शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरदैलोमा जनगणना : आदिवासी, जनजातिको गुनासो किन ?

तथ्याङ्क विभाग भन्छ– गणकलाई ‘ह्यारेसमेन्ट’ गर्नु ठीक होइन
शनिबार, ०४ मङ्सिर २०७८, ११ : ३५
शनिबार, ०४ मङ्सिर २०७८

काठमाडौं । कोरोनाका कारण स्थगित १२ औं राष्ट्रिय जनगणना यही कात्तिक २५ गतेबाट देशभर सुरु भएको छ । आगामी मंसिर ९ गतेसम्म गणकहरू घरदैलोमा हुनेछन् । यहीबेला केन्द्रीय तथ्याङ्क विभागकोे तथ्याङ्कलाई मिथ्याङ्क भन्दै आएका आदिवासी, जनजातिहरू भने भाषा, धर्म लगायतबारे बाझाबाझ गरिरहेका छन् ।

धेरै आदिवासी, जनजातिहरू जनगणनामा बौद्ध र प्रकृतिपूजक लेखाउने अभियानमा छन् । राष्ट्रिय जनगणनाको अनुगमनका क्रममा हालै झापा पुगेका थारू आयोगका सदस्य भोलाराम चौधरीले भने, ‘त्यहाँका आदिवासी, जनजातिहरूले हिन्दू धर्मबाहेक अन्य धर्म लेखाउने मनस्थितिमा रहेको पाइयो ।’

थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस) ले गणना सुरु हुनु दुई दिनअघि कात्तिक २३ गते मातहतका सबै जिल्ला शाखालाई थारूहरूको धर्म बौद्ध लेख्न परिपत्र गर्यो । सामाजिक सञ्जालमा यसबारे अहिले ब्यापक बहस सुरु भएको छ । थारू युवाहरूले थाकसले कुनै बहसबिनै एकलौटी रुपमा परिपत्र गरेकाले त्यो मान्य नहुने अभिव्यक्ति दिइरहेका छन् ।

युवा लेखक सोम डेमनडौरा भन्छन्, ‘थारूको धर्मबारे अन्यौल छैन । स्पष्ट छ, जसको घरको देउता कोठामा मैया, सौंरा, गुर्वावा र आँगनमा घोडा देवता छन् भने प्रकृतिपूजक हुन् र धर्म प्रकृति हो ।’

थारू नागरिक समाज, कैलालीका संयोजक दिलबहादुर चौधरीका अनुसार अरु बेलाभन्दा पनि विशेषगरी जनगणनाको बेला थारूलगायतका अलमलमा परेका आदिवासी जनजातिहरू धर्मको सवालमा बहस गर्न थाल्दछन् र निचोडमा नपुग्दै जनगणना सकिन्छ । यो वर्ष पनि यस्तै भएको छ ।

हिन्दू वर्णाश्रमको जञ्जालभित्र धेरै आदिवासी जनजाति छैनन् । महिनावारी बार्दैनन् । त्यसैले, पापबाट मुक्ति पाउन महिलाले ऋषि पञ्चमीको ब्रत बस्न जरुरी ठान्दैनन् । आजीवन विधवा जीवन बिताउने बाध्यता पनि छैन । थारूलगायत जनजातिहरू लोग्ने बितेमा देवरसँग विवाह गर्न सक्छन् । संयोजक चौधरीका अनुसार कृषि कर्मका हरडहवा, औली, पेंडिया चाडपर्वमा रमाउनेदेखि वनलाई वनसप्ती माताको रुपमा पूजा गर्दछन् । यी तमाम कारणले थारूहरू प्रकृतिपूजक हुन् । त्यसैले, थाकसले एक्लौटी रुपमा आह्वान गर्दैमा बौद्ध धर्म लेखाउने जागरण आउँदैन । थारू गाउँका अगुवा बरघरमार्फत् गाउँ गाउँसम्म निर्णय नपुग्दासम्म थारूहरू हिन्दू नै लेखाउने देखिन्छ ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीका अनुसार २०६५ कार्तिक २ देखि ४ गतेसम्म थाकसले लुम्बिनीमा आयोजना गरेको बौद्ध विचार गोष्ठीबाट थारू समुदाय बौद्ध धर्मावलम्बी भएको घोषणा गरिएको बताए । उनले १३ वर्षअघि गरिएको घोषणालाई अहिलो परिपत्र मात्रै गरिएको बताउँछन् ।

हिन्दू भर्सेस अन्य धर्म

छयालीसको आन्दोलनपछि आदिवासी जनजातिहरु पहिचानको आन्दोलनमा जुर्मुराए । खासगरी पूर्वी भेगका राई, लिम्बूहरुले २०४८ सालको जनगणनामा किरात धर्म लेखाउने अभियान चलाए । तर, पश्चिमा थारु, मगर, गुरुङ लगायत जातिहरु भाषिक रुपमा जुर्मुराए पनि धार्मिक रुपमा उति साह्रो चासो राखेनन् । अहिले यी आदिवासी जनजातिको जातीय संस्थाले हिन्दू भर्सेस अन्य धर्म लेखाउने अभियान चलाए पनि यो खासै प्रभावकारी देखिएको छैन । किनकि समुदायस्तरमा यसबारे व्यापक छलफल नभएको उदाहरण थारुकै देखिन्छ ।

नेपाल मगर संघले बौद्ध या प्रकृतिपूजक धर्म लेखाउन भनेको छ । ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐनको परिभाषामै आदिवासी जनजातिहरु हिन्दूइतर भनिएको छ,’ मगर लेखक संघका अध्यक्ष विष्णु सिँजाली मगर भन्छन्,‘प्रतिष्ठानको परिभाषाअनुसार पनि आदिवासी जनजातिले हिन्दू धर्मबाहेक अन्य लेखाउनुपर्छ । तर, थारु समुदायको जस्तो बौद्धमात्रै एउटै धर्म लेखाउने परिपत्र गर्नुभन्दा पनि प्रकृतिपूजक या अन्य विकल्प दिनुपथ्र्यो ।’

तमु गुरुङहरुले पनि बौद्ध धर्म लेखाउने अभियानमा छन् । बौद्ध धर्मलाई हिन्दु बनाउने लमजुङका गणक विना थापालाई उसै साता तमुहरूले समातेर सिडिओ कार्यालयमा बुझाएका छन् ।

नेपाली भर्सेस अन्य भाषा

विभिन्न आदिवासी जनजातिका जातीय संस्थाले दोस्रो भाषाको रुपमा छिमेकको आदिवासी समुदायको भाषा लेखाउन अनुरोध गरेका छन् । जबकि यसअघि प्रायः आदिवासी जनजातिहरुले दोस्रो भाषाको रुपमा नेपाली लेखाउने गरेका थिए । थाकस महामन्त्री प्रेमीलाल चौधरीले जिल्ला शाखाहरुलाई गरेको पत्राचारमा दोस्रो भाषाका रुपमा छिमेकको आदिवासी समुदायको भाषा लेखाउन भनिएको छ ।

जबकि झापाको थारुले कञ्चनपुरको थारुसँग, कैलालीको थारुले सप्तरीको थारुसँग, चितवनको थारुले बाराको थारुसँग संवाद गर्ने भनेको नेपाली भाषामा हो । थाकसले आफ्नो बैठकसमेत नेपाली भाषामै सञ्चालन गर्ने गरेको छ ।

केन्द्रिय तथ्याङ्क विभागको दस्तावेजीकरणमा यसअघिको जनगणनामा थारु भाषा डंगौरा र राना उल्लेख छ । २०७८ को जनगणनामा भने केन्द्रीय तथ्याङ्क विभागले राना थारुलाई छुट्टै जातिको रुपमा राखेको छ । त्यसैले, कैलाली र कञ्चनपुरमा रहेको राना थारुको छुट्टै भाषासँगै छुट्टै जातिको पनि संख्या खुल्ने देखिन्छ । उता कैलालीमै केन्द्रित कठरिया थारुले पनि जात, अनि भाषा कठरिया तथा दोस्रो भाषाको रुपमा थारु लेखाउने अभियानमा छन् । यसरी आफ्नै जातिभित्र छुट्टै पहिचानको सवालले अहिलेको जनगणनामा थारु जाति, भाषीको संख्या घट्ने देखिन्छ ।

राई जातिको सवालमा प्रत्येक जनगणनाको प्रसंगमा राई भाषा हुँदैन भन्दा पनि तथ्याङ्क विभागले २०७८ को जनगणनामा पनि  जबरजस्त स्थापित गर्न खोजेको देखिन्छ । यो पटकको जनगणनाको फारममा राई भाषाको कोड पनि छ । ‘गणकहरूले सङ्कलन गर्ने फारममा भाषाको महलमा केन्द्रीय तथ्याङ्क विभागले राई भाषा राखेर फेरि झेली काम गरेको छ । यसको अर्थ यो पटक पनि हुँदै नभएको राई भाषाको नाममा डाटा आउने देखिन्छ,’ वान्तवा भाषाको मासिक पत्रिका बुङ्वाखाका सम्पादक पदम राई भन्छन्, ‘विभागको काम भाषाको गणना गर्ने हुँदै हैन । भाषा आयोग, किरात राई यायोक्खा, किरात राई बान्तावा खिम लगायत विभिन्न किरात राई  भाषिक संस्थाहरू र भाषाशास्त्रीहरूले राई भाषा हैन, हुँदैन भनिरहँदा विभागले यसलाई यो जनगणनामा पनि जबरजस्त स्थापित गर्न खोजेको देखिन्छ ।’

किरात राई यायोक्खाले मातृभाषामा थरगत भाषा वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बाहिङ, कुलुङ, नाछिरिङ लगायत लेखाउन अनुरोध गरेको छ । राईअन्तर्गत २६ भाषा छन् तर राई नै भाषा होइन भन्ने उनीहरुको तर्क छ ।

जनगणना–२०६८ अनुसार मुलुकभर १ सय २३ भाषा छ । भाषा आयोगले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको वर्ष दिन पहिले प्रतिवेदन दिएको थियो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् ।

पूर्ण पी राईका अनुसार गत जनगणनामा अधिक नयाँ भाषा र जातिहरू देखा पर्नु एकल पहिचानकै आकाङ्क्षा हो । उनको बुझाइमा कुनै पनि बोली भाषा हो कि भाषिका भनी छुट्याउने जिम्मा अब भाषाविद्हरूको हातमा रहेन । यो मुद्दा भाषाविद्को हातबाट फुत्किएर वक्ताको दाबीमा भर पर्नुपर्ने अनि राजनीतिक तहबाट निर्णय गर्नुपर्ने अवस्थामा आइपुगेजस्तो देखिएको छ ।

सुदूरपश्चिम र कर्णालीका २०६८ मा डोटेली, बैतडेली, अछामी, दार्चुलेली, डडेल्धुराली, बझाङी, दैलेखी, बाजुरेली छुट्टै भाषाका रूपमा सूचीकृत छन् । जबकि भाषाविदहरूको सुझावका आधारमा सरकारी अभिलेखहरूले यी नेपाली भाषाका भाषिका मान्दै आएका थिए । यसरी २०७८ को जनगणनामा नयाँ भाषा र जातिहरूको संख्या अझ बढ्ने देखिन्छ । तर धेरैको दोस्रो भाषा नेपाली हुँदाहुँदै यसलाई ‘माइनस’ गर्ने आदिवासी जनजाति संस्थाहरुको अभियान बुझी नसक्नु छ ।

 जनजाति प्रतिष्ठानको गलत अनुसूची

अनुसन्धानकर्मी एवं लेखक कमल मादेनका अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनले तिब्बती भाषा बोल्ने भोटे समुदाय मात्र होइन, चेपाङ र थकाली समुदायलाई पनि विभाजित गरेको छ । चेपाङका एकाधलाई वनकरिया र ठाउँविशेषका थकालीलाई तीनगाउँले थकाली, मार्फाली थकाली र थकालीमा सूचीकृत गरेको छ ।

‘आदिवासी जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित तथा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ । मादेन भन्छन्, ‘तर, ऐनको अनुसूचीमा परेका ल्होमी, थुदाम, तोप्केगोला र वालुङ जातिको भोटेको भन्दा छुट्टै मातृभाषा, सांस्कृतिक पहिचान आदि केही छैन । केन्द्रीय तथ्याङ्क विभाग यस्तै तथ्याङ्क थप्ने काममा जुटिरहेको छ । यस्ता गलत काम सच्याउन प्रतिष्ठान ऐन, २०५८ को अनुुसूची खारेज गरिनुपर्छ ।’

भाषाविद् अमृत योन्जन तामाङ भन्छन,् ‘मैले मेरो प्रस्तुतिहरूमा भन्दै आएको थिएँ, भाषा सत्ता र शक्तिको स्रोत हो, यसैले भाषामाथि राजनीति हुन्छ । यसर्थ भाषा राजनीतिक हतियार हो । यो कुरा यसपल्टको जनगणनाबाट पनि छर्लंग हुँदैछ । अर्को कुरा, केन्द्रीय तथ्याङ्क विभाग मिथ्याङ्क निकाल्न माहिर छ । यसपल्ट पनि ऊ सफल हुने देखियो ।’

उनी अगाडि भन्छन्, ‘घरदैलोमा जनगणना छ । तर, आदिवासी, जनजातिहरू तथ्याङ्कलाई मिथ्याङ्कको आरोप लगाइरहेका छन् । जनगणना सम्बन्धमा जातीय संस्थाको नाममा सामान्य विज्ञप्तिमात्रै जारी गरेर झारा टारिरहेका छन् । जबकि आ–आफ्नो समुदायमा सचेतना अभियानमा अझै पनि कमी देखिन्छ ।

तथ्याङ्क विभाग भन्छ– गणकहरुलाई ‘ह्यारेसमेन्ट’ गर्नु ठीक होइन

आदिबासी जनजातिहरुले विभिन्न गुनासो गरिरहँदा तथ्याङ्क विभागले भने त्यस्तो गुनासो र आरोपमा कुनै सत्यता नरहेको बताएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्ढीराज लामिछाने रातोपाटीसँग भन्छन्, ‘राई भाषा नै छैन, तथ्याङ्क विभागले जनगणना फारममा जबर्जस्ती राई भाषा राख्यो भन्ने आरोप हामीलाई लागेको छ । तर, हामीले विगतको जनगणना पनि हेर्नुपर्ने हुन्छ । २०६८ सालको जनगणनामा राईभाषीको संख्या डेढ लाख बढी छ । त्यसैले, एकैपटक उनीहरुको भाषाको महल हटाइनु ठीक हुन्न । कि त कुनै सरकारी निकाय अथवा भाषा आयोग लगायतबाट पनि समयमा राई भाषा छैन भनेर हामीकहाँ आएको भए विचार गर्न सकिन्थ्यो । मेरो जानकारीमा आएअनुसार यो गणनामा पनि राई भाषा लेखाउनेहरु छन् ।’

अर्को प्रसंगमा निर्देशक लामिछाने भन्छन्, ‘गणकहरुले आदिवासी जनजातिको भाषा, धर्मको सवालमा आफूखुशी लेखेको कुरा पनि सामाजिक सञ्जालमा आइरहेको छ । तर, यसमा पनि सत्यता छैन । उत्तरदाताले जे भन्यो, गणकहरुले त्यही लेखिरहेका छन् । बरु अनुगमनका नाममा केही जातीय संस्थाका पदाधिकारीहरुले उत्तरदाताले नजानेर गलत उत्तर भन्यो, त्यो काटेर अर्को लेख्नुस् भनेर गणकहरुलाई दबाव दिइरहेका छन् । गणकहरुलाई ‘ह्यारेसमेन्ट’ गरिरहेका छन्, त्यसो गर्नु ठीक होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप