शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मिथिला अवधको संस्कृति जोड्न रामायण सर्किट आवश्यक

शनिबार, ०४ मङ्सिर २०७८, २० : १८
शनिबार, ०४ मङ्सिर २०७८

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि रामायण सर्किटका साथै विकासका मुद्दाहरू समेत जोड्नु पर्ने आवश्यकता रहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा भएको रामायण सर्किट तथा मिथिला अवध सम्बन्धका बारेमा आयोजना गरिएको कार्यक्रममा मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन दुई स्थानलाई सडक, रेल तथा हवाई मार्गबाट जोडेर पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका हुन् । 

प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए । नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुणालिकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँहरूको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको जानकारी दिइन् । 

अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहेका राजेन्द्र सिंह पङ्कजले नेपाल भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताए । विश्व हिन्दु परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षा विना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको जिकिर गरे । 

रामायण सर्किट निर्माण हुँदा रामायणकालीन वस्तुहरूको म्युजियम,अडियो भिडियो गैलरीका साथै राम र सीतासँग जोडिएका कुराहरूको संरक्षण, जानकीको जन्म, बाल्यकाल, क्रिडास्थल, फुल टिप्ने स्थल, राम सीताको पहिलो भेट भएको स्थल, धनुष यज्ञ स्थल, विवाहमण्डप स्थल लगायतका थुप्रै स्थानहरूको संरक्षण हुनेछ । सम्मेलनमा रामायण सर्किट सम्बन्धी विभिन्न विद्वानहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप