टिकटककी डेन्टिस्ट

सोसल मिडिया प्ल्याटफर्म अल्लादिनको ‘म्याजिक ल्याम्प’जस्तै हो । सबैले यसलाई घोटेर भाग्यमानी हुन चाहन्छन् । धेरैलाई त अल्लादिनको मुख्यपात्र जिनीले अकल्पनीय वरदानसमेत दिएको छ । यस्तै वरदान पाउनेमध्ये एक हुन्, २३ वर्षीया दन्त चिकित्सक दीक्षा सापकोटा ।
प्रायःले टिकटकमा लिप सिङ्गिङ, अभिनय, नृत्य, हँसी–मजाक गरेको भिडियो पोस्ट गर्छन् । मनोरञ्जनका लागि दीक्षाले पनि सुरूमा टिकटकमा त्यही गरिन् । असाध्यै फोटोजेनिक उनका भिडियोले सुरुमै राम्रै दर्शक बटुल्न सफल भए । तर आफूले आफैलाई ‘रिक्रिएशनल र फन लभिङ पर्सन’ भन्न रुचाउने उनी ६ महिना अघिसम्म सोसल मिडियामा हल्काफुल्का ‘कन्टेन्ट’मै रमाइन् ।
टिकटकमा रस बस्दै गएपछि उनले आफूले समय बिताउने टिकटकबारे पनि खोजतलास गर्न थालिन् । यसले उनलाई यसको ट्रेन्ड र प्रभावकारिताबारे पनि अवगत भयो । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा लागेका विज्ञले टिकटकमा कति सजिलै जानकारीमूलक भिडियो हालेको देखेर सुरुमा त उनी छक्कै परिन् । सोचिन्, ‘ओ, आइ क्यान अल्सो डु डिस्, आइ क्यान हेल्प पिपल’ । उनका औँला किप्याडमा दौडिए । के नेपालमा पनि कसैले यस्तो गरिरहेको छ त ? थाहा पाइन्, सोसल मिडियामा यस्ता जानकारी दिने विज्ञ वा व्यक्तित्व निकै कम रहेछन् । मनमनै गमिन्, ‘अब आफूलाई थाहा भएको कुराबारे पनि भिडियो बनाउँछु ।’
हेटौँडामा जन्मिएकी डा. दीक्षालाई आमाबुवाले बाल्यकालदेखि नै खुला पङ्खसहित उड्न सिकाए । भन्छिन्,‘आमाबुवाले जे गर्दा तिमीलाई खुसी लाग्छ, जे कुरामा तिम्रो भविष्य सुनिश्चित हुन्छ, त्यो गर भन्नुहुन्थ्यो । तिमीले यो नै गर्नुपर्छ भनेर कहिल्यै दबाब दिएनन् । म स्वतन्त्र थिएँ ।’
प्लस टु पछि दन्त चिकित्सक बन्ने उनको स्वःनिर्णय थियो । उनले एकपटक भ्लग हेर्दा दन्तचिकित्सक भ्लगरले ‘मीठो मुस्कानका लागि काम गर्दा असाध्यै आनन्द र आत्मसन्तुष्टि मिल्ने’ बताएका थिए । यही कुराले उनलाई ‘हिट’ गर्यो । ‘वाउ, डिस इज रियल्ली गुड, मे बी आइ सुड ट्राइ डिस्,’ यसरी उनको दिल डेन्टिस्ट्रीमा बसिहाल्यो ।
त्यसैले त पढ्न गाह्रो भए पनि यसमा कहिल्यै दुःख मानिनन् । कोरोना महामारीले उनको पढाई लगभग पाँच वर्षसम्म तन्कायो । हाल इन्टर्नसिप चलिरहेको छ । त्यसैले शैक्षिक वर्षभन्दा केही ‘फ्रि’ छिन् । र, त उनको टिकटकमा भिडियोको संख्या बढेको छ । यो डिजिटल प्ल्याटफर्मलाई मनोरञ्जनका लागि मात्रै नभई आफ्नो सिकाइको स्थल बनाउन थालिन् । केही भिडियोमा ‘डेन्टिस्ट्री’ सम्बन्धी टिप्स हालिन्, जुन ‘भाइरल’ नै भइदियो । यसले उनलाई थप प्रोत्साहित बनायो । उनको भिडियो तथ्यपरक हुने भएकाले डिजिटल प्ल्याटफर्ममा उनको लाइक र फलोअर्स राम्रै छन् । फलोअर्स बढेसँगै आफ्नो उत्तरदायित्वसमेत बढेको उनी बताउँछिन् । ‘केही निश्चित फलोअर्स भएपछि अब मेरो दायित्व पनि छ है भन्ने बोध भएको छ । जानकारीमूलक भिडियो बनाउँदा अनुसन्धान गर्छु । यसले मलाई थप ज्ञान हासिल गर्न सहयोग गरेको छ ।’
दिनभरी बिरामी जाँच्दा जे जति समस्या देख्छिन्, धेरैजसो बिरामीमा देखिने एकैखालका समस्या पहिल्याउँछिन् र भिडियो बनाउन सकिन्छ कि भनेर गम्छिन् । कतिले उनलाई मेसेज पठाएर यस्तो बनाइदिनुहोस् न भनेर आग्रह पनि गर्छन् ।
भिडियोको कन्टेन्टबारे दीक्षा भन्छिन्, ‘धेरैजसो विषयवस्तु म भ्युअर्सको सल्लाहबाट छनोट गर्छु । उहाँहरूले मलाई इन्स्टाग्राममा मेसेज गर्नुहुन्छ, कमेन्टमा पनि भन्नुहुन्छ । त्यसबाट पनि मलाई आइडिया मिल्छ । मैले बिरामीहरू ह्यान्डल गरिरहने भएकोले उहाँहरूले राख्ने जिज्ञासाबारे पनि भिडियो बनाउने गर्छु ।’
सुरुमा उनी कुनै अपेक्षा बिना नै टिकटकमा प्रवेश गरेकी थिइन् रे । ‘मेरा धेरै फलोअर्स होलान्, धेरैले मेरो भिडियो हेर्छन् भन्ने थिएन । मलाई अपेक्षा पनि थिएन । तर लकडाउनपछि र इन्टर्नसीपको सुरुवातमा कहिल्यै नसोचेको कुरा भयो । टिकटकको सन्देशले असाध्यै राम्रो भइदियो । बिरामीहरुले पनि अलिअलि चिन्न थाले । विभिन्न खालका ब्रान्डले पनि सम्पर्क गर्न थाले । त्यसपछि भने, ‘ओ डिस इज रियल्ली गोइङ अन वेल’ जस्तो लाग्यो,’ हिमालझैं दन्तेलहर खोलेर उनले भनिन् ।
सोसल मिडियामा उनलाई धेरैले मेसेज गर्दा थप प्रेरणा मिलेको छ । पछिल्लो समय प्लस टु सकाएर बसेकाहरूले ‘डेन्टिस्ट्री फिल्ड’ छनोट गर्दा कस्तो हुन्छ, नेपालमा कस्तो छ, पढ्न कत्तिको गाह्रो छ, कसरी पढ्ने भनेर सरसल्लाह माग्ने गरेको उनी बताउँछिन् । यस्ता प्रश्न उनले मुख्य प्राथमिकतामा राख्ने गरेकी छिन् ।
‘कतिपय नकारात्मक मेसेज पनि आउँछ होला नि ?’ प्रश्न भुइमा नखस्दै निकै आत्मविश्वासी पारामा उनले भनिन्, ‘कसैले केही नराम्रो भनिहाले पनि मैले यो कुरामा चाहिँ सुधार गर्नुपर्छ कि भन्ने मनोवृत्ति पाल्नुपर्छ भनेर म तयार छु ।’
युवापुस्ताले आफ्नो उत्पादनशील समय डिजिटल प्लेटफर्ममा अल्झिएर खेर नफाल्न सुझाउँदै उनी भन्छिन्, ‘तपाईंले केही कुरामा यति धेरै समय खर्चिरहनुभएको छ भने प्रडक्टिभ हुनुपर्छ । जसको जे क्षेत्र छ, उहाँले थोरै भए पनि जानकारीमूलक सन्देश दिन सक्नुभयो भने यसले क्रिएटर्स र भ्यूअर्स दुबैलाई राम्रो प्रभाव पार्न सक्छ ।’
अधिक समय सामाजिक सञ्जालमा अल्झिने युवावर्गलाई दन्तचिकित्सा करियरमा जम्दै गरेकी दीक्षाको शिक्षा छ, ‘तपाईंको मुख्य काम भनेकै पढ्ने हो, आफ्नो करियर बनाउने हो, यसमा धेरै समय नअल्झिनुहोस् । तपाईंले पहिले आफ्नो पढाई पूरा गर्नुपर्यो । करियर बनाउनुपर्यो । अनि बल्ल अरू कुरामा ध्यान दिनोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्डसविरूद्ध नेपालले पायो २२६ रनको लक्ष्य
-
विपद् न्यूनीकरणको लागि सामुदायिक विपद् स्वयंसेवक तथा विपद् सूचक प्रभावकारी हुनुपर्नेमा जोड
-
आरसीबीको विजय उत्सवमा भागदौड, सात जनाको मृत्यु
-
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
-
नेपाल र नेदरल्यान्डसबिचको खेल वर्षाले अवरुद्ध
-
विराटनगरमा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन हुँदै