बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पार्टी अध्यक्षमा ओली नै सर्वसम्मत : योगेश भट्टराई

शुक्रबार, ०३ मङ्सिर २०७८, १७ : ५४
शुक्रबार, ०३ मङ्सिर २०७८

नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकोले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहेको तर्क समेत गरे ।

सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताए । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरू जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने उनले स्पष्ट पारे ।

सचिव भट्टराईले भने, ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने एमाले यसपटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकि हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्यौं । नवौंमा पनि खुला चुनाव गर्याैं । त्यो चुनावको अनेकौं असल पक्षहरू पनि थिए, नेतृत्वको चुनाव हुँदा । तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो । समूह बन्दीको अवस्था ल्यायो । पार्टी विभाजनसम्म हामी भोगी राखेका छौं । यो तितो अनुभवबाट शिक्षा लिँदै यसपटक हाम्रो जोड छ कि–पार्टीमा सहमतिका साथ नेतृत्व चयन गर्ने । एसो गर्दा ए, बी, सी जो पनि हुनसक्छ । त्यो हाम्रो कोसिस छ । र त्यो भएन भने हरेक मान्छेले आफूले चाहेको ठाउँमा प्रतिस्पर्धा गर्न पाउँछ । त्यसको निम्ति कुनै बन्देज छैन ।’

सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप