हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा
पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव जितेका थिए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि उनी राजनीतिक रूपमा पनि ओलीकै साथमा रहने अड्कलबाजी भएको थियो । यद्यपि उनी एमालेमा प्रवेश गरेनन् ।
पछिल्लो समय उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध हुने चर्चा पनि चलेको छ । तर, सो पार्टीका अन्य केही नेता र त्रिपाठीबीच व्यक्तित्वको टकराव भएका कारण त्यति सकारात्मक माहौल बन्न नसकेको स्रोत बताउँछ । लोसपामा राजेन्द्र महतो पार्टीको वरीयताक्रममा दोस्रो स्थानमा छन् । यस्तै, शरतसिंह भण्डारी तेस्रो, अनिलकुमार झा चौथो स्थानमा छन् । त्रिपाठी आफूलाई राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताभन्दा सिनियर मान्छन् । उनी कुनै पनि हालतमा उनीहरूभन्दा तलको पोजिसनमा बस्न चाहँदैनन् ।
स्वतन्त्र राजनीतिक समूहका एक नेताले भने, ‘त्रिपाठीजी लोसपामा जानुहुन्न, उहाँले आफ्नै नेतृत्वमा पार्टी गठन गर्दै हुनुहुन्छ, पार्टी गठन गरिसकेपछि कहाँ जाने, के गर्ने भन्ने तय हुन्छ ।’ यता लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले पनि त्रिपाठी लोसपामा प्रवेश गर्ने विषयमा चर्चा नभएको बताए । उनले भने, ‘त्रिपाठीजी लोसपामा आउनेबारे कुनै छलफल भएको छैन, यदि उहाँ आउन चाहे पार्टीले स्वागत गर्छ तर तत्काल त्यस्तो केही कुराकानी भएको छैन ।’
स्रोतका अनुसार लोसपामा महन्थ ठाकुरपछिको पोजिसन पाएमात्र त्रिपाठी लोसपामा जान सक्छन् । तर राजेन्द्र महतोलगायतका नेताहरू त्रिपाठीलाई दोस्रो वरीयतामा राख्न चाहँदैनन् । त्यसैले पनि उनी लोसपामा सामेल हुने विषय पेचिलो बनेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार त्रिपाठी नयाँ पार्टी गठन गरेर मधेसका विभिन्न असन्तुष्ट शक्ति तथा समूहलाई एकीकृत गर्ने योजनामा जुटेका छन् । जसपा नेपालसँग असन्तुष्ट रहेका नेताहरू, लोसपामा असन्तुष्ट रहेका नेताहरूसहित विभिन्न दलमा असन्तुष्टिका बाबजुद विकल्प नभएका कारण गुम्सिएर बसेका नेता तथा कार्यकर्तालाई समेटेर मधेसमा एउटा वैकल्पिक शक्ति बनाउने अभियानमा त्रिपाठी जुटेको स्रोत बताउँछ ।
आफ्नो सोही अभियानका सन्दर्भमा छलफलका लागि त्रिपाठी भारत गएको बताइएको छ । उनी दिल्ली पुग्ने बित्तिकै मंसिर २ गते भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृङ्गलासँग भेट गरेका थिए । त्यसपछि उनले भारतीय जनता पार्टीका नेताहरूसँग पनि भेट गरेका छन् ।
उनी काठमाडौँ फर्केपछि नयाँ पार्टीको घोषणा गर्ने तयारी रहेको उनी निकट एक नेताले रातोपाटीलाई बताए । ‘मङ्सिरभित्र नयाँ पार्टी घोषणा हुन्छ, त्यसपछि गठबन्धन बनाउने कि एकीकरण गर्ने भन्नेबारे छलफल हुन्छ,’ ती नेताले भने ।
स्वतन्त्र राजनीतिक समूहका सदस्य एवं प्रतिनिधिसभा सदस्य वृजेश गुप्ता भने नयाँ पार्टी गठनको बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । उनले भने, ‘यसबारे मलाई केही थाहा छैन, त्रिपाठीजी इण्डिया जानु भएको छ, फर्केपछि उहाँलाई नै सोध्नु होला ।’
Foreign Secretary @harshvshringla met former Health Minister of Nepal Mr. Hridayesh Tripathi. Foreign Secretary appreciated his useful role in enhancing bilateral cooperation in the fight against COVID 19 during his tenure. pic.twitter.com/vIzTa1TBIk
— Arindam Bagchi (@MEAIndia) November 18, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता
-
गजेन्द्रनारायण सिंहको विचार र कार्यदिशा अहिले कसले बोकेको छ ?
-
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता