शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्याग गर्ने रुक्मिणी, पुजिने पचली भैरव !

शनिबार, ०४ मङ्सिर २०७८, ०७ : ३२
शनिबार, ०४ मङ्सिर २०७८

संसारका अमर प्रेमकथाहरू प्रायः भयानक पीडा र वियोगान्तले भरिएका छन् । ग्रिक मिथकका क्यूपिड र साइकीको पे्रम कथा होस् या द्वापर युगका राधा–कृष्णको । प्रेमी जोडीले कहिले शकुन्तला र राजा दुष्यन्तको जस्तै श्रापित जीवन भोग्नुपरेको छ त, कतै मुना र मदनजस्तै मिलनको पर्खाइमा जीवन नै त्याग्नुपरेको छ । यस्तै भावविह्ल गर्ने प्रेमगाथामा कान्तिपुर (काठमाडौं) नगरकी सुन्दरी रूक्मिणी र फर्पिङका राजा पलम्वरको प्रेम, विछोड र सामाजिक तिरस्कारको कथा पनि खास गरी नेवार समुदायमा राम्रै चर्चा हुने गर्छ ।

बज्र कलाकुञ्जले कौशी थिएटर, टेकुमा बिहीबारबाट प्रस्तुत गरिरहेको सांस्कृतिक नाटक ‘पचली भैरव’ अमर प्रेमकथाको द्योतक हो । सांस्कृतिक किम्वदन्तीलाई नेपालका कमै नाटकहरूमा प्रस्तुत गरिन्छ । ‘पचली भैरव’ नाटकमा स्थानीय भाषा, शैली र तत्कालीन परिवेशलाई समावेश गरिएको छ ।

नारी अनि नारी जीवनका अनेक भोगाइ । पुरुषले कहिल्यै भोग्नुपर्छ न त महसुस नै गर्न सक्छ । नाटकमा यही पक्ष दरिलो रुपमा अघि सारिएको छ । प्रकृतिले नारीलाई पुरुषभन्दा ज्यादा जिम्मेवारी सुम्पेको छ । पुरुषले आफ्नो प्रेमलाई स्वीकार्न नसक्नुमा अनेक कारण होलान् तर नारी सबै बाधा र कारणहरूलाई पन्छ्याउँदै मात्र प्रेमलाई अपनाउँछे । उसको त्याग र तपस्याले नै अन्जान प्रेम अमर बन्न पुग्छ ।

अझ रुक्मिणी र पलम्वरको प्रेमकथामा त राजा पलम्वर पचली भैरवको रुपमा स्थापित हुन पुग्छन् । नाटक अगाडि बढ्दै जाँदा पलम्वर आफ्नै प्रेमिका र छोरालाई स्वीकार्न नसक्ने बाध्यात्मक परिस्थितिको सामना गर्छन् । तर, रुक्मिणी लजालु किशोरी अवस्था पार गर्दै निर्भयी र परिपक्व नारीको भूमिकामा देखिन्छिन् । समाजको अपहेलना र तिरस्कारको सामना गरिरहन्छिन् । साथै आफ्ना पति राजा पलम्वरलाई पचली भैरवका रुपमा पूज्न छाड्दिनन् । यस्तै घटना हामी रामायणमा माता सीताको अग्निपरीक्षामा देख्न सक्छौं । माता सीता पतिको नाम लिँदै सहजै अग्निमा समाहित हुन्छिन् र भगवान राम प्रजाका अगाडी मूकदर्शक बनिरहन्छन् ।

नाटक हेर्दै जाँदा त्याग जति सबै रुक्मिणीले गरिन् तर पचली भैरव अर्थात् भगवान चाँही राजा पलम्वरलाई किन मान्नुपर्ने भन्ने प्रश्न मनमा बारम्बार आउँछ । तर नारी जननी हो, उनले जीवन दिन सक्छिन्, बद्लामा केही लिँदिनन् ।

विवाहित जोडीहरूको थुप्रै तस्विर हामी सामाजिक सञ्जालमा देख्न सक्छौ कतिपयले त विवाह पूर्व नै आफ्नो जोडी तस्विर मार्फत सार्वाजनिक गर्छन् । ती तस्विरहरूलाई म कहिलेकाहिँ  केलाउने गर्छु । महिलाले सँधै आफ्नो श्रीमान्तर्फ हेरिरहेकी हुन्छिन् तर पुरुष कतै टाढा भविष्यतर्फ टोलाइरहेको हुन्छ । अर्थात् एक नारीको जीवन आफ्नो प्रेमीमा आएर समाप्त हुन्छ । र, पुरुषको जीवन आफ्नो लक्ष्यबाट डग्मगाउँदैन ।

एक सफल पुरुषको पछाडी नारीको हात हुन्छ भन्ने त हामीले सुनेकै छौं । त्याग जति सबै रुक्मिणीको आफ्नो प्रेम प्रतिको समर्पणले नै राजा पलम्वरले सिद्धि प्राप्त गरेका थिए । होइन भने राजा पलम्वरको त पहिले नै श्रीमती र परिवारसहित आफ्नै राज्य थियो । एक्ली त त्याग जति सबै रुक्मिणी थिइन् । मायाको भोको थिइन् तर पनि पलम्वरको दोस्रो श्रीमती भएर बस्नुभन्दा एक्लो यात्रा गर्नु नै उनलाई उचित लाग्यो ।

नाटक हेर्दा महसुस हुन्छ, सयौं वर्ष पुरानो नेपाली समाज र आजको समाज महिलाको मामलामा खासै परिवर्तन भएका छैनन् । नारी सहनशक्तिको कडा परीक्षा लिने यो समाजलाई त्याग जति सबै रुक्मिणीजस्ता नारीहरूले आफ्ना साहसिक कदमहरूबाट चुनौती दिँदै आएका छन् ।

पलम्वरको रहस्य थाहा नपाइकनै प्रेममा परेकी रुक्मिणी गर्भवतीसमेत हुन पुग्छिन् । तर राजा पलम्वर वर्षौंसम्म आफ्नो राज्यको रेखदेखमा व्यस्त रहन्छन् । आफ्नो छोरालाई पनि १२ वर्ष पार गरिसकेपछि बल्ल भेट्छन् । यही कारण हुुनुपर्छ, १२ वर्षमा एक पटक मात्र पचली भैरवको दर्शन गर्ने रुक्मिणीको निर्णय पलम्वरका लागि माया र सजाय दुवै थियो । रुक्मिणीको त्याग र तपस्या देखेर नै पलम्वरले नै अजिमा (मानिसको शरीरमा देवी) रुक्मिणी नै रहेको स्वीकारेका थिए । आफ्नो प्रेमिकाको लागि १२ वर्ष कुरेरै भए पनि दर्शन दिन आउने पचली भैरवको वचनले पनि यो प्रेमकथा आजसम्म पचली भैरव जात्राको रुपमा मनाइन्छ ।

नाटकमा रुक्मिणी र उनकी आमाको संवाद सबैभन्दा आकर्षक लाग्छ । नेवारी भाषाको मात्र जानी जानी प्रयोग गरिनु र एक नारीले अर्को नारीलाई बुझ्ने, बुझाउने शैलीलाई मौन राखी ईशारामा व्यक्त गर्न लगाएर नाटककारले सबै दर्शकका लागि बुझ्ने बनाएका छन् । यसले नारी प्रतिको उच्च सम्मान दर्शाउँछ ।

कतिपय संवादमा भावनात्मक अभिव्यक्ति तिखो आवाजमा मात्र सीमित भएका छन् । नाटकमा नारी पात्रको भोगाइ र पीडा दर्शाइरहँदा पचली भैरवको महत्व भने गौण बनेको छ । नाटकको अन्त्यमा पचली भैरवले आफ्नो भैरव अवतारमा दर्शन नदिनु अलि खल्लो लाग्न सक्छ ।

यो नाटकको मुख्य उद्देश्य नेपालको कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र संवद्र्धन गर्नु हो । नेपाल मण्डल उत्पत्तिपश्चात् दक्षिण भेगको रक्षा गर्ने जिम्मा पचली भैरवलाई दिइएको थियो । पचली भैरव सबै भैरवका प्रमुख हुन् । पञ्चलिंगेश्वरको उपभ्रंश भएर पचली भएको मानिन्छ । बागमती र बिष्णुमतीको दोभानमा किराँती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले प्रविण योगपुरुष पलम्वर ध्यानमा बस्न आउने गरेको किम्वदन्ती रही आएको छ । त्यसै समयमा उनको भेट स्थानीय नेवा सुन्दरी अजिमा अर्थात रुक्मिणीसँग भएको थियो ।

चन्द्रमान मूनिकारको निर्देशन र इँगिहोपो कोइच सुनुवारको नाट्य तथा सह–निर्देशनमा निर्माण भएको यो नाटकमा सुदनमान मुनिकार, श्रृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, नानुमैंया महर्जनलगायत कलाकारहरूले अभिनय गरेका छन् । समग्रमा नाटक हेर्न लायक बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप