बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बालबालिकासँग पहिलो भारत भ्रमण

शनिबार, ०४ मङ्सिर २०७८, ०७ : १५
शनिबार, ०४ मङ्सिर २०७८

काठमाडौँको मध्यम वर्गीय परिवारमा जन्मिएकी भए पनि विदेशिने रहर कहिल्यै पलाएन । जे छ, त्यसमै सन्तुष्ट छु । मलाई स्वदेशभित्रै घुम्ने डुल्ने चाहिँ असाध्यै सोख छ । देश कोभिड–१९ को चपेटामा पर्नुअघि आफ्ना हरेक छुट्टी विभिन्न ठाउँमा घुम्न जान्थेँ । कहिले घरपरिवारसित, कहिले साथीभाइसित । नयाँ नयाँ ठाउँ घुम्ने पनि नशा नै रहेछ । अलि लामो बिदामा बिनाअवरोध घुम्न पाउँदाको मज्जा नै बेग्लै ।

सन् २०१८ को नोेभेम्बरतिर भारत भ्रमणमा जानुपर्ने भयो । आफू काम गर्ने शैक्षिक संस्थाले विद्यार्थीलाई विभिन्न देशमा भ्रमण गराउने गरेको थियो । कक्षा ६ लाई भारत लैजाने योजना थियो विद्यालयको । अभिभावकलाई यात्रा अभिमुखीकरणपछि भारत जान इच्छुक विद्यार्थीहरूको नाम सङ्कलन गरियो । सङ्ख्या उल्लेख्य नभएपछि दुईजना शिक्षकलाई पठाउने योजना रद्द भयो । एकजना मात्र शिक्षक भारत भ्रमणमा जान पाउने निर्णय भयो । त्यसमा मेरो नाम पर्‍यो ।

आफू एक्लैले आठजना विद्यार्थीको सम्पूर्ण जिम्मा लिएर अर्काको देश जानु सानो कुरा थिएन । त्यसमाथि म त कहिल्यै विदेश गएकै थिइनँ । सधैँ आमाबाबु र दिदीहरू अनि विवाहपछि श्रीमान्को संरक्षणमा रहेकी म एक्कासी पूरै जिम्मेवारीसहित विद्यार्थी लिएर देशबाहिर जानुपर्ने कुराले तनावमा परेँ । ‘अहँ ! म जाँदै जान्नँ’ भन्दा पनि स्कुलले ममाथि नै भरोसा देखायो ।

उता आमाबुबा र श्रीमानले पनि त्यसरी भारत जाने अनुमति दिनै सकेनन् । ‘भारतमा धेरै जोखिम हुन्छ । आफैँ त जोगिएर हिँड्न गाह्रो हुन्छ, कसरी विद्यार्थीलाई सुरक्षा दिन सक्छ्यौ ?’ भनेर धेरैले प्रश्न गरे । जजसलाई सुनाएँ, सबैले नजान नै सल्लाह दिए । सबैको नजरमा भारत असुरक्षित देश हो भन्ने रहेछ ।

सबैका कुराले मन बिथोलिएको त थियो । सल्लाह सबैको सुन्नु तर निर्णय आफैँले गर्नु भनेको त सुनेकै हो । त्यसैले मैले आफू एक्लै भए पनि बालबालिकाको जिम्मा लिएर भारत जाने नै निर्णय लिएँ । यसमा दुई कारण प्रमुख थिए । एक त मलाई आफू कमजोर छैन र नेतृत्व लिन सक्षम छु भनेर प्रमाणित गर्नु थियो । अर्को, विदेश भ्रमण गर्ने आफ्नो योजना भए पनि त्यो योजनामा कहिल्यै भारत पर्ने थिएन । त्यसैले मौकाको फाइदा उठाउन नै उपयुक्त लाग्यो मलाई ।

योजनाअनुसार सबै काम भयो । जाने अघिल्लो दिन ट्राभल एजेन्सीले बोलाएर सबै विस्तृत रूपमा बताएको थियो । विशेषतः म भारत जाने पक्का भएपछि बल्लबल्ल बिदा मिलाएर सैनिक अधिकृत मेरा श्रीमान् छोराको रेखदेखका लागि जिल्लाबाट घर आएका थिए । घर छाड्ने त्यो रातभरि म निदाउन सकिनँ । आँखा झिमिक्क नगरी कोल्टे फेर्दै रात काटेकी थिएँ । अरूबेला घुम्न भनेपछि मरिमेट्ने मलाई त्यो रात बेग्लै कुराले सताएको थियो ।

आफू कहिल्यै नगएको ठाउँ, त्यसमाथि धेरै ठगी हुने भनेर चिनिएको ठाउँमा म अरू कसैका मुटुका टुक्राहरूलाई आफूसँगै लिएर जाँदै थिएँ । ती आठ जनामध्ये कुनै एक विद्यार्थीलाई पनि सानो मात्र दुर्घटना भएमा मेरो दशकौँको शिक्षण पेसामा ठूलो धब्बा लाग्ने निश्चित थियो । फेरि जोखिम नलिई त केही पनि हासिल गर्न सकिँदैन भन्ने पनि थाहा थियो । अनेक तर्कना गरेर रात छ्याङ्गै बिताएकी थिएँ ।

भोलिपल्ट ९ वर्षको छोरा र श्रीमानसँगै एयरपोर्ट पुगियो । सात दिनका लागि पहिलोपटक आफ्नो छोरासँग अलग्गिँदै थिएँ । बल्लबल्ल घर आएका श्रीमान् र प्यारो छोरासँग अलग्गिँदा नमज्जा लागेको थियो । ६ कक्षाका विद्यार्थीहरू एघार बाह्र वर्षका थिए, उनीहरूले आफ्ना अभिभावकलाई छोड्दा पटक्कै दुःख मनाउ गरेनन् । सबैजना उत्साहित थिए । हरेक कुरा देखेर सिक्ने उमेर भएकाले उनीहरू नयाँ नयाँ अनुभव बटुल्दै थिए । म भने भित्रभित्रै चिन्तित थिएँ ।

टर्मिनलमा छिर्नेबित्तिकै थाहा भयो अघिल्लो रात नेपाल एयरलाइन्समा ठूलो आन्दोलन भएको रहेछ । त्यसको प्रभावस्वरूप सबै सिस्टम नै अस्तव्यस्त भएको रहेछ । यात्रुहरूको चाप र कम्प्लेनले गर्दा इन्डिया ट्रान्जिट पर्ने यात्रुहरूलाई मात्र उक्त प्लेनमा उडाइँदै रहेछ । त्यहाँ दौडधूपको माहौल देख्दा नै टाउको दुखेर आयो । जसको शक्ति उसकै भक्ति भनेझैँ सबैले आफैैँलाई लग्न जोड गरिरहेका थिए ।

छेउमै बसेका एक अधबैँसे मान्छेले बताए धेरै कुरा । उनी पनि श्रीमतीलाई उपचारका लागि दिल्ली लाँदै रहेछन् । म पहिलोपल्ट दिल्ली जान लागेको थाहा पाएर उनको दृष्टिकोण अलि बदलिएझैँ लाग्यो । मलाई केही थाहा छैन कि जस्तो व्यवहार गरे उनले । एकछिनमा त्यहीको कर्मचारीसँग मैले जसरी पनि त्यही प्लेनमा तोकिएको समयमा पठाउन अनुरोध गरेँ । आफूसँग थुप्रै विद्यार्थी भएको र समयमै एउटा कार्यक्रममा पुग्नु जरुरी भएको बताएँ । ती कर्मचारीसँगको मेरो सबै कुरा ती अधबैँसे पुरुषले ध्यान दिएर सुनिरहेका थिए ।

दिल्लीमा उपचार गर्न जाने बिरामीहरूको सङ्ख्या निकै ठूलो हुने रहेछ । बिरामीहरूलाई नै प्राथमिकतामा राख्नु जरुरी लाग्यो मलाई पनि । त्यसैले धेरै कर पनि गरिन । एकैछिनमा एउटा गाडी आएर हामीलाई पिक गरेर एउटा होटल पुर्‍यायो । होटलमा पनि विद्यार्थीहरूले धेरै रमाइलो गरे । म भने एउटा कुनामा बसेर दुःखमनाउ गरिरहेकी थिएँ किनभने फ्लाइट ढिलो हुनाले हाम्रो योजना बिग्रिसकेको थियो । दिल्लीबाट आग्रा जाँदा बाटोमा पर्ने वृन्दावन र मथुरा घुम्ने योजना थियो । सबै कुरा गडबड भएको थियो ।

फेरि विमानस्थल पुगेपछि उही अधबैँसे पुरुष भेटियो । किन हो, उनको मप्रतिको दृष्टिकोण फेरिएजस्तै लाग्यो यसपटक । उनकी श्रीमतीले म पहिलोपटक दिल्ली जान लागेको थाहा पाएर धेरै कुरा बताउन खोजिन् । तर, ती पुरुषले रोके । उनले भने, ‘पढेको मान्छेलाई केही भन्नुपर्दैन, उनीहरूले सबैथोक गर्न जानेको हुन्छ ।’ उनले किन त्यसो भने भनेर मैले आजसम्म बुझ्न सकेकी छैन ।

प्लेन उडेपछि पनि केटाकेटीहरू साहै्र उत्साहित थिए । नेपालकै एयरपोर्टमा साँझ परिसकेको थियो । निर्धारित समयभन्दा निकै ढिलो भइसकेकाले म भित्रभित्रै आत्तिएकी थिएँ । अँध्यारोमा अर्काको भूमिमा पुगेर आफ्ना विद्यार्थीहरूको सुरक्षा गर्नु आफैँमा चुनौतीपूर्ण काम थियो ।

 एजेन्सीले भारतबाट खटाइदिएको मानिस नभेटेसम्म मेरो मनमा शान्ति थिएन । दिल्ली एयरपोर्टमा ओर्लिएपछि विद्यार्थीहरू विमानस्थलको भव्यतामा नतमस्तक भए । तर, मेरो भने तनाव झन् बढ्यो । एक त भारतीय सिम बोकेकी थिइनँ । कसरी त्यो मानिसलाई भेट्ने नै ठूलो समस्या थियो । केटाकेटीहरू भने खुसीले फुरफुर गर्दै फोटो खिच्नैमा व्यस्त थिए ।

सबैजनाका लागि पहिचान गर्न सजिलो हुने हिसाबले स्कुलको नाम लेखिएको पातलो विन चिटर नै हाम्रो पहिचान बन्न पुग्यो । हामीलाई रिसिभ गर्न उताबाट आउनुभएको व्यक्ति भेटेपछि भने मेरो आधी समस्या नै हल भएझैैँ भयो । उहाँले मेरा सारा जिम्मेवारी लिइदिएपछि म तनावमुक्त भएँ । साढे आठ बजे विमानस्थलमा अवतरण भएका हामी रातभरि गाडीको यात्रा गरेर एक बजे आग्रा पुग्यौँ । थकानले चुर भएकाले सबै केटाकेटी आरामले सुतिहाले । आधारातमा सुतेको भए पनि विद्यार्थीहरूले केही गुनासो गरेनन् ।

भोलिपल्टको चियापानपछि आग्राको ताजमहलतिर लाग्यौँ । बल्ल सुरु भयो हाम्रो भारतको रोमाञ्चक यात्रा ।

ताजमहल देखेपछि त म अवाक नै भएँ । ताजमहलको सुन्दरता, त्यसको कलात्मकता, रङ्गहरूको सम्मिश्रण, वर्णन नै गरिनसकिने । शताब्दीयौँसम्म करोडौँ मान्छेले अवलोकन गरेर पनि पे्रमको प्रतीकका रूपमा कहलिएको त्यो भव्यतालाई कसले पो सही बयान गर्न सके होलान् र ? साच्चै नै अद्वीतीय रहेछ यो पे्रमको प्रतीक ।

ताजमहल वरिपरि घुिमरहँदा मैले भारत भ्रमण गर्ने आफ्नो निर्णय सही सम्झेर आफैँलाई धाप मारेँ । संसारभरका मान्छेलाई आफूतिर आकर्षित गर्न सक्ने अलौकिक क्षमता भएको महल निर्माण गर्न सक्ने सम्राट साजहाँलाई मान्नै पर्छ । त्योभन्दा बढी त मुमताजको भाग्यलाई पनि सलाम गरेँ मैले; जसले यति माया गर्ने पति पाइन् र उनीहरूको माया अमर हुन पुग्यो । युगौँयुगलाई उदाहरण बनेको यो पे्रमको प्रतीकले अरू धेरैका पे्रमलाई आझेल पारेझैँ लाग्यो मलाई ।

आग्राबाट हाम्रो अर्को गन्तव्य थियो जयपुर । जयपुर जाँदै गर्दा बाटोमै फतेहपुर सिक्री भन्ने ठाउँ पर्दोरहेछ । इन्डियाका धेरै दरबारहरू अलि उच्च स्थानमा बनाएको हँुदोरहेछ । अत्यधिक गर्मीले गर्दा शीतलताका लागि यस्तो उपाय अपनाइएको हो भन्ने तथ्य गाइडहरूले बताए । कलात्मक यो स्थानमा मानिसहरू मन्नत (कामना) माग्न जाँदा रहेछन् ।

जयपुर जानुपूर्व नै विद्यार्थीहरूसँग भर्र्चुअल भ्रमण गरिसकेकाले हामीलाई धेरै कुरा थाहा थियो । पिङ्क सिटीको नामले प्रचलित भए पनि जयपुरका भित्ताहरू गेरु रङ्गले सजिएका थिए । हवा महल, जन्तर मन्तर, सिटी प्यालेस, आमेर फोर्ट आदिको सुन्दरताले मन्त्रमुग्ध नै बनायो । जन्तरमन्तरमा आजको युगसम्म मिल्नेगरी बनाइएका कलात्मक घडीहरू प्रशंसायोग्य थिए । बलिउड सिनेमामा मात्र देखेका दृश्यहरू आफ्नै आँखाले देख्न पाउँदा हर्षविभोर भएकी थिएँ ।

जयपुरमा सबैभन्दा मलाई आकर्षित गरेको ठाउँ आमेर फोर्ट थियो । मुख्य सडकभन्दा केही किलोटिर टाढा डाँडामा अवस्थित यो किल्लाले इतिहास बोकेको रहेछ । पुरानो जमानाका भारतीय शासकहरूको शान देखेर म नतमस्तक नै भएँ । बिनाकुनै विद्युतीय यन्त्र नै राजरानीको स्नानका लागि समतल जमिनको पानी माथि उचाइमा पुर्‍याइएको कुरा गाइडहरूको मुखमै झुन्डिएको थियो । यो ठाउँमा पुग्नु नै सौभाग्य हो भन्ने लाग्यो ।

आमेर फोर्टबाट फर्किंदा बालबालिकाहरूले ऊँट चढ्ने इच्छा देखाए । मलाई उनीहरू लड्ने, चोटपटक लाग्ने हो कि भन्ने डर थियो । ऊँट चढेर सबैले रमाइलो गरे । आफ्ना साथीभाइलाई सुनाउन नयाँ अनुभव बटुले । नेपालमा यो कुरा सम्भव पनि थिएन ।

जयपुरको मिनाबजार त्यहाँको सबैभन्दा पुरानो बजार रहेछ । साँझको केही समय विद्यार्थीसहित सपिङ गर्न गयौँ । काठमाडौँको बजारमा महँगो दाम तिरेर सामान किन्न अभ्यस्त हामी, त्यहाँ भने भनेजस्ता सामान सस्तोमा पाएर दङ्ग पर्‍यौँ । अझ विद्यार्थीहरूले बार्गेनिङ गर्ने नयाँ कला सिके ।

सामान प्रशस्त बार्गेनिङ गरेपछि मात्र किन्नुपर्ने रहेछ, नत्र ठगिने रहेछ भनेर सिके उनीहरूले । त्योभन्दा अघि जति भन्यो त्यतिमै किनिरहेका थिए । भारतीय मुद्रालाई नेपाली मुद्रामा कन्भर्ट गर्दै विद्यार्थीहरूले सपिङ गरेको दृश्य निकै रोचक थियो ।

मैले पनि आफन्तहरूलाई थुप्रैलाई उपहार किन्ने मौका पाएँ । आफूलाई पनि इन्डियन कपडा र गरगहनाको एकदमै सोख भएकाले केही थान सामान आफ्ना लागि खरिद गरेँ । सबैलाई उपहार किने तर बुबा, छोरा र श्रीमान्का लागि केही नकिन्दा पछि थकथक पनि लाग्यो । रङ्गहरूको सम्मिश्रण नै जयपुरको विशेषता भएकाले पनि होला, पुरुषहरूका लागि हुने सामान एकदमै कम पाइने रहेछ । एउटा मात्र रङ्गका सामान नै पाइएन । रङ्गीविरङ्गी सामान भएकाले हेर्दा दिक्क लागे पनि काठमाडौँ ल्याएपछि विशेष देखिनेछ भन्ने लाग्यो ।

जयपुरबाट दिल्लीको करोलबाग आएर बस्यौँ । दिल्लीको नेसनल साइन्स म्युजियम विद्यार्थीहरूको लागि नगइ नहुने ठाउँ रहेछ । म्युजियम त भुलभुलैया नै लाग्यो हामीलाई, एकचोटि छिरेपछि निस्कनै गाह्रो । विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धित धेरै प्रयोग आफैँले गर्न पाए, आफ्नै आँखाले हेर्न पाए । यस्तो भव्य म्युजियममा धेरै कुरा सिक्न पाउनु आफैँमा गज्जबको कुरा हो ।

दिल्लीको कुतुब मिनार अर्को आकर्षण थियो । टेलिभिजनमा देखेको भए पनि यो ठाउँ त्यति भव्य होला भन्ने मैले ठानेकै थिइनँ । उक्त स्थान सोचेभन्दा हजार गुणा बढी सुन्दर पाएँ । फोटो खिच्दा खिच्दै पनि रहरै नमर्ने एउटा जादु नै थियो त्यो स्थानमा । ठाउँठाउँमा राखिएको शिलालेख पढ्दै थुप्रै जानकारी लियौँ । भत्किएका भग्नावशेषलाई पनि सरंक्षण गरेर राखिएको कलात्मक शैलीको त्यो मिनारले दैनिक हजारौँलाई आकर्षित गर्दोरहेछ ।

महात्मा गान्धीको समाधिस्थल हेर्न राजघाट पनि गयौँ । पुस्तकहरूमा गान्धीको बारेमा प्रशस्त पढिएकाले समाधिस्थलमा पुगेपछि उहाँप्रतिको सम्मानले आफ्नो शीर आफसेआफ झुक्यो । यस्तै राजकीय सम्मानका योग्य त नेपालमा पनि थुपै्र योद्घा र सुधारकहरू छन् । उनीहरूले पनि मृत्युपश्चात यस्तै सम्मान पाए पनि हुने भन्ने भावहरू मनमा आइरहे ।

केही समयअघि धादिङको पातलेबन रिसोर्टमा बस्दा हामी स्कुलकै शिक्षकसाथीहरू माथि डाँडासम्म हाइकिङ गएका थियौँ । त्यहाँ कालु पाण्डेको समाधि रहेछ । नेपाली इतिहासकै वीर योद्घाको सामान्य समाधि स्थलको झल्झली याद आयो मलाई । हाम्रा राष्ट्रनायकहरूले पनि त्यस्तै राजकीय सम्मान पाए हुन्थ्यो जस्तो लागिरह्यो ।

दिल्लीमै अवस्थित अक्षरधामको पनि दर्शन गर्‍यौँ । कलात्मक शिल्पको अनुपम उदाहरण रहेछ यो । पूरै धाम अवलोकन गर्न लामै समय लाग्ने रहेछ । अक्षरधाम पुगेपछि विद्यार्थीहरूको ज्याकेटमा स्कुलको नाम देखेर काठमाडौँ विश्वविद्यालयका केही पदाधिकारीहरू पनि कौतुहलताबस बोल्न आउनु भएको थियो । विदेशी भूमिमा आफ्नै देशका नागरिक भेट्दाको सुखद अनुभव थियो त्यो । त्यही दिन हामी लोटस मन्दिर पनि गयौँ । कुनै धर्मविशेषको लागि नभई पे्रम अनि भाइचाराको उद्देश्यले स्थापना भएको रहेछ यो मन्दिर ।

जहाँ गए पनि एउटा कुरा खुबै याद गरेँ । यी ठाउँहरूमा प्रवेशको लागि टिकट अनिवार्य थियो । टिकट लिएपछि दिनुपर्ने सुविधाहरू पनि दिन कुनै कन्जुस्याइँ थिएन । बालबालिकालाई सबै ठाउँमा प्रवेश निःशुल्क थियो । हाम्रो देशमा त यस्तो हुँदैन । धेरैजसो ठाउँमा तीन वर्षभन्दा माथिकालाई टिकट लाग्छ भनेर लेखिएको हुन्छ । कति ठाउँमा त टिकट काटेर गए पनि गतिलो शौचालयसम्म भेटिँदैन ।

जुनसुकै देशका लागि इतिहास साहै्र महत्त्वपूर्ण हुन्छ । त्यसैले इतिहासलाई बडो ध्यानसँग संरक्षण गरिएको रहेछ । विश्व सम्पदाको सूचीमा परेका यी स्थानको भव्यतामा कुनै शङ्का थिएन । जुन स्थान पुगे पनि घण्टौँ बितेको पत्तै नहुने । स–साना कुरामा ध्यान दिन सकेकैले होला पर्यटकहरूको भीड पनि उत्तिकै देखिन्थ्यो ।

भ्रमण अवधिभर मैले भारतका सम्पदाहरू र आफ्नो देशका सम्पदाहरूसँग तुलना गरिरहेँ । सबै सम्पदाहरूका आआफ्नै विशेषता हुन्छन् । नेपालमा भने कतिपय ऐतिहासिक महत्त्व बोकेका सम्पदाको कदर नगरिएको हो कि भन्ने आभास भइरह्यो । केही वर्षअघि बाल्मीकि आश्रम पुग्दा मेरो भित्री मन रोएको थियो । सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूले विश्वास गरेको रामायणजस्तो पवित्र ग्रन्थका कतिपय स्थान र चिजहरूको उचित संरक्षण भएजस्तो मलाई पटक्कै लागेको थिएन ।

सीताले प्रयोग गर्ने सिलौटो, लवकुशले घोडा बाँधेको ठाउँ आदिले जति स्थान, सम्मान र संरक्षण पाउनुपर्ने हो त्यति पाएका छैनन् । उचित सम्भार र अलिकति प्रचारप्रसार गर्ने हो भने हामीले उक्त स्थानलाई चर्चित बनाउन पनि सक्छौँ ।

भारत भ्रमणभर भारतको इतिहासका पानाहरू खुलिरहे तर मेरो अन्तरआत्मामा भने नेपालका ऐतिहासिक स्थलहरू गुमनाम भएझैँ लाग्यो । प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको हाम्रो देश पनि कुनै कमी छैन तर धेरै सम्पदाहरू ओझेल परेका छन् । आफ्नो इतिहास र संस्कृतिलाई जगेर्ना गर्न सक्नु आजको आवश्यकता पनि हो ।

दक्षिण एसियामै अवस्थित आफ्नो छिमेकी मुलुकको भ्रमणबाट विद्यार्थीहरूले धेरै कुरा सिके । भाषा र संस्कृति मिल्ने हुनाले धेरै सहज पनि भयो । हिन्दी राम्ररी बुझे पनि बोल्न साहै्र गाह्रो लाग्छ मलाई । हिन्दी बोल्न खोज्दा अङ्ग्रेजी र नेपाली मिसिएर हैरान हुन्छु । अङ्गे्रजीमा सोध्दा पनि धेरैले हिन्दीमै जवाफ दिँदा रहेछन् । होटलहरूमा चाहिँ अङ्गे्रजी बोल्दा नै सहज भयो ।

केटाकेटीहरू भने फरर हिन्दी बोलिरहेका थिए । सधैँ अङ्गे्रजी बोलेको सुनेकाले उनीहरूले हिन्दी बोलेको सुन्दा हाँसो पनि उठ्यो मलाई । भाषा भन्नु नै दुवै पक्षले एकअर्काको कुरा बुझ्नु हो, बुझ्यौँ । समस्या भएन । खानपिनमा पनि समानता त थियो तर मसलाको अत्यधिक प्रयोगले खानाको स्वादै बिगारेजस्तो लाग्ने । पिरो पटक्कै नहालभन्दा पनि नहुने ।

अन्तिम रात मैले एक विद्यार्थीलाई सोधेँ घरको कुन कुरा मिस भयो भनेर । घर गएपछि के गर्छौ भनेर सोध्दा उनले भनिन्, “म्याम, म त घर जानेबित्तिकै ममीलाई भनेर गुन्द्रुक र भात खान्छु ।” उनको कुरा सुनेर म हाँसें । वास्तवमा मलाई पनि आफ्नो घरको खानाकै याद आइरहेको थियो । एक हप्तासम्म एकदम मसालेदार खाना भएकाले पछिबाट मैले मसालेदार खान छोडिदिएँ । अहिले पनि तरकारी पकाउँदा कम मसला प्रयोग गर्छु ।

यसरी थुपै्र यादहरू बटुलेर हामी स्वदेश फर्कियौँ । भारत जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको भव्यतामा लठ्ठिएर आफ्नो देशको विमानस्थलको खिल्ली उडाएका विद्यार्थीहरू पनि घर आउन पाउँदा साह्रै हर्षित भए । यतिखेर भने उनीहरूले दुई विमानस्थलबीच तुलना गरेनन्, सुरक्षित अवतरण गरेर आफ्ना अभिभावकलाई भेट्न पाएको खुसी साटासाट गरे । आकारले नै नेपाल सानो भएको तथ्यलाई पनि स्वीकार गरे ।

यो पटक उनीहरूले आफ्नो मातृभूमिको माया महसुस गरे । अर्काको भव्य महलमा पाहुना भएर जति दिन बसे पनि आफ्नो झुपडी नै फर्कन मन लाग्दो रहेछ भन्ने थाहा पाए । भ्रमणअवधिभर साह्रै रमाइलो भए पनि सात दिनसम्म आफ्नाहरूबाट टाढा रहन गाह्रै थियो । आफ्ना आमाबाबुसँग छुिट्टँदा नरमाइलो नमाने पनि उनीहरूसँगको मिलनको लागि व्यग्रता त पक्कै थियो ।

सिकाइ जीवनभर चलिरहन्छ । मैले पनि विद्यार्थीहरू सँगसँगै धेरै नयाँ कुरा सिकेँ । रमाइला स्थान घुम्ने मौका पाएँ । थोरै भए पनि भारतीय इतिहास बुझ्ने अवसर जुट्यो । धेरै यादहरू समेटिए ।

भारत भ्रमणमा जान बाध्य पार्ने स्कुल र पदाधिकारीहरूप्रति त अझै बढी कृतज्ञ भएँ । सही निर्णय लिएकोमा आफैँलाई पनि धन्यवाद दिँदै पारिवारिक मिलनमा रमाएँ । मौका मिल्नासाथ आफ्नो परिवारसँग अर्को पटक पनि अवश्य भारत भ्रमण गर्छु भन्ने योजना पनि मनमनै बुन्न थालेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप