शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

शनिबार, ०४ मङ्सिर २०७८, २० : २१
शनिबार, ०४ मङ्सिर २०७८

गत कात्तिकको बेमौसमी बाढी, पहिरोका कारण अवरुद्ध सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो । 

बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।

राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रक र यात्रुवाहक बस बाहेकका साना यातायातका साधन वारपार गर्न सक्ने बनाइएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन । यस्तै जालेबगरमा सडक भएको ठाउँमा नदी बग्न थालेपछि नदीलाई डाइभर्ट गरेर अस्थायी रुपमा वैकल्पिक सडक बनाइएको छ ।

बाढी पहिरो भएको एक महिनासम्म पनि सडक नखुलेपछि स्थानीयवासी आक्रोशित थिए । सडक सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका कामसमेत प्रभावित बनेका छन् । बजारमा महँगी बढेको छ भने व्यापारीले समेत कृत्रिम अभाव सिर्जना गरेको स्थानीयवासीको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप