बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निबन्ध : मृत्युबोध

शनिबार, ०४ मङ्सिर २०७८, ०७ : ०३
शनिबार, ०४ मङ्सिर २०७८

धर्तीले कति मृत्यु झेलिसक्यो र पनि यो आफ्नै गतिमा दौडिरहेको छ अर्थात् पृथ्वी आफ्नै लयमा कुदिरहेको छ । मान्छेका मृत्युले यसलाई केही फरक पारेको छैन । यो अनवरत आफ्नै ताल र सुरमा घुमिरहेको छ । नदी बग्न रोकिएका छैनन् । हावा चल्न छोडेको छैन । सूर्याेदय र सूर्यास्तका दृश्यहरू यथावत् चालु छन् । जूनताराको उपस्थिति पनि उही गति र उही लयमा चालु छन् ।

राम, कृष्ण, बुद्ध, इसु, महावीर, मोहम्मद, जरथु्रस्त र लाउत्सुले देहत्याग गर्दा पनि रोकिएन सृष्टिको चक्र । यो नित्य निरन्तर घुमिरहेको छ । न त मार्क्स, लेनिन, माओको मृत्युमा यो पाङ्ग्रो केही छिन रोकियो । न त लिङ्कन, गान्धी, मण्डेलाको मृत्युमा नै रोकियो । बडे बडे महापुरुषको मृत्युले पनि कुनै फरक पार्न सकेन प्रकृतिलाई ।

प्रकृतिले मृत्युलाई यसरी स्वीकार गर्दछ मानौँ यहाँ केही भएकै छैन । केवल धर्ती टेकेर हिँड्ने एकजोर पैतला घटेका हुन् । धर्तीमा एकजोर खुट्टा घट्छन्, हजारौँ जोर थपिन्छन् ।

प्रकृतिमा मृत्यु त रुखका पात खसे जस्तो एक सामान्य घटना हो । एक स्वाभाविक घटना हो । जसै शिशिर याममा रुखले हजार पात गिराउँछ र त्यही ठाउँमा लाखौँ पात पल्लवित गराउँछ । अनन्त मृत्युमा अनन्त जीवनको अङ्कुरण गराइरहेको छ प्रकृति । लय–प्रलय र उत्थान–पतन प्रकृतिकै तजबिजीमा चल्ने एक सामान्य सूक्ष्म घटना मात्र हो ।

मृत्युको विषयमा सोच्दा मान्छे अक्सर एक अतितमा गएर सोच्दो रहेछ । आफ्ना आफन्ती, भाइबन्धु, इष्टमित्र, बाउआमाको मृत्यु भयो भने संसारै ठप्प होला कि जस्तो ठान्छ । यस्ता मानिसको मृत्युले सृष्टि नै दग्ध होला कि जस्तो गर्छ अथवा सृष्टिको लयविधा नै उलटपुलट होला कि भन्ठान्छ । अझ आफ्ना आराध्य आस्था–पुरुषको मृत्युले त अस्तित्वको छन्दभङ्ग होला कि जस्तो गर्छ । तर कसैको पनि अवसानमा पैदा हुने त्रासद चित्र मास्तिष्कमा जति विकराल स्वरूपमा आकारिन्छ । तर यथार्थमा त्यो त्यस्तो हुँदैन ।

कसैको पनि मृत्युमा पैदा हुने क्षतिहरूलाई प्रकृतिले नै अलिअलि गर्दै सामान्य बनाउँदै जान्छ । पीडाहरूलाई घटाउँदै जान्छ । कष्टहरूलाई सहजीकरण गर्दै जान्छ । बाहिरी घाउ, भित्री घाउ जति नै गहिरा हुन्; तिनलाई समयले नै मलमपट्टी पर्छ । जति नै दुख्ने घाउ हुन्, जति नै गजगजी पाकेका पिपयुक्त घाउ हुन्, तिनलाई प्रकृतिले खाटा बसाउँदै जान्छ । मान्छेको जति नै बीभत्स मृत्यु होस्, त्यसलाई पनि प्रकृतिले सहन योग्य बनाइदिन्छ । जति नै अपुरणीय क्षतिको मृत्यु भने पनि त्यस क्षतिलाई आस्तित्व आफैँ अघि सरेर परिपूरण गर्दै लान्छ ।

भूकम्पमा सोह्रजना आफन्त गुमाएर बाँचेको मान्छेको अन्तरकथा पढिरहेको थिएँ । मान्छेको जिजीविषा अत्यन्त चर्काे छ । अतिशय विपत्को भीरमा अड्किँदा पनि त्यहीँबाट अखेटो कपेर समतल ठाउँतिर अवतरण लिन्छ मान्छे ।

राजा वीरेन्द्रको पारिवारिक वंशनाश हुँदाको समय याद छ मलाई । गाउँ कुनामा एकथरि मान्छे यस्ता थिए, राजाबिना त संसारै डुब्छ । राजाबिना त देशै रहन्न । राजाबिना हावै चल्दैन जस्तो कुरा गर्थे । तर रोजी–रोजी, छानी–छानी, ताकी–ताकी वीरेन्द्रको खलक सिध्याउँदा पनि केही दिन त देशमा उकुसमुकुस छटपटी छायो । तर त्यसपछि हेर्दाहेर्दै सबै कुरा सहज सामान्य बने ।

उही गतिमा बग्यो समय । उही गतिमा लयबद्ध बन्यो मानिसको दिनचर्या । अस्तित्वमा कुनै अनिष्टता पनि छाएन । प्रकृतिमा कुनै उत्पात लिला पनि भएन । दुई चार दिनपछि त यस्तो देखियो दृश्य, मानौँ यहाँ केही भएकै छैन । मानौँ यहाँ केही घटना घटेकै छैन ।

समयको सतत प्रवाहमा कसैको मृत्युले पनि त्यति धेरै फरक पार्दाेरहेनछ सृष्टि–चक्रलाई । कुनै उलटपुलट ल्याउँदो रहेनछ । केही आफन्त परिवारजनमा दुःख पीडा थाप्छ होला । शोक र अभाव खट्किन्छ होला । तर विस्तारै भुल्ने विषय हुँदै जान्छ मृत्यु । र, यो विस्तारै विर्सिने विषय पो बन्दोरहेछ ।

मैले आमाको मृत्यु देखेँ । बुवाको मृत्यु देखेँ । काका–काकीको मृत्यु देखेँ । फुपूहरूको मृत्यु देखेँ । सासु–ससुराको मृत्यु देखेँ । मदनदेखि मनमोहनसम्मका मृत्यु देखेँ । गणेशमानदेखि गिरिजासम्मका मृत्यु देखेँ । विश्वेश्वरदेखि वीरेन्द्रसम्मका मृत्यु देखेँ । मृत्युको मुखमा पुगिसकेको म स्वयम्लाई त्यहाँबाट तानेर जीवन हालिदिने डा. उपेन्द्र देवकोटासम्मको मृत्यु देखेँ । यी त केही प्रतिनिधि मृत्यु मात्र हुन् । यस्ता अनगन्ति नाम, अनाम, गुमनाम व्यक्तिका मृत्युहरू पनि देखिरहेका छौँ; जसले आस्त्विको मूल चक्रलाई खासै खल्बल्याउन सकेको छैन ।

मृत्यु एक प्राकृतिक परिघटना मात्र हो । भौतिक देहको समापन मात्र हो । मान्छेको भौतिक देह विलीन भएर गए पनि उसले छाडेको चैतनिक ध्वनिहरू समाजको आवहवामा सजीव रहन्छन् । उसका कर्महरू मान्छेका यादमा जीवित रहन्छन् । उसका गुण अवगुण बाँच्नेका स्मृतिमा अक्षुण्ण रहन्छन् । मान्छेका सुकर्म र दुष्कर्मको मृत्यु हुँदैन । जीवित रहने चिजै त्यही मात्र हो ।

मृत्युले छुन नसकेको शरीर कुन मान्छेको होला यस धर्तीमा ? मानव देहमा जन्मिएपछि एक दिन त मृत्युको आलिङ्गनमा बेरिनै पर्छ । यो सार्वभौम सत्य हो र मृत्युुको सर्वाेपरि सत्ताको अधीनमा छ हाम्रो जीवन । एक दिन त मरिहालिन्छ यो कुरा पक्का छ । तर, यो कतिबेला, कहाँ, कुन समयमा जान्छ भन्ने कुरा ठीक ठीक ढङ्गले अहिलेको चिकित्सा विज्ञानले पनि बताउन सकेको छैन । मरेपछि मृत्युलाई जान्ने, अवलोकन गर्ने चेतना नै शेष रहँदैन । त्यसैले मूल सवाल भनेको जीवित अवस्थामा नै मृत्युलाई जान्ने कुरा महत्त्वपूर्ण छ । नमरीकन मृत्यु जान्ने मुमुक्षा पैदा हुनु चाहिँ उचित विषय हो ।

अनेकौँ तपस्वी बुद्धपुरुषहरूका जीवनी अध्ययन गर्दा थाहा लाग्छ । उनीहरू मृत्युबोधी आत्माहरू थिए । उनीहरू जानीजानी बोधपूर्वक मरेका थिए । आफ्नो जीवनमा खस्तै गएको मृत्यु देखेका थिए । अक्सर अधिकांश मानिस त जीवन के हो ? त्यो नजानीकनै जीवन भोगिसक्छौँ र मृत्यु के हो ? त्यो थाहा नपाईकनै मृत्युको मुखमा समाहित भइसकेका हुन्छाँै ।

मृत्यु ड्याङ्ग थोक मालका रूपमा एकैचोटि बर्सिने चिज होइन । यसले मान्छेका शरीरका एकएक चिज क्रमशः छिन्दै छिन्दै लान्छ । कालो कपालको रङ छिन्छ । दारीको कालो रङ छिन्छ । मुखभित्रका दन्त लहर छिन्छ । आँखाको निर्धूम ज्योति छिन्छ । कर्णविवरको श्रवण शक्ति छिन्छ । पुष्ट गालाको चमक छिन्छ । मेरुदण्डको सीधापन या यसको लम्बीय ढाँचा छिन्छ । पाचन यन्त्रको मजबुतिपन छिन्छ । मुटु, फोक्सो, कलेजो, मिर्गौला, मास्तिष्क सबै चिजको कार्यक्षमता छिन्दै छिन्दै लान्छ ।

चिकित्सा विज्ञान भन्छ– सबभन्दा पहिले मान्छेको मास्तिष्क मर्छ अरे । त्यसपछि मुटु मर्छ । त्यसपछि फोक्सो मर्छ । त्यसपछि मिर्गाैला मर्छ । त्यसपछि कलेजो मर्छ । यसरी शरीरभित्रका अङ्ग प्रत्यङ्ग पनि एकैचोटि मर्दा रहेनछन् । यी चिज एकैचोटि बेकामे बन्दा रहेनछन् । तर, हाम्रो सीधा हेराइमा मान्छेको श्वास–प्रश्वास बन्द भएपछि म¥यो भनी ठान्छौँ । अर्थात् प्राण गयो कि मानिस म¥यो, धारणा नै यही छ । सम्पूर्ण रूपले मरिसक्न त एउटा लामो प्रक्रियाबाटै गुज्रिनुपर्ने रहेछ । कोमामा बे्रनडेथ भइसकेका मान्छेको श्वासप्रश्वास चली नै रहेको हुन्छ ।

मृत्युअघिको जीवन एक सन्तुलनमा टिकेको हुन्छ अरे । त्यो सन्तुलन कोषिका कोषिकाबीचको सन्तुलन, तन्तु तन्तुबीचको सन्तुलन, अङ्ग अङ्गबीचको सन्तुलन, प्रणाली प्रणालीबीचको सन्तुलनबाट जीवन उभिएको छ । यसमै थोरै दरार आउन थालेपछि जीवनको सन्तुलन टुट्छ । एउटाले अर्काेको सन्तुलन टुटाउँछ, अर्काेले अर्काेको, अर्काेले अर्काेको गर्दागर्दै समग्र सन्तुलनमा गडबडी आएपछि मृत्युमा खस्तछ मान्छे ।

कुनै मान्छेसित पनि असीमित समय छैन । कुनै मानिससित पनि असीमित आयु छैन । भएको समयलाई अधिकतम सदुपयोग गर्न सक्ता नै जीवनको सार्थकता झल्किन सक्छ । बाँच्नुको उपादेयता साकार बन्छ । जीवनबोधको पहिलो श्रेणी हो मृत्युबोध । एकचोटि मर्नैपर्ने जीवन पाएर आएका छौँ यस धर्तीमा हामी । कसैको जीवन पनि अजम्मरी छैन । ढिलो चाँडोको कुरा हुनसक्छ । लामो छोटो आयुको कुरा हुन सक्छ । तर जान चाहिँ अवश्यै जानुपर्छ ।

मृत्युबोध भनेको एक दिन मरिन्छ भन्ने सत्यलाई पलपलमा आत्मसात गरेर बाँच्ने एक कला हो । मृत्युबोध मरिन्छ भन्ने जानेपछि अगाडि नै खुट्टा पसारेर बस्ने, हरेस खाने, शिथिल हुने, जीवनबाट पलायन हुने धन्दा होइन । मृत्युबोध कायर बन्नु होइन । डरपोक र अकर्मण्य बन्नु पनि होइन । झन् गतिहीन र गतिछाडा बन्नु त हुँदै होइन ।

मृत्युबोध त उमेर अनुसार शरीरमा खस्तै गएको मृत्युलाई हेर्नु हो । वर्तमानमा बाँच्ने समयको लेखाजोखा गर्नु हो । विगतको जीवन पुनरवलोकन गर्नु हो । आगतको जीवन अनुमान गर्नु हो र छोटो आयुमा सुकर्मका अनेकन शृङ्खला कोर्नु हो । तर देख्छु म अझै पनि मान्छे आफ्नो शत्रु मर्दा गद्गद् भावले भरिन्छ र आफन्ती मर्दा पीरले बहुलाउन खोज्छ । शत्रुको मृत्युमा पनि आफ्नै मृत्यु देख्नु, आफन्तको मृत्युमा पनि आफ्नै मृत्यु देख्नु पो साँचो मृत्युबोध हो त ।

उमेरअनुसार मृत्युबोधी चेतना प्रखर बन्दै जानुपर्ने हो । जीवनको घाम विलकुल अस्ताचलतिर अभिमुख हुँदो छ । त्यसको ज्योति मधुरो मधुरो बन्दो छ । छिट्टै सन्ध्या ओर्लिनेवाला छ । छिट्टै अँध्यारो छाउनेवाला छ । समय छोटो छ । यसैबीचमा तेजप्रखर किरणहरूले धरालाई रक्तिम बनाउनु छ । आखिरी विन्दुमै सही तर शाश्वत सत्यको द्वारसम्म पुगेर त्यसलाई दर्शन गरी देह छाड्ने सङ्कल्प धुनको जागरण मृत्युबोधको आखिरी अभिप्सा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप