शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अरु दल काँग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् : केपी ओली

शनिबार, ०४ मङ्सिर २०७८, १७ : २१
शनिबार, ०४ मङ्सिर २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम रहेको बताएका थिए । 

“हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए । “सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उनले भने, “तर नेपाली काँग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल काँग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।”

ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताए । एमाले नेतृत्वको सरकारविरुद्ध सबै दल लागेर कठपुतली सरकार निर्माण गरेको उनले टिप्पणी गरे । वर्तमान सरकारले जनताको विश्वास जित्नेगरी काम गर्न नसक्ने उनको दाबी थियो ।  'जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम गरिएको छ', एमाले अध्यक्ष ओलीले थपे, 'अन्तैबाट बनेको सरकारले प्रतिनिधिसभा संसद् बैठकमा विश्वासको मत लिने काम गरेर लज्जास्पद काम गरेको छ ।'

उनले सरकार बनाउने थलो संसद् भए पनि सांसदको मतबाट सरकार गठन हुनुपर्ने यस पटक अन्तैबाट गठन भएको बताए । 'परमादेशले सरकार बन्यो । योभन्दा ठूलो जनताको अपमान के हुन्छ ? यो सरकारले केही काम गर्नेवाला छैन,' उनले भने ।

सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वतको क्यालेण्डरसमेत सार्वजनिक गरे । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्याइरहेको बताए । उनले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दा मुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिए ।   महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप