बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक अंश : माझीगाउँका मनहरू

शनिबार, ०४ मङ्सिर २०७८, ०६ : ५४
शनिबार, ०४ मङ्सिर २०७८

“भनिहाल्ने कुरा चाहिँ होइन तर हाम्रा चेलीबेटीहरू ढिला त ढिलै हुन् है !” आशय गलत थिएन । तर, पनि महिलाहरूको सुस्ताहट देखेर सहयात्री ठाकुरको कानमा साउति मारेँ मैले । “कुरा चाहिँ सही हो ।” उनको प्रतिक्रिया । मेरो भनाइ चित्त बुझेछ उनलाई । “यस्तै ताल हो भने त आजको बास यतै हुन्छ ।” फुस्फुसाउँदै थिए गोविन्द ।

रातो गलैँचा बिछ्याएजस्तै सुन्दर छ सेल्फीडाँडाको सतह । हतपति छाडिहालौँ जस्तो कहाँ लाग्छ र ! डाँडाको छेउछाउमा एमानका ढुङ्गाहरू छन् । त्यसैमा भइरहेछ, फोटो सेसन । हिउँदे मुस्कान छरिरहेको प्रकृतिको काखमा लुटपुटिएका ऋतु, सुजना, लक्ष्मी, नीमा डिकी र रीताका मुहारमा देखिन्छ आनन्दानुभूति । यात्रा भनेको उत्सव हो । यात्रालाई उत्सवकै रूपमा मनाउनुपर्छ भन्ने मान्यता राख्छु म पनि । फेरि नारी भनेका देवी हुन् । देवीहरू खुसी हुनुपर्छ । नत्र अनर्थ हुन्छ । ‘माइन्ड’ गरेनौँ हामीले । 

‘छिटो गएर छिट्टै फर्कनुहोला ! तपाईंहरूलाई ताज रिसोर्टको लन्चले पर्खिरहेको हुनेछ । फेरि साँझ नपर्दै काठमाडौँ पुग्नु राम्रो ।’ बोधराजजीले अथ्र्याएको कुरा सम्झेँ मैले ।

हो, समयमै मूलकोट नछाडे घर पुग्दा रातको पहिलो प्रहर बितिसक्छ । साँझ परेपछि काठमाडौँका ट्याक्सी चढिसाध्य हुँदैन । मिटर भएर के गर्नु ! जान माने पो ! चार किमि मात्र हो सोह्रखुट्टेबाट मेरो बसाइ । तर ट्याक्सी चढ्नेबित्तिकै एक हजार चुना लाग्छ । पाएसम्म कसले धुत्दैन र नेपालमा ! इन्जिनियर हुन् वा वकिल, प्राइभेट स्कुल हुन् वा अस्पताल । सरकारी कार्यालयहरूको त झन् के कुरा गर्नु ! घुस नभए वरको सिन्को पर सर्दैन । मनोलाप गर्दै थिएँ म ।

टाउको माथि आइपुगेको घामको प्रेमिल स्पर्शलाई छाडेर हामी हायसभित्र छिर्‍यौँ र उँधो लाग्यौँ उही बाटो ।

“सुनकोसी पारिको उः त्यो माझीगाउँ जाँदै छौँ हामी ।” गन्तव्य औँल्याए, टीका गुरुङले ।

माझीगाउँ– हाम्रो यात्राको अन्तिम गन्तव्य ।

गाडी ओरालो लाग्दै गरेको भए पनि सुनकोसी तर्ने भनेपछि खुसीले अग्लिँदै गयो मेरो मन । अग्लिँदै गए– केस्रा–केस्रामा छुट्टिएका डुडेपुर, तीनखोप्रे, सोलीथुम्को, नाङ्गेडाँडा र परेडाँडा । कौतुकमय विविध भूःस्वरूपले आश्चर्यचकित भरहेथेँ म । खट्किरहेको थियो, मैले वालवयमा देख्ने गरेका कालिका, मालिका, मदानपुर, बेलकोट र कविलास डाँडा ।

फगत् चट्टान र माटोको थुप्रो मात्र होइन पहाड । मानवका लागि चुनौती मात्र पनि होइन । यो त अद्भुत रहस्यको अनुपम खानी हो । पहाड आफैँमा रहस्यहरूकै पनि पहाड हो । धर्ती यति सुन्दर नै कहाँ नै हुन्थ्यो होला र पहाड नहुँदो हो त ?

म सोच्छु– ‘के पहाडबिनाको पृथ्वी जीवन्त रहन सक्छ त ?’

सिन्धुलीका ढुङ्गा–ढुङ्गामा भएको देवताको बास र प्रत्येक थुमले स्वर्गको आभास गराउँछ । ऐनाडाँडाबाट झर्दै गर्दा गुन्गुनाएथेँ गायक ओम गुरुङले गाएको गीतका पङ्क्ति–

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ

जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ......’

शिव र शक्तिको क्रीडास्थल हो– सिन्धुली । माझीगाउँ, रिठ्ठेडाँडा र सुनकोसीको कथा हो– सिन्धुली । रावणले तीर्थ गरेको झम्केश्वरी देवीको बासस्थान छ– रामेछापमा । सयौँ शक्तिपीठ र शिवालय छन्– सुनकोसीको सेरोफेरोमा । त्यसो त हजारौँ वर्षदेखि शैव योगतन्त्र साधनाको उर्वरभूमि हो– नेपाल । शक्तिसङ्गम तन्त्रसहित चौसठ्ठी तन्त्रको उद्गम स्थल हो– हिमालय क्षेत्र । मूलकोटबाट एक किमि पर छ– काठमाडौँको स्वयम्भूजस्तै झल्को दिने मुकुटेश्वरी भगवतीले बास गरेको टापु । सिन्धुली यस्तो ठाउँ हो, जहाँ पढ्नलाई गौरवशाली इतिहास छ, हेर्नलाई सुनकोसी छ र छुनलाई पुर्खाको रगत लागेको खुकुरी छ ।

धार्मिक पर्यटन प्रवद्र्धन हाम्रो आर्थिक समृद्धिको आधार हो । ताज रिसोर्टले सामाजिक र सांस्कृतिक समन्वय गर्न सके पर्यटकहरू कम्तीमा पनि तीन दिन रोकिन सक्छन् यहाँ । मनोवाद गर्दै थिएँ म ।   मूलकोट पुगेपछि रोकियो गाडी । धर्तीमा कालोपत्रे सडक । आकाशमा उत्ताउलो घाम । घामको उन्मादीले परितप्त सडक । त्यही बेला मैले सम्झेँ रसिलो जुनार । सुनेको थिएँ– जुनारको राजधानी हो– सिन्धुली । जुनार पाकेपछि पहेँलपुर हुन्छन्– महाभारत क्षेत्रका तीनकन्या, रतनचुरा, वासेश्वर, जलकन्या, मझुवा, दुम्जा र भुवनेश्वरीका पखेरा । चाख्न त काठमाडौँमा चाखेकै हो, सिन्धुलीको जुनार । तर जुनारको राजधानीमा जुनार देख्न नपाउँदा चाहिँ खल्लो लाग्दोरहेछ । बेला नहुँदै पो आइएछ त ! नत्र मूलकोटका पसलहरूमा चाङ लाग्थे होलान्, जुनारका पहेँलपुर दाना । दुई–चार किलो कोसेली लान्थेँ हुँला म पनि ।

हामी लाग्यौँ सुनकोसीतर्फ । किनार पुग्दानपुग्दै स्पर्श गर्न आएथ्यो– एक झोक्का हावा । चिसो हावा पिउँदै पाइला उठायौँ हामीले । 

पुलमुनि तालिएको सुनकोसी बगिरहेको छ शान्तभावमा । सुनकोसीलाई चलाउन खोज्दा तरङ्ग फैलिए मेरो हृदयसम्मै । सुनकोसीको किनारबाटै तिर्खाएर उठेका छन्– रामेछाप र सिन्धुलीका पहाड । नाङ्गेडाँडा, परेडाँडा र रिठ्ठेभीरका दोछायाँ परेका छन्– सुनकोसीमा । केही बेर त मैले पनि प्रतिविम्ब सजाएँ– सुनकोसीको दर्पणमा । तर कहाँ अडियो र मेरो छायाँ ! पहाडजस्तै स्थिर कहाँ हुन सक्छु र म ? म हिँड्दा मेरै पछि लाग्यो मेरो छायाँ । छायाँ त छायाँ नै हो तर पहाडको त्यो धूपछायाँ, मेरो यो रामछायाँ । कल्पना गर्न थाल्छु म ।

आँखा चिम्लेर माछाको चालको चेवा गरिबसेका बकुल्लाहरूको ध्यान भङ्ग गराइरहेका छन्, दुई थान ट्याक्टरले । फिस्टे चराका एकाध जोडी मात्र निस्किरहेका छन्, हरिया काँसका गाँजबाट । नदी तटमा त अरू खालका चरा पनि देखिनुपर्ने हो । खोइ त र्‍यालर्‍याले ? खोइ त पानीहाँस ? खोइ त जलपन्छी ? हुट्टिट्याउँधरि उडेका थिएनन्, सुनकोसीको आकाशमा । चरा नदेखिनु कतै ट्याक्टरकै कर्कश आवाजले त होइन ?

आफैँ कहिल्यैँ नजोडिने सुनकोसीको दुई किनारलाई जोडेको छ झोलुङ्गे पुलले । वारि सिन्धुली, पारि रामेछाप; सेल्फी लिँदै पुल तर्दै । वाह ! छिनमै सिन्धुली, छिनमै रामेछाप । यही त हो यात्राको गतिशीलता । यही त हो गन्तव्य चुम्नुको मज्जा । 

खुसीले बुर्कुसिएका छन्– महिला सहयात्री । हुन पनि के विधि उत्साहित भएका ! सुस्त छ मेरो हिँडाइ । एकलासीमा रम्न खोज्दै छु म । यही वेला रित्तो डोको बोकेर आइरहेका होचो कद र छरितो ज्यान भएका एक अधबैँसे भेट्छु ।

“घर कहाँ हो दाजुको ?” अभिवादनसहित सोधनी गर्छु म ।

“त्यही माथिल्लो गाउँ ।” श्वेत दन्तलहर फिँजाउँदै उनी भन्छन् ।

मिठो हुन्छ गाउँले मुस्कान । आत्मीयतापूर्ण मुस्कान र कुटिल मुस्कानको भेद पाउँछु म । मान्छेहरूको यस्तै आत्मीय मुस्कान मनपर्छ मलाई ।

“तपाईंको नाम के हो ?”

“कृष्णबहादुर श्रेष्ठ ।”

काठमाडौँ खाल्डोका नेवार जाति नपुगेका पनि कहीँ छैनन् । पश्चिममा अल्मोडादेखि पूर्वमा बर्मा र उत्तरमा ल्हासासम्म ।

“कति पुस्ता भयो यता आएको ?”

“मसहित पाँच पुस्ता ।”

‘खला–मखु’ चाहिँ आउँदोरहेनछ उनलाई । त्यसैले त उनी प्रस्ट बोल्छन्– खस भाषा ।

“डोको त खाली छ नि ! कहाँ पुगेर आउनु भयो ?”

“पारि खेतमा घाँस काट्न जाँदै छु ।”

सुनकोसी पारि रहेछ उनको खेत । हरेक दिन घाँसको भारी बोकेर सुनकोसीसित मुस्कान साट्छन् उनी । कृष्णबहादुरले बोकेको डोको विवशताको हो तथापि औधी खुसी देखिन्छन् डोको, नाम्लो र हँसियासित जीवन साटिरहेका उनी । उन्नति गर्न नसके पनि अवनति नहुने पेसा हो– कृषि । रहरहरू कुन्ठित होलान् तर एक पेट खान कहिल्यै समस्या पर्दैन किसानलाई । यहाँ कोही निष्कपट कर्मबाट खुसी छन् भने ती किसान मात्र हुन् । यही त हो जीवनको सार्थकता !

मेरो विगतलाई सम्झाएथ्यो कृष्णबहादुरको डोकोले । प्रत्येक दिन बिहान स्कुल जानुअघि एक डोको घाँस काटेर ल्याउँथेँ । थाप्लोमा नाम्लो नपरेको दिन हुँदैनथ्यो । मल बोक्दा डोको । कोदो र मकै बोक्दा डोको । पहाडियाहरूको चिनारी र जीवनका अभिन्न अङ्ग हुन्– डोको, नाम्लो र हँसिया । जीवनको प्रौढावस्थामा आइपुगेको छु, यतिबेला । यसै पनि निवृत्त जीवन त गाउँमा नै बिताउनु छ मैले । कोरोनाले पर्यटन फस्टाउन नदिए तुरन्तै गाउँ फर्कने सोच बनाइसकेको छु । फेरि उही घाँस–दाउरा गर्नु छ । मेलापात गर्नु छ । काँधमा उही कोदाली भिर्नु छ । गाउँ नै रमाइलो लाग्छ मलाई । आगामी जिन्दगी जिउने उपाय सोचिरहेछु म ।

सुनकोसीको छेउछाउ उभिएका छन्– उत्तिसका बोट । वसन्तमा चिचिला लाग्ने आँपका बोटमा फूल खेलिरहेका छन् । औषधिमूलक बेलका दाना छरिएका छन्– यत्रतत्र । अमलाका बोटले पनि हरियाली जगाउने कोसिस गर्दै छन् । पृथक् रङ फ्याँकिरहेका छन्– धयेँरो र धुर्सिलका फूलले ।

माझीगाउँतर्फ सोझिएका छन्– पाइला । म एकसाथ सुनिरहेको छु– सुनकोसीको सुसाइ र आफ्नै पदचाप ।

बाहुनडाँडा, कामीडाँडा, फुयाँलडाँडा, घलेगाउँ, नेवारगाउँजस्ता गाउँहरू थुप्रै छन्– नेपालमा । जुन जाति जहाँ बसेका छन् त्यसैको नाममा बस्छ ठाउँको नाम । माझीगाउँ भन्नेबित्तिकै माझीकै बस्ती हो भन्ने बुझ्न के कठिन भो र !

आदिवासी हुन्– माझी । सीमान्तकृत समूह । युगौँदेखि बसोबास गर्दै आएका छन् यहाँ । पृथक् भाषा, पहिरन, संस्कृति र संस्कार भएको विशिष्ट जाति हो– माझी । विडम्बना चाहिँ नेपाली समाजको अङ्गको रूपमा रहेको माझी जातिको मान्छेको उत्पत्तिको तथ्यपूर्ण अनुसन्धान हुन सकेको छैन ।

 माझीहरू भारतको सिन्धु प्रदेशबाट नेपाल प्रवेश गरेको उल्लेख गरेका छन्, साहित्यकार जनकलाल शर्माले । किंवदन्तीअनुसार सृष्टिक्रममा महादेवले आफ्नो शरीरको मयल डल्लो पारी नदी वारपार गर्न डुङ्गा चलाउनका लागि माझी जातिको सृष्टि गरेका रे । मान्छेहरूलाई नदी वारपार उनैले गराउँछन् । नदीसँँग आत्मीय सम्बन्ध हुनु र नदी छेउछाउ बस्ती हुनुले किंवदन्तीको सत्यतालाई किञ्चित झल्काउँछ । मूलतः सप्तकोसीका सहायक नदीहरू माझीको बसोबास क्षेत्र हो ।        

पुगियो माझीगाउँ ।

फराकिला छन्– सुनकोसी किनारका फाँट । पहाडको पैतालामा बसेको छ– झुरुप्प बस्ती । बस्ती अगाडि छन्– पहेँला तोरीबारी । तोरीको पहेँलोले सूर्यभक्ति फूलको झझल्को दिन्छ । बारीका कान्लामा छन्– काभ्राका वृक्ष । मकैका ढोडलाई सञ्चित गरेका छन्– तिनै काभ्राका कापमा । हिउँदका वेला वस्तुभाउलाई खुवाउनका लागि जोहो गरेर राख्ने कस्तो राम्रो कायदा !

बस्ती नजिकबाटै बगिरहिछे– सुनकोसी । गतिशील, कुलक्षणी र अनिश्चित शक्ति पनि हो– नदी । लाभ या हानी भन्ने कुरा नदीप्रतिको हाम्रै व्यवहारबाट हुने हो । विसं २०६९ को वैशाखमा सेतीनदीले विकराल रूप लिँदा भएको जनधनको क्षति सम्झेँ मैले । बैँसमत्त भएको बेला सुनकोसीले कतै छक्याउने त होइन ? हठात् झस्किन पुग्छु म ।

जाँदाजाँदैको पहिलो घर आउँछ, जगमाया माझीको । पिँढीमा बसिरहेका थिए– एकै परिवारका जगमाया, सुशीला, सुभद्रा र एकबहादुर । मङ्गोलियन शारीरिक बनावट । गहुँगोरो वर्ण । मध्यमखालको उचाइ । शान्त र, लज्जालु स्वाभाव । मन्द मुस्काउँदै हामीलाई बस्न गुन्द्री ओछ्याइदिइन्– जगमायाले । पाहुनाको मानभाउ राख्न जानेका छन्– माझीहरूले । यथार्थमा यही हो, नेपाली आतिथ्य !

जगमायाको घरअगाडि निर्माण भएको छ, सजधजसहितको एकीकृत बस्ती । चिटिक्क परेका दुईकोठे भवन । कलेजी रङका जस्तापाताको छाना । गाढा क्रिम रङले पोतिएको भित्ता र कलेजी रङकै स्कर्टिङ । भवनहरूमा सौन्दर्य थपेको छ– पिँढीले । हार मिलाएर सजाइएका सलाईको बट्टाजस्तै लाग्छन्– दोहोरो लहरका भवनहरू । निलो जस्ताले छाएका घरबाहेक नै यस्ता बयालीस घर छन् माझीगाउँमा । रङको संयोजनले चम्किलो देखिन्छ– बस्ती । साझा आँगन हुने गरी झुरुप्प घर बनाएर बस्नु माझीहरूको मौलिक शैली नै हो । त्यसैले त म नेपाली भाषा, सभ्यता, संस्कृति र परम्परागत वैभवप्रति आस्था प्रकट गर्न कवि देवकोटाका शब्दहरू सापटी लिने गर्छु–

‘सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र

लुकेको स्वर्ग समुच्च जाति यसका छन् विचित्र...’

“कसको योगदान हो यो ?” जिज्ञासा राख्छु म ।

“सरकारको ।” जवाफ आउँछ जगमायाको ।

“आफ्नै सरकारले गरेको भन्ने सुन्न पाउँदा पनि खुसी लाग्दो रहेछ हगि !” उत्पुलक भइन् लक्ष्मी कार्की ।

“हस्तान्तरण भइसक्यो त ?”

“भखर्रै प्रदेश सरकारले गाउँपालिकालाई हस्तान्तरण त गर्‍यो । निर्माण सम्पन्न हुन बाँकी छ । पीडितले स्वामित्व ग्रहण गर्न पाएका छैनन् । अब छिट्टै होला ।” 

आजको दिनसम्म आइपुग्दा भूकम्पको घाउमा खाटा बसेको प्रतीत हुन्छ, जगमायाको अभिव्यक्तिले ।

भूकम्प गएको यतिका वर्ष बित्दा पनि विपद् व्यवस्थापन हुन नसक्नु दुःखद कुरा हो । काममा ढिलासुस्ती हुनु नौलो कुरा होइन नेपालमा । एक त राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्ने योजना सार्वजनिक भए पनि त्यसले मूर्तरूप लिन समय लाग्यो । अर्को त मूर्तता पाएपछि पनि प्राधिकरणले एकाग्र भएर काम गर्न पाएन । सरकार फेरिएसँगै प्राधिकरणको नेतृत्व पनि फेरियो र काम प्रभावित बनिरह्यो । त्यसैले त ‘नमुना बस्ती कागजमै सीमित भयो’, ‘पीडितहरू निराश भए’ भन्ने खबर सुन्थ्यौँ हामी । पीडा त माझीगाउँले सहेकै हो । तर खुसीको कुरा ढिलै भए पनि निर्माण भएछ । त्यो पनि सरकारकै पहलमा ।

निर्माणाधीन एकीकृत बस्ती देखाए एकबहादुर माझीले ।

“अस्पताल र बालउद्यान पनि बन्दै छ ।” खुसी बाँडे उनले ।

“तपाईंको पेसा के हो ?” प्रश्न राखेँ मैले ।

“पहिले पहिले त डुङ्गा चलाउँथेँ । पुल बनेपछि डुङ्गाको काम आएन । जाल र ढडिया पनि खेलाउँछु, नुनतेलको गर्जो टार्न । मुख्य पेसा त कृषि नै हो ।”

नदी भनेको जलस्रोत मात्र होइन, मानव जातिका लागि आशाको बहार हो । सभ्यताको उद्गम पनि हो । माझीगाउँको मात्र होइन, मुलुककै आशा हो– सुनकोसी । एकबहादुर र एकबहादुरहरूको जीवन यात्राका सहयात्री हो– सुनकोसी । सुनकोसीमै जीवन सङ्ल्याउँछन् । सुनकोसीमै पीडालाई थन्क्याउँछन् । सुनकोसीकै साथ लिएर दुःखको रिट्ठेभीर र सोलीथुम्को छिचोल्छन् र निर्जलीय रातमाटेडाँडामा आशाको फूल उमार्छन्, माझीगाउँवासी ।

सहयात्रीले माझीगाउँ छोड्दा पनि एकबहादुरसँगै थिएँ म ।

“तपाईंहरू कुन माझी हो ?” फर्कने बेला मैले उनलाई सोधेँ ।

“हामी काँस कुशवार ।”

मैले सुनेअनुसार माझीहरू नौ थरीका छन् । तराईको कुशवारले आफूलाई रामको सन्तान अर्थात् कुशको वंशज मान्छन् । ठानेँ– उनीहरू पनि कुशकै वंशज होलान् ।

आफैँमा सभ्यता हो– माझीगाउँ । पृथक् संस्कार र संस्कृति छ माझीको । चितवनका रिसोर्टहरूले ‘थारू सांस्कृतिक कार्यक्रम’को आयोजना गरेजस्तै ताज रिसोर्टले पनि ‘माझी सांस्कृतिक कार्यक्रम’को आयोजना गरे भाषा, कला र साहित्यको विकासमा टेवा पुग्थ्यो कि ! माझीगाउँ छाड्दै गर्र्दा एकालाप गरेँ मैले ।

मूलकोट पुग्दा सुनकोसीमा दुई थान डुङ्गा देखा परे । भवीश्वर, तेज, नवराज, हरिकुमार, सङ्गीता र वर्षाका टोली थिए ती । आफू किनारमा उभिएर उनीहरूलाई जलविहार गर्दै आइरहेको देख्दा मैले सन् २००१ मा त्रिशूलीमा जलविहार गर्दाको रोमाञ्चक क्षण सम्झेँ ।

सामूहिक कर्म हो– जलविहार । गाइडको नेतृत्त्व र निर्देशनमा प्याडल चलाउनुपर्छ, जलविहार गर्दा । नदीको बहावअनुसार आदेश दिन्छन् गाइडले पछाडिबाट– ‘स्टप !’ ‘फरवार्ड !’ ‘राइट ब्याक !’ ‘लेफ्ट ब्याक !’

बाफरे ! छालहरूमा डुङ्गा उफ्रँदा त सात्तोपुत्लो उडेथ्यो मेरो ! छालका नाम पनि अनेकानेक राखेका छन्– र्‍याफ्टिङ गाइडले । ‘ट्विन रक’, ‘लेडिज डिलाइट’, ‘अपसेट’, ‘सरप्राइज’ केके हो केके ! जलविहार सकिने बेलाका ‘सरप्राइज’ नामको छालमा पुग्दा डुङ्गा घ्वाप्लाक्कै घोप्टेपछि त साँच्चिकै ‘सरप्राइज’ भएथेँ म ।

सुनकोसीको किनारमा डुङ्गा उत्रिएपछि देखेँ– सबैले पाइन्ट लगाएरै जलविहार गरेका रहेछन् । घामको रापले ज्यान गर्मिंदै गएको त्यो बेला मेरो मनले भन्दै थियो– ‘बरु जलविहार पो गर्नु पर्नेरहेछ !’

लन्च गरुन्जेल मनमा लागिरह्यो– ‘मार्भलस मूलकोट, वान्स इज नट इनफ !’

‘मन्थली विमानस्थलबाट लुक्ला उड्न आएँ भने ‘ब्रेकफास्ट’का लागि त छिर्छु नै । सिन्धुलीगढी घुम्न र जलविहार गर्नकै लागि मात्र पनि फेरि एकपटक ताज रिसोर्टमा मैले अर्को एक रात बिताउनुपर्ने भोे ।’

मूलकोट छाड्नुअधि निमन्त्रणाको भकुन्डोलाई सञ्चालक मित्र बोधराज भण्डारीको ‘कोर्ट’मा फ्याँकेँ मैले ।

(नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रा सङ्ग्रह कात्तिक २७ गते पर्यटन बोर्डको सभाहलमा विमोचन गरिएको हो । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप