शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : उमेरको भर्‍याङ

शनिबार, ०४ मङ्सिर २०७८, १३ : २३
शनिबार, ०४ मङ्सिर २०७८

पढ्न त खुब पढियो
एक–एक वर्ष हैन
सोह्र–सोह्र वर्ष पढियो
नपढेको कहा हुँ र
खुबै पढेको हुँ पढ्न त
कुरा यत्ति हो
काम मात्रै नलागेको हो, पढेका कुरा ।

 पढ्न त सबै पढेको हुँ
केही छैन नपढेको भन्नू
सोह्र–सोह्र वर्षसम्म स्कुलका भित्ताहरू पढेँ
साथीका अनुहारहरू पढेँ
किताबमा भएका निर्जीव अक्षरहरू पढेँ
तीन–तीन मोड भएका
गणितका सूत्रहरू पढेँ
मरेका दिनहरू पढेँ
समाज पढेँ, देश पढेँ

विश्व पढेँ, ब्रह्माण्ड पढेँ
पढेँ, नौ लाख ताराहरू
पढेँ, सत्ताइस नक्षत्रहरू र सबै सबै तत्त्वहरू
यी सबै–सबै पढ्ने म
कहिल्यै पढ्न सकिनँ मैले
आफ्नै घरलाई
यसैले होला घरको एकअक्षर ‘घ’ पनि थाहाछैन मलाई ।।

 पढ्न त पढेँ वर्षौंसम्म
किताबका पानाहरू पल्टाई पल्टाई
तर के चाहिँ पढेँ ?
केही थाहाछैन मलाई ।

सोचँे, पढाइको भर्‍याङ चढेर
ठूलो मान्छे बनेको छु
तर त्यो रहेनछ
म त उमेरको भर्‍याङ चढेर
बूढो मान्छे भएको रहेछु आज ।
सोचेँ, कपालहरू फुले, पढ्दा पढ्दै
दाँतहरू झरे, पढ्दा पढ्दै
दुनियाँले नमस्कार गर्न थाले मलाई
मेरो पढाइ हेरेर
सोचे, विज्ञ हुँदा रहेछन् बूढाहरू
म विज्ञ भएर बुढिएँछु
तर त्यो सब झुटो रहेछ
म त घाम खाँदा खाँदै
बूढो भएँछु घाम लागेर
त्यसमाथि उमेरको भर्‍याङ चढेर ।

 पढेको छु तीन–तीन मोड भएका
गणितका घुमाउरा सूत्रहरू
लेख्यो भने पूरा जिन्दगी नै भरिने
अर्थशास्त्रका लामा–लामा परिभाषाहरू
घोकी–घोकी याद गरेको छु
चन्द्रमामा बस्ती बसाल्ने
विज्ञानका सिद्धान्तहरू
ब्रह्मान्डको सत्य ज्ञान सिकाउने
शुद्ध नेपाली व्याकरण
पढ्न त पढेकै हुँ यी सबै–सबै कुरा
तर पढेर के गर्नू
आफ्नै जीवनको जिउने सूत्र नपढेपछि

आफ्नै घरको परिभाषा नबुझेपछि
आफ्नै जीवनको सिद्धान्त नजानेपछि
के गर्नू, आफ्नै जीवनको व्याकरण नबुझ्नेले
ब्रह्माण्डको व्याकरण बुझेर
के गर्नू, यी सबै–सबै कुराहरू पढेर
एक दिन मर्नुपर्नेछ उमेरको भर्‍याङ चढेर
जानुपर्नेछ मरेको दिन
अहमताको बीउ पढाइलाई जलाएर ।।

पढेकै हुँ मैले
चुम्बकका दुई ध्रुवहरू
उत्तर र दक्षिण
रटेकै हुँ, चुम्बकका दुवै ध्रुवहरूका सिद्धान्तहरू
व्यर्थ रहेछ सबै पढाइ
पढ्नुपर्ने रहेछ जीवनका दुई ध्रुवहरू
सुख र दुःख
पढ्नुपर्ने रहेछ सङ्गतका दुई ध्रवहरू
मिलन र विछोड ।

पढ्दा पढ्दै मान्छे बुढो हुने कुरा झुटो रहेछ

मान्छे बूढो हुँदो रहेछ घाम खाएर
मान्छेमाथि पुग्दोरहेछ
उमेरको भर्‍याङ चढेर
अचम्मको छ यो उमेरको भर्‍याङ पनि
देखिँदैन कहीँकतै कहिल्यै पनि
तर कहिल्यै छोड्दैन मनुष्यलाई
जीवनमा सबै सबै कुराहरू घटबढ हुदैँ जान्छन्
तर सधैँ बढ्ने गर्दोरहेछ उमेरको भर्‍याङ
जो देखिँदैन, जो भेटिँदैन
जति पढे पनि रोक्न सकिँदैन
उमेरको भर्‍याङलाई
जति कमाए पनि किन्न सकिँदैन

उमेरको भर्‍याङ
जीवनको सबैभन्दा ठूलो भर्‍याङ हो
उमेरको भर्‍याङ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप