर्भरतावादी चिन्तनबाट  मुक्त हुन सकेन । आफ्नो कुर्सी जोगाउन विदेशीहरु सामु नतमस्तक हुने परम्पराको विकास भयो ।



 बहुदलकालमा र गणतन्त्र आगमनपछि पनि वर्षैपिच्छेजसो सरकार बदलिने खेलले चरम राजनीतिक अस्थिरता सिर्जना भयो । अघिल्लो निर्वाचन स्थिरताको नारामा लडियो । जनताले नेकपालाई अत्यधिक बहुमतबाट जिताए । तर, पनि नेकपाले स्थिरता सुशासन दिन सकेन ।

माथिको विवरणबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि राजनीतिक परिवर्तनको मिसनमा त मुलुकको राजनीतिक नेतृत्व काफी हदसम्म सफल रह्यो । तर, सत्ता सञ्चालनमा, मुलुकलाई स्थिरता, विकास र समुन्नति दिने सवालमा खरो उत्रिन सकेन । नेताहरुको आपसी सत्ता र शक्तिको संघर्ष र खिचातानीको शिकार जनता र सिंगो मुलुक बन्न पुग्यो ।

नेपाल किन बनेन भन्ने सवालको बुँदागत र सरसर्ती जवाफ यो बाहेक सम्भवतः अर्को हुन सक्तैन । अर्थात् नेपालमा समुन्नति र समृद्धि ल्याउने आश्वासन जनतालाई दिएर लामो संघर्षबाट सत्तामा पुगेको राजनीतिक दल र त्यसको नेतृत्व पंक्ति नै मूलभूत रुपमा नेपालको गरीबी, पछौटेपन र कुशासनका लागि जवाफदेही छ । तर, नेतृत्वलाई दोष दिएर मात्र जनतालाई उम्कने बाटो यस कारण छैन कि  जुन नेताहरुलाई जनताले गाली गर्ने गरेका छन् तिनीहरुलाई जनताले नै चुनेर पठाएका हुन् ।

देश किन बनेन भनेर नेताहरूमाथि एकोहोरो दोषारोपण गरिरहँदा यो तथ्य पनि बिर्सनु हुँदैन  कि चीन र भारतजस्ता दुई विशाल र शक्तिशाली मुलुकलाई सन्तुलनमा राखेर नेपालको अस्तित्व जोगाउने पनि मुलुककै नेताहरु हुन् ।  अमेरिका, रुस र बेलायतजस्ता शक्तिशाली सबै मुलुकहरूसित कुशलतापूर्वक मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध राखेर मुलुकको स्वतन्त्रता सार्वभौमसत्ता, अखण्डता जोगाउने ऐतिहासिक काम गर्ने पनि हाम्रै  देश हाँक्ने  नेताहरु नै हुन् ।

हामीले देखेका छौं, इतिहासमा कसरी शासकहरुले विचार नपुर्याउँदा तिब्बत र सिक्किम सिद्धिए । कसरी पाकिस्तानको विभाजन भयो । कसरी तत्कालीन राष्ट्रपति जेआर जयवर्धनेको सरकार  अमेरिकी खेमातिर लाग्दा ८० को दशकमा श्रीलंकालाई टुक्राउन सोभियत संघ र भारत श्रीलंकालाई टुक्राउन झण्डै सफल भएका थिए । तर, इतिहासदेखि आजसम्म नेपालको बागडोर सम्हालेका नेताहरुको कुशलताकै कारणले गर्दा राष्ट्र जोगिएको कुरा पनि बिर्सनुहुँदैन । यसका लागि बीपीदेखि महेन्द्रसम्म, पुष्पलालदेखि प्रचण्डसम्मका सबै नेताहरुको सकारात्मक योगदानलाई पनि नबिर्सौं । 

नेतृत्वको विषयलाई एकछिन पन्छाएर अब नेपाल किन बनेन भन्ने सवाललाई अरु कोणहरूबाट पनि पडताल गरौं ।   सडक र रेल्वे सञ्जाल नै विकास, प्रगति र समृद्धिका मुख्य आधार हुन् । अमेरिका युरोप आदि मुलुकहरुले तिनै विकसित पूर्वाधारको जगमा टेकेर नै प्रगति गरेका हुन् । तर, हामीकहाँ सडक र रेल नेटवर्क विकास गर्न कठोर भूगोलका कारण कठिन र अत्यधिक खर्चिलो छ । त्यसैले अमेरिका र युरोप भारत चीनतिरका रेल सञ्जाल हेरेर हाम्रो किन भएन भन्ने गुनासो गर्नुको खासै अर्थ छैन ।

  संसारका समृद्ध मुलुकहरुको इतिहास हेर्ने हो भने ती सबैजसो मुलुकहरुमा आरम्भमा  कृषि र औद्योगिक उत्पादनको  निर्यात व्यापारबाट समृद्धिको जग बसेको हो । यद्यपि पछिल्ला दशकमा पर्यटन पनि यसमा थपिएको छ ।  प्रकृतिले नेपाललाई सबथोक दिएको छ । तर, समुद्र नदिएर हामीलाई ठगेको छ ।

समुद्री कार्गो नै निर्यात व्यापारको मुख्य आधार हो ।  हामी निर्यात व्यापारका लागि अप्ठेरो छिमेकी भारतमाथि निर्भर छौं । सात दशकमा भारतले कहिल्यै पनि हामीलाई सहज, सरल र निर्बाध रुपमा समुद्रसम्म पहुँच उपलब्ध गराएको छैन ।

मुलुकको विकास र समृद्धिका लागि कुनै पनि राष्ट्रका जनतामा उद्योग तथा व्यापार वाणिज्यमा उद्यमशिलताको आवश्यकता हुन्छ । तर, दुर्भाग्यवश विगत दुईसय वर्षको इतिहासमा नेपाली जातिको रुझान आफ्नै भौतिक सम्पदा उत्पादन गर्नेतिर होइन अरूका लागि सम्पदा उत्पादन गर्ने, त्यसको सुरक्षा गर्ने र त्यसबापत  तलब बुझ्ने मानसिकताले  आमनेपाली जनमानसमा घर गरेको छ ।  आफ्नो गाउँघरतिरका जमीन बाँझो राखेर पोर्चुगल र कोरियातिर कृषि कर्म गर्न नेपाली युवाहरु उद्यत देखिनु यही मानसिकताको उपज हो । राज्यले यसैलाई प्रोत्साहन गर्दछ ।

स्वीट्जरल्याण्ड वा इजरायलले गरेको प्रगतिको दुहाई त दिने गरिन्छ, तर त्यहाँका जनताको उद्यमशिलताको चर्चा भने हामी गर्दैनौं । यसबाट यो स्पष्ट हुन्छ कि हाम्रो इतिहासको विरासतबाट पैदा भएको मनोविज्ञान पनि हाम्रो प्रगति र समृद्धिमा बाधक बनेको छ ।

 कुनै पनि मुलुकको विकास र समृद्धिमा त्यहाँका जनताको शिक्षादीक्षा र चेतनाको स्तरको निर्णायक भूमिका हुन्छ । हामीकहाँ राणाकालसम्म अर्थात् आजभन्दा ७५ वर्ष पहिलेसम्म आमजनतालाई पढ्ने लेख्ने सुविधा थिएन । बेलायत इटलीजस्ता युरोपीय मुलुकहरुमा अक्सफोर्ड क्याम्ब्रिज आदि शिक्षाका केन्द्रहरु आजभन्दा आठ–नौ सय वर्ष पहिले नै खुलेका थिए  ।

भारतमा आजभन्दा लगभग अढाई सय वर्ष पहिले नै मद्रास कलकत्ता मा कलेजहरू खुलेका थिए । हामीकहाँ पहिलो विद्यालय (राणाहरूका लागि) खुलेको  सन् १८५४ मा हो भने  त्रिभुवन विश्वविद्यालय खुलेको सन् १९५९ अर्थात ६२ वर्ष पहिले मात्र औपचारिक उच्चशिक्षाको आरम्भ नेपालमा भएको  हो । यसलाई पनि हाम्रो पछौटेपन र अविकासको अवस्थाको एउटा महत्वपूर्ण कारण मान्न सकिन्छ ।

आखिर, जुनसुकै राज्य व्यवस्था वा प्रणाली भए पनि जबसम्म माथि उल्लेख भएका समस्याहरु सम्बोधन हुँदैनन्, तबसम्म नेपाल गरीब र अविकसित रहनु अनिवार्य छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X