बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरजग्गाको मूल्य वर्षेनी २६.४५ प्रतिशतले बढ्दै

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ००
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपालमा घरजग्गाको मूल्य वृद्धिदरमा वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक अमिल्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको घरजग्गा मूल्य सर्वेक्षण, २०७८ अनुसार वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक केलाउँदा घरजग्गाको मूल्य वृद्धिदर फरक फरक देखिएको हो । 

आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ । तर, मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्क केलाउँदा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको मूल्यवृद्धि वाणिज्य बैंकको तथ्यांकअनुसार १६.३१ र मालपोत कार्यालयको तथ्यांकअनुसार १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौमहिनामा घरजग्गाको कारोबार घटेकाले मुद्रास्फीति केही कम रहेको राष्ट्र बैंकले तयार गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार यो प्रतिवेदन सार्वजनिक गरेका हुन् । अबदेखि राष्ट्र बैंकले प्रत्येक तीन महिनामा घरजग्गा मूल्यबारे प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । 

बैंकले देशभरमा २० जिल्लालाई नमूना मानेर घरजग्गा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी यो प्रतिवेदन तयार गरिएको केन्द्री बैंकले जानकारी दिएको छ । नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण गरिएको हो । 

घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति राष्ट्र बैंकले प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरेको थियो । 

बैंकले मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रूपमा लिएको थियो । यसैगरी, वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमूनाका रूपमा लिएको जनाएको छ । 

घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क पनि राष्ट्र बैंकले तयार गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप