बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘नेकपा विभाजनको असर प्रलेसमा देखापरिसकेको छैन’

प्रगतिवादी स्रष्टाका रुपमा म राष्ट्रवादभन्दा पर जान चाहन्छु : डा. अमर गिरी
शनिबार, ०४ मङ्सिर २०७८, १३ : ३८
शनिबार, ०४ मङ्सिर २०७८

वरिष्ठ साहित्यकार डा. अमर गिरी प्रगतिशील लेखक संघ (प्रलेस) का पूर्वअध्यक्ष हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका पूर्वप्रमुख पनि हुन् । उनी कवि, समालोचक तथा समसामयिक  विषयमा कलम चलाउने विश्लेषकसमेत हुन् ।

यतिबेला नेपालको प्रगतिवादी साहित्यिक आन्दोलन कमजोर एवं छिन्न भिन्न बनेको छ । कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाईको सरकार बन्दाखेरि पनि मार्क्सवादी कला साहित्यको जग भने बलियो हुन सकेन । प्रलेसजस्तो प्रगतिवादी स्रष्टाहरूको छाता संगठनले   विज्ञप्तिहरू जारी गर्नेबाहेक देखिने गरेर कुनै प्रभावकारी भूमिका निर्वाह गर्न सकेन भन्ने गुनासाहरू आइरहेका छन् ।

यो अवस्थामा प्रलेसको पूर्वअध्यक्ष एवं समालोचक/विश्लेषकसमेत हुनुको नाताले डा. गिरीले अहिलेको अवस्थालाई कसरी नियालिरहेका होलान् ? वर्तमान सन्दर्भमा प्रलेसले खेल्नुपर्ने भूमिका के हुन सक्छ ? यिनै विषयमा हामीले डा. गिरीसँग साहित्य–वार्ता गरेका छौं ।   

कवि गिरी विसं ०१७ साल भदौ २७ मा दाङमा जन्मिएका हुन्  । उनका ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ, ‘दुःसाध्य समय’ र ‘शब्दहरूका बीचमा’ कविता संग्रह प्रकाशित छन् । त्यसैगरी, गिरीका ‘समय, समाज र संस्कृति’ नामक वैचारिक कृति पनि प्रकाशित छन् । सांस्कृतिक रुपान्तरणको पक्षमा कलम चलाउँदै आएका गिरीका दर्जनौं समालोचना/विश्लेषणहरू अखबारहरू  नियमितजसो प्रकाशित हुँदै आएका छन् । प्रस्तुत छ, प्रलेसका पूर्वअध्यक्ष गिरीसँग नेपालको प्रगतिशील साहित्यिक आन्दोलनबारे गरिएको कुराकानी–

हामीले यो कुराकानी गरिरहँदा तपाई काठमाडौं बाहिर, दाङमै हुनुहुँदोरहेछ, अचेल केमा व्यस्त हुनुहुन्छ ?

पढाइ लेखाइमा दिनहरू बितिरहेछन् । स्थानीय दैनिक पत्रिकामा नियमित लेख्छु । बेलाबखत साहित्यिक कार्यक्रमहरूमा सहभागी भइन्छ । केही नयाँ पुस्तकहरूको तयारीमा छु । अहिलेको मेरो दिनचर्या यही हो ।

नेपालमा कम्युनिस्ट पार्टीले साढे ३ वर्ष सरकार चलायो । झण्डै दुईतिहाई बहुमत आयो । कम्युनिस्टहरूको यत्रो जगजगी हुँदा पनि प्रगतिशील साहित्यकारहरूको साझा संस्था प्रलेसले चाहिँ आफूलाई जागृत गर्न नसकेको हो ? ०७४ को चुनावपछिको नेपाली प्रगतिशील साहित्यिक आन्दोलनलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?

प्रगतिशील लेखक संघ विभाजित हुनहुँदैनथ्यो, भयो । विभाजित भएपछि यसको असर पर्ने नै भयो ।  सामान्यतया प्रलेस सक्रिय नै देखिन्छ । जति गर्नसक्नुपथ्र्याे, त्यति गर्न चाहिँ नसकेकै हो । यसमा कोरोना महामारीले पनि केही काम गरेको छ । नेकपाको सरकार भएका बेला यसले सहयोग लिन सकेको भए राम्रो हुन्थ्यो । तर, राज्यले पनि यस्ता संस्थाहरूलाई त्यति महत्व दिएको पाइन्न । सहयोगका निम्ति आग्रह गर्दा पनि सहयोग प्रप्त गर्न नसकेका अनुभवहरू छन् ।

२०७४ सालपछि प्रगतिशील साहित्यिक आन्दोलन अपेक्षाअनुसार अघि बढ्न सकेको पाइन्न । प्रलेसले पनि भनेजस्तो गर्न सकेको छैन, अन्य संस्थाहरूले गर्न सकेका छैनन् । तर, केही हुँदै नभएको भने होइन ।

एकथरि स्रष्टाहरू प्रलेसबाट अलग भएपछि यसको भूमिका तुलनात्मकरुपमा कमजोर भएको छ । अर्कातिर यसले वैचारिक र संगठनात्मक ढंगले आफूलाई त्यति प्रखर र सबल ढंगले प्रस्तुत गर्न सकेको पाइन्न । प्रलेसले यस विषयमा आउँदा दिनहरूमा ध्यान दिनुपर्छ । समयले आन्दोलनका अगाडि गम्भीर चुनौतीहरू थपिदिएको छ । तिनको सामना गर्न नसके यसले आफ्नो सान्दर्भिकता बचाइराख्न सक्दैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा प्रलेस पनि विभाजित देखियो । महासचिव लगायत धेरै पदाधिकारीले विज्ञप्ति जारी गरेर संसद विघटनको विरोध गरे । तर, प्रलेसका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कुनै विज्ञप्ति जारी गर्नुभएन, यसबारे तपाई के भन्नुहुन्छ ? तपाईचाहिँ प्रलेसको कुन कित्तामा ?

प्रलेस साझा संस्था हो । यसका आफ्ना सीमा छन् । कुनै विषयमा समान धारणा बनेन भने यसले संस्थागतरुपमा विज्ञप्ति निकाल्न सक्दैन । संसद विघटनमा पनि यसले संस्थागत विज्ञप्ति निकाल्न सकेन । महासचिव, मलगायतका दर्जनौं प्रलेस सम्वद्ध स्रष्टाहरूले संसद विघटनको विरोध गर्‍यौं । तर, अध्यक्ष यस विषयमा मौन बस्नुभयो । यसलाई हामीले प्रलेसको त्यही सीमाभित्र रहेर हेर्ने हो ।

आखिर यी तीन पार्टीका बीचमा ठूलो अन्तर केही देखिन्न । संसद विघटनलगायत कतिपय विषयमा मतभेद छन् । तर, मिलेर गर्न सकिने विषय पनि धेरै छन् । मतभेदका विषयहरूलाई आ–आफ्नो ठाउँबाट उठाउँदै साझा विषयहरूलाई मात्रै अघि बढाउन सके प्रलेस अगाडि बढ्न सक्छ । अहिले गर्नुपर्ने पनि यही हो ।

साहित्यकारहरू राष्ट्रवादको सन्दर्भमा पनि विभाजित भएका देखिन्छन् । एक प्रगतिशील साहित्यकारको नाताले राष्ट्रवादलाई कसरी परिभाषित गर्नुहुन्छ ?

साम्राज्यवाद, उपनिवेशवादविरुद्धको संघर्ष र मुलुकलाई एकतावद्ध गर्न राष्ट्रवादले इतिहासमा सकारात्मक भूमिका निर्वाह गरेको छ र आज पनि गर्दैछ । तर, राष्ट्रवाद अतिराष्ट्रवाद, संकीर्ण राष्ट्रवाद, सांस्कृतिक राष्ट्रवाद हुँदै फासिजमसम्म पनि पुगेको छ । अहिले पनि संसार राष्ट्रवादका यिनै बान्कीहरूको प्रहार खप्दैछ ।

राष्ट्रवादप्रति आलोचनात्मक चेत राखिएन भने यो वर्चश्वपरक धारणा र गतिविधिका रुपमा विकसित हुन्छ र राष्ट्रवाद सत्ता, एक खास जाति, धर्म, नश्ल आदिको संरक्षणको हतियारमा बदलिन्छ अनि अरुमाथि दमन शुरु हुन्छ ।

नेपालमै यस किसिमको राष्ट्रवादको अभ्यास शुरु भएको छ । एक प्रगतिवादी स्रष्टाका रुपमा म राष्ट्रवादका यी सबै रुपहरूको विरुद्धमा छु र म अन्ततः राष्ट्रवादभन्दा पर जान चाहन्छु ।

तपाईं पार्टीको राजनीतिक आन्दोलनसँग पनि जोडिनुभएको छ ? नेकपाको विघटनपछि अहिले एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) तीनवटा पार्टी बनेका छन् । यसले प्रलेसमा कस्तो धु्रबीकरण भइरहेको छ ? र, यो स्थितिमा प्रलेसले कस्तो भूमिका खेल्नुपर्ला ?

अहिले नै यसको असर (प्रलेसमा) त्यति देखापरेको छैन । आउँदा दिनहरूमा के कस्तो असर देखापर्नेछ अहिले नै केही भन्न सकिन्न । साझा मोर्चाको अवधारणालाई आत्मसात गरेर अघि बढ्ने हो भने यसले खासै समस्या उत्पन्न गर्ला जस्तो लाग्दैन ।

आखिर यी तीन पार्टीका बीचमा ठूलो अन्तर केही देखिन्न । संसद विघटनलगायत कतिपय विषयमा मतभेद छन् । तर, मिलेर गर्न सकिने विषय पनि धेरै छन् । मतभेदका विषयहरूलाई आ–आफ्नो ठाउँबाट उठाउँदै साझा विषयहरूलाई मात्रै अघि बढाउन सके प्रलेस अगाडि बढ्न सक्छ । अहिले गर्नुपर्ने पनि यही हो ।

तपाईं प्रगतिशील लेखक संघको अध्यक्ष पनि रहनुभयो । संघको नेतृत्वदायी भूमिकामा रहँदा आफूलाई सन्तोष लाग्ने के काम भयो जस्तो लाग्छ ?

म अध्यक्ष भएका बेला जे जति काम गर्न सकियो, आज फर्केर हेर्दा सन्तोष नै लाग्छ । प्रलेस मूलतः विचार, संगठन र आन्दोलनका क्षेत्रमा काम गर्ने संस्था हो । म अध्यक्ष भएका बेला यी तीनवटै क्षेत्रमा सन्तोष गर्न सकिने काम भएका छन् । प्रलेसका आफ्ना सीमा   र कठिनाइँका कारण कतिपय काम त चाहेर पनि गर्न सकिन्न ।

यहाँले नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभाग प्रमुख भई ४ वर्ष कार्यरत छँदा के कस्ता कामहरू गर्नुभयो ? प्रज्ञा प्रतिष्ठान भत्ता पचाउने थलो हो, बजेटविहीन संस्थाको काम छैन भन्ने एकथरीको आरोपप्रति के भन्नुहुन्छ ?

आरोप जसरी लगाइन्छ, त्यसमा म सत्यता पाउँदिनँ । म प्रज्ञामा जानुभन्दा अघि पनि यस्ता आरोप लगाइन्थ्यो । म आफूचाहिँ त्यसरी हेर्दिनथें । प्रज्ञाले प्रशस्त काम गरेको छ । गरेकोलाई गरेको छ पनि भन्न सक्नुपर्छ । कमजोरीहरूलाई इमान्दारिपूर्वक उठाउनुपर्छ । संस्थामा कमजोरी नै हुँदैनन् भन्ने होइन । बजेट अलि न्यून रहने गरेको हो । तर, अहिले विगतको तुलनामा स्थिति राम्रो छ । भत्ता पचाउने ठाउँका रुपमा यसलाई चित्रित गरिन हुन्न ।

प्रलेसको भविष्य कस्तो हुनेछ भन्ने कुरा यसको दृष्टिकोण र भूमिकामा भर पर्नेछ । प्रलेस सामन्तवाद साम्राज्यवाद विरोधी, नेपाली समाजको आमूल परिवर्तन चाहने स्रष्टाहरूको साझा संस्था हो । यसैअनुरुप यो चल्नुपर्छ ।

जहाँसम्म म प्रज्ञाप्रतिष्ठानमा काव्य विभाग प्रमुख भएको बेला के गरें भन्ने प्रश्न छ ,त्यसबेला केही महत्वपूर्ण काम भएका छन् । प्रज्ञा आधुनिक नेपाली कविता (एन्थालोजी), प्रज्ञा समकालीन कविता विमर्श, समकालीन नेपाली कविताको समाजशास्त्र, नेपाली प्रगतिवादी कविताको इतिहास, समकालीन नेपाली नारी कविता, समकालीन नेपाली छन्द कविता, समकालीन नेपाली मुक्तक, काव्य विमर्शका तीन भाग आदि म काव्य विभाग प्रमुख हुँदा प्रकाशित भएका हुन् । चार वर्षको अवधिमा दर्जनौं काव्य गोष्ठी गरिएका थिए । समग्रमा भन्दा त्यसबेला गरेको कामबाट मलाई सन्तोष नै लाग्छ ।

सम्बन्धित निकायबाट प्रगतिशील लेखक संघलाई चलचित्र विकास बोर्डको अध्यक्ष सिफारिस गरेर पठाउन भन्दा तपाईले आफ्नै नाम पठाएर बोर्डको अध्यक्ष भएको आरोपबारे के भन्नहुन्छ ?

त्यस्तो होइन । त्यसबेला म प्रलेसको अध्यक्ष थिइनँ । प्रलेसलाई भनिएको पनि होइन । साझा मोर्चालाई भन्ने कुरा पनि भएन । बरु जनसांस्कृतिक महासंघमा यस विषयमा कुरो उठेको थियो र अर्काे व्यक्तिको नाम अनौपचारिकरुमा आएको थियो । म महासंघको उपाध्यक्ष थिएँ । पछि सम्बन्धित मन्त्रीले मलाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षका निम्ति प्रस्ताव गर्नुभयो । मन्त्रिपरिषदले निर्णय गर्‍यो । मलाई पार्टीमा कुरा भएको होला भन्ने लाग्यो । मन्त्री पार्टीको माथिल्लो नेता हुनुहुन्थ्यो । महासंघसँग पनि कुरा भएको होला भन्ने ठानें । तर, पछि मेरो विरोध भयो । भएको कुरो यही हो ।

एकपटक तपाईंले भन्नुभएको थियो, ‘कवि कृष्णसेन इच्छुक र म जति नजिक रह्यौँ, त्यति नजिक सायद कोही रहेनजस्तो लाग्छ ।’ तर, पटक–पटक कम्युनिष्ट सरकार आए पनि इच्छुकबारे खासै केही भएको देखिएन, किन ?

कृष्णसेन इच्छुक र म जति नजिक थियौं, शायद अरु कोही थिएन भनेर म अहिले पनि भन्छु । राज्यले उहाँको सम्झनामा गर्नुपर्ने जति गर्न सकेको छैन भन्ने मलाई पनि लाग्छ । कम्युनिष्टहरूको सरकार भएका बेलामा उहाँको योगदानको उच्च सम्मान हुनेगरी राज्यका तर्फबाट केही काम हुन सक्नुपथ्र्याे, तर भएन । पार्टीहरूमा आउँदै गरेको परिवर्तन यसको कारकका रुपमा रहेको छ भन्ने लाग्छ । इच्छुकको मात्र होइन, अरुको योगदानलाई पनि बिर्सिइँदैछ ।

अब प्रलेसको भविश्य कस्तो देख्नुहुन्छ ? प्रलेसमा आवद्ध सर्जकहरूलाई रातोपाटीमार्फत के सुझाव दिन चाहनुहुन्छ ?

प्रलेसको भविष्य कस्तो हुनेछ भन्ने कुरा यसको दृष्टिकोण र भूमिकामा भर पर्नेछ । प्रलेस सामन्तवाद साम्राज्यवाद विरोधी, नेपाली समाजको आमूल परिवर्तन चाहने स्रष्टाहरूको साझा संस्था हो । यसैअनुरुप यो चल्नुपर्छ । आजको प्रगतिशील साहित्यिक आन्दोलनमा सांस्कृतिक राष्ट्रवाद, उपभोक्तवाद, यथास्थितिवाद लगायतका कमजोरीहरू विकसित हुँदैछन् । प्रलेस यससँग जुझ्न सक्नुपर्छ । जुझ्न सकेन र प्रलेसका आधारभूत मान्यताहरूलाई छोड्दै गयो भने यसको सान्दर्भिकता हराउँछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप