शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै

शनिबार, ०४ मङ्सिर २०७८, ०७ : १८
शनिबार, ०४ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।   

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्व सहमतिमा गर्न सबै वडालाई आग्रह गरेको छ ।  निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोही अनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । 

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।”   
    
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप