मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सौराहाका पर्यटन व्यवसायी भन्छन्– ३५ सय बेड एमालेले बुकिङ गरेको छ

एमालेले पर्यटनको निःशुल्क प्रचार गरिदियो, हामी खुशी छौं : दीपक भट्टराई
शुक्रबार, ०३ मङ्सिर २०७८, १७ : ०४
शुक्रबार, ०३ मङ्सिर २०७८

-शम्भु दंगाल/गणेश दुलाल

नेकपा एमालेले चितवनमा पार्टीको दशौं महाधिवेशन गर्न लागेपछि चितवनका पर्यटन व्यवसायीहरु उत्साहित देखिएका छन् । कोरोनाबाट थिलथिलो बनेको पर्यटन उद्योगलाई सो महाधिवेशनले सकारात्मक सन्देश दिने उनीहरुले अपेक्षा लिएका छन् । क्षेत्रीय होटल एशोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराईले एमालेले महाधिवेशनको बन्दसत्र सौराहामा गर्न लागेकाले यहाँको पर्यटनको निःशुल्क प्रचार गर्ने र आन्तरिक पर्यटनको पुनरागमन हुने विश्वास व्यक्त गरे ।

एमालेको महाधिवेशनमा बन्द सत्रमा सहभागी हुनेहरुका लागि ३५ सय बेडहरु सहुलियत दरमा बुकिङ भएको व्यवसायीहरुले जानकारी दिए । एशोसिएसनका अध्यक्ष भट्टराईले रातोपाटीसँग भने, ‘हामीले अहिले नाफा कमाउनुभन्दा पनि हामी कुनै एउटा पार्टीको नभई हाम्रा लागि भएको कार्यक्रम हो, यहाँबाट सफल बनाएर पठाउनुपर्छ भनेर लागिपरेका छौँ ।’ एमाले महाधिवेशनका क्रममा सौराहाको पर्यटनको देशैभरि प्रचार हुने र व्यवसाय फस्टाउने भट्टराईले विश्वास व्यक्त गरे ।  प्रस्तुत छ– रातोपाटीले पर्यटन व्यवसायी भट्टराईसँग गरेको यो कुराकानी :

अहिले सौराहाको पर्यटनको अवस्था कस्तो छ ?

दर्सैँपछि बिस्तारै सौराहाको पर्यटनले लय समातेको छ । चाडपर्व सुरु भएकाले दसैँका बेलामा केही बढेको थियो भने तिहारमा भने त्यति धेरै चहलपहल बढेन । बिस्तारै पर्यटक बढ्न लागेको हो कि भन्ने भान हुन लागेको छ । अहिले सौरहामा स्वदेशी तथा विदेशी पर्यटक पनि फाट्ट फुट्ट देख्न सकिन्छ ।

कोरोना संक्रमण बढेपछि सौराहाको पर्यटन कति समय थिलथिलो बन्यो ?

लगभग दुई वर्ष कोरोनाका कारण हाम्रो व्यवसाय ठप्प हुन पुग्यो, हाम्रो सबै गतिविधि बन्द हुन पुग्यो, हामीले ताला लगाएर बस्ने स्थिति आयो । अहिले बिस्तारै बामे सर्ने अवस्थामा रहेका छौँ ।

कोरोना संक्रमणको अवस्थाबाट कस्तो क्षति भयो ?

यति नै क्षति भयो होला भनेर अहिलेसम्म क्षतिको कुनै आंकलन हुन सकेको त छैन । तर, यहाँ पर्यटन गतिविधिबाट हुने दैनिक १ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । त्यो हामीले घाटा व्यहोरेका छौँ ।

त्यो अवधिमा यहाँ काम गर्ने मजदुरहरुको अवस्था कस्तो बन्यो ?

हामीले सुरुको अवस्थामा त केही मात्रामा तलव दिएर राखेका थियौं । तर, लकडाउन लम्बिँदै गएर हामीले सम्हाल्नै नसक्ने भएपछि उहाँहरुलाई तपाईलाई तलब दिने आश्वासन दिएर राख्न सक्दैनौं भनेर पूर्ण रुपमा विदाई गरेका थियौँ । तपाईहरुले अरु बैकल्पिक काम गर्न सक्नुहुन्छ, हाम्रोतर्फबाट काम भयो भने बोलाउँछौँ भनेर पठायौं । यो अवधिमा उहाँहरु बिनातलब नै घरमा गएर बस्नुभयो । हाम्रा पुराना कर्मचारीहरुले यो पेशा नै परिवर्तन गर्नुभएको छ । यही पेशाप्रति रुची भएको भएर कतिपय पर्खेर पनि बस्नुभएको थियो ।

आर्थिक पाटोबाट हेर्दा व्यवसायीहरुलाई कुन–कुन कुरामा क्षति भयो ?

अघि मैले दैनिक १ करोडको क्षति भएको कुरा गरेको थिएँ, त्यो बस्तु तथा बिक्रीबाट हुने क्षति थियो । अन्य धेरै समस्याहरु भोग्नुपर्यो । लामो समय होटल बन्द गर्नु पर्दा होटलका पर्दा, तन्ना बेडिङहरुदेखि फ्रिज, एसीहरुमा बिग्रने समस्या उत्पन्न हुँदोरहेछ । त्यो सबै फेर्नुपर्ने, नयाँ सिर्जना गर्नुपर्ने हुँदोरहेछ । एउटा सानो होटलले पनि २० देखि ३० लाख खर्च गरेर त्यसलाई पुनः मर्मत गर्नुपर्ने हुँदो रहेछ ।

पहिलो लडकडाउन खुलेपछि अबचाहिँ लकडाउन नहोला भनेर हाम्रा धेरै साथीहरुले खर्च गरे, फेरि दुई महिना चल्यो अनि लकडाउन भइदियो । त्यसले फेरी घाटा भयो । अहिलेसम्म हामीले घाटाको लेखाजोखा निकालीसकेका छैनौँ । विगत ६ महिनादेखि हामी बिस्तारै अघि बढ्दैछौँँ ।

कोरोना संक्रमणबाट संकटमा परेका व्यवसायीहरुलाई सरकारले केही गर्ने आश्वासन दिएको थियो । सरकारले तपाईहरुलाई केही सहयोग गर्यो कि गरेन ? सरकारसँग तपाईंहरुको केही अपेक्षा छ कि छैन ? 

सरकारीतर्फबाट धेरै आश्वासन आएको छ । मौद्रिक नीति तथा यसपालिको बजेटले पनि हाम्रा धेरै कुरा समेटेको थियो । हामीले चाहेअनुसार नै सरकारले पर्यटन क्षेत्रलाई पनि एउटा उद्योग सरहको मान्यता दिएको छ । उद्योगी व्यवसायीको पक्षमा सरकारले कुरा गरे पनि त्यसको अक्षरस पालना होस भन्ने हामी चाहन्छौँ । कुरामा आउँछ, नीतिमा आउँछ । तर, त्यो कार्यान्वयन हुँदैन । सरकारले सहुलियत दलको ऋण दिने कुरा गरेपछि हाम्रा धेरै साथीहरु बैंकमा जानुभयो । तर, कहिले के डकुमेन्ट पुगेन भन्छन्, कहिले के पुगेन भन्छन् । हाम्रा धेरै साथीहरुले सरकारले भनेको सहुलियत दरको ऋण पाउन सक्नुभएको छैन् । सरकारले राहत घोषणा गरेपछि व्यवसायी उत्साहित हुने, तर त्यो नपाउने अवस्था बनेको छ ।

सरकारले कृषि र पर्यटनलाई सँगै लाने भनिरहेको छ । तर, पर्यटन क्षेत्रलाई सहुलियत दिन चाहिरहेको छैन । कृषि क्षेत्रलाई जसरी राहत सुविधा दिइएको छ, पर्यटन क्षेत्रलाई पनि राहत दिए धेरै सजिलो हुने थियो । हामीले धेरै मञ्चहरुमा पनि यसबारे आवाज उठाएका छौँ । सरकारले हाम्रा समस्याहरु सुनिदिओस् भन्ने माग गर्न चाहन्छु ।

तपाईहरु चितवन, मकवानपुर, नवलपरासीका पर्यटन व्यवसायीहरु मिलेर संगठित पनि हुनुभएको रहेछ, पर्यटन व्यवसायीका लागि सरकारले यस्तो गरिदिए राहत हुन्थो भन्ने केही छ ?

हामीसँग त्यस्ता धेरै अपेक्षाहरु छन्, अहिलेको समयमा आन्तरिक पर्यटनबाटै हाम्रो  व्यवसाय चलायमान गराउने हो । हिजोकै अवस्थामा तत्काल पुग्न त गाह्रो होला तर हाम्रो व्यवसाय टिकाइराख्नका लागि हामी आन्तरिक पर्यटनमा निर्भर हुनुपर्छ । त्यसका लागि २ महिनाअघि पश्चिमका जिल्लामा हामीले ‘घुमौं चितवन’ अभियान लिएर गएका थियौँ ।

चितवन जिल्लाको प्रचार गरेर यहाँ आउने वातावरण बनाएका थियौं । सरकारले पनि यस्तै गरेर चितवनमा नेपालभरिका मान्छेहरु घुम्ने अवस्था बनोस् । एक ठाउँको नेपाली अर्को ठाउँमा जानसक्ने वातावरण बन्यो भने बिस्तारै बामे सरेको पर्यटन व्यवसायलाई अगाडि बढाउन टेवा पुग्छ ।

यतिबेला सौराहाका होटल व्यवसाय कसरी चलेका छन् ?

दशैँपछिको समयदेखि हामीले राहतको महसुस गरेका छौँ । तिहारको बेलामा अलिकति कम भएपनि बिस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । नेकपा एमालेले महाधिवेशन गर्न लागेका कारणले गर्दा पनि चितवन हेर्न आउने पर्यटक बढेको पाएका छौँ । बिस्तारै चहल–पहल बढ्दै गएकाले आशावादी छौँ । द्वन्द्वको समयमा पनि आन्तरिक पर्यटकबाटै हाम्रो व्यवसाय चलाउन काफी पुगेको थियो भन्ने आशावादी छौँ ।

तपाईले कुरा उठाइहाल्नुभयो, एमालेले यहाँ दसौँ राष्टिय महाधिवेशन गर्दैछ, ५ लाख नेता कार्यकर्ता चितवन ल्याउने उनीहरुको दाबी छ, त्यसले चितवन तथा सौराहाको पर्यटनमा कस्तो प्रभाव पार्ला ?

अहिले नेकपा एमालेले चितवनमा जुन महाधिवेशन गर्दैछ, अझ सौराहामा बन्दसत्रको आयोजना गरेको छ । यसलाई हामीले अवसरका रुपमा लिएका छौं, यसलाई हामी अहोभाग्य पनि भन्छौँ । यति धेरै पार्टीहरु भए पनि अहिलेसम्म चितवनको सौराहामा ल्याएर महाधिवेशन गरेका थिएनन् । थला परेर, जमर्को गरेर हामी उठ्न लागेका बेलामा एमाले जस्तो पार्टीले सौराहामा ल्याएर महाधिवेशनको बन्द सत्र गर्न लाग्दा हाम्रो पर्यटनलाई एकदमै राम्रोसँग उकास्छ भन्ने लागेको छ । पर्यटन विकासका लागि यो एउटा महत्वपूर्ण कडी बन्नेछ ।

​हामी पहिला प्रचार–प्रसार गर्न तम्सिएका पनि थियौँ । अहिले हामीले त्यो प्रचार प्रसार निःशुल्कमा पाएका छौँ । यो महाधिवेशनबाट हामीले मनग्य पैसा कमाउन नसकौंला, त्यो महाधिवेशन यहाँ ल्याउन हामीले गरेको पहलअनुसार यहाँ आएकाले परेको सहयोग हामी गरौंला । यहाँ महाधिवेशन हुँदा हाम्रो सौराहाको नेपालभरि र विश्वभरि नै प्रचार प्रसार गरेको छ । यसलाई हामीले ठूलो कुराको रुपमा हेरेका छौँ ।

एमालेले सौराहामा ३५ सय बेड बुक गरेको बताएको छ । तपाईहरुले के के सहुलियत दिनुभएको छ ?

सौरहामा यतिबेला हामीसँग ६५ सय बेड छन् । ३५ सय बेड एमालेका प्रतिनिधिलाई राख्ने भनेर हामीले सम्झौता गरेका छौँ । हामीले अहिले नाफा कमाउनुभन्दा पनि अहिले यो कार्यक्रम यहाँ कसरी सफल बनाउन सकिन्छ भनेर हाम्रो काठमा आएको एउटा चुनौती हो भने यो कार्यक्रम सफल बनाएर पठाउँदा सौराहामा अन्य पार्टीको कार्यक्रम पनि ल्याउन सफल हुन्छौँ भन्ने हो । अहिले हामी कुनै एउटा पार्टीको नभई हाम्रा लागि भएको कार्यक्रम हो, यहाँबाट सफल बनाएर पठाउनुपर्छ भनेर लागिपरेका छौँ ।

एमाले प्रतिनिधिलाई दिने कोठा निःशुल्क हुन्छ कि के हुन्छ ?

हामीले यहाँ पहिला पनि एमालेकै विभिन्न भातृ संगठनको पनि कार्यक्रम पनि गरेका थियौँ । तपाईहरुले हामीलाई कति कोठा छोड्नुहुन्छ ? कति डोनेशन गर्नुहुन्छ ? भन्ने हुन्थ्यो । यसपालि हामीले त्यस्ता केही पनि कुरा सुन्नुपरेको छैन । उहाँहरुले तपाईहरु थला पर्नुभएका बेलामा हामीलाई निःशुल्क गर्नुपर्दैन । हामी तपाईहरुलाई पैसा तिर्छौँ, तर हामीलाई केही सहुलियत चाहिन्छ भन्नुभएको छ । त्यसलाई हामीले सहर्ष स्वीकार गरेका छौँ ।

एउटा राजनीतिक दलले यति ठूलो कार्यक्रम गर्दा पैसा तिर्छौं, तपाईहरुलाई सहयोग गर्छौं भन्नु ठूलो कुरा हो । त्यसकारण हामी एमालेप्रति आभारी छौँ ।

अहिले विस्तारै कोरोना संक्रमण कम हुँदै गएको छ, आन्तरिक पर्यटकको संख्या पनि बढ्दैछ । चितवन, सौराहा आउन चाहने आन्तरिक पर्यटकका लागि तपाईको के सन्देश छ ?

यहाँबाट नेकपा एमालेको महाधिवेशन सफल पारेपछि त्यसले पनि एउटा सन्देश दिएर जान्छ । विगतको कोरोनाको महामारीमा पनि चितवनको नगरी यो सौराहामा कोरोना फैलन पाएन, हामी अति नै सचेत भयौँ । हाम्रै पहलमा कोरोना विरुद्धको खोप ल्याएर होटल सञ्चालक मजदुर सबैलाई खोप लगायौँ । सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ ।

होटलमा कोठाहरुमा पर्यटकहरु बसेर गइसकेपछि हामीले सेनिटाइज गरेका छौँ । सरसफाइमा त्यतिकै ध्यान दिएका छौँ । त्यसकारण सौराहा घुम्न तपाईहरुले कुनै हिच्किचाहट मान्नुपर्ने अवस्था छैन । मनमा कुनै दुविधा नलिई घुम्न आउन सकिन्छ । हामी तपाईहरुलाई सेवा दिन आतुर छौँ । अहिले हामीले कोठाहरुको विशेष छुट दिएका छौँ । यहाँ आउन मन छ भने आउनुहोस् भन्न चाहन्छु ।

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप